scheduleबुधवार फाल्गुन ७ गते, २०७६

सुरु भयो हिउँदे वर्षा, एक सातासम्म झरी पर्ने


काठमाडौं, ३ माघ । विहीबारदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ । विहीबार दिउँसोबाट सुरु भएको बर्षा रातभरि पनि जारी छ । तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको पूर्वी, मध्य तथा पश्चिमी अधिकांश भू–भागमा हल्का र मध्यम वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गले मध्य तथा पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाभइरहेको सीआईएनलाई जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले एक सातासम्म झरी पर्ने मौसमविद्को भनाइ छ । हिमाली एवम् उच्च पहाडी भूभागमा हिमपात भएको छ । तराईका भू भागमा हुस्सु र कुहिरो लागेको छ । शुक्रबारदेखि बढेको चिसो एक सातासम्म रहने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

वर्षा र चिसोबाट सचेत रहन अनुरोध गर्दै महाशाखाले भनेको छ, ‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय