scheduleबिहिवार आश्विन ८ गते, २०७७

मिटरब्याजको तनावले आत्महत्या, दुई नाबालकसहित जमुनाको मृत्यू


धादिङ, ३ माघ । मिटरब्याजका कारण एक युवतीसहित दुई बालबालिकाको ज्यान गएको छ । बिहीबार धादिङको बेनिघाटमा त्रिशूली नदीमा दम्पती हेलिनुको कारण मिटरब्याज रहेको खुलासा भएको हो ।

चन्द्रागिरी नगरपालिका ४, थानकोटका विनय लामिछाने र उनकी पत्नी जमुना रेग्मी लामिछाने आफ्‍ना दुई नाबालक छोरासहित त्रिशूलीमा हाम फालेका थिए ।

आत्महत्या प्रयास गरेका लामिछानेलाई जीवितै उद्धार गरिएको छ भने २७ वर्षीया जमुनाको शव प्रहरीले बिहीबार नै फेला पारेको छ । धमिलो पानीका कारण उनीहरुका दुई वर्षे र छ महिने छोरा बेपत्ता छन् ।

मृतकका आफन्तका अनुसार सानो छोराको आजै पास्‍नी थियो । प्रहरीले मृतकको घरबाट सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको उल्लेख छ । स्थानीय स्कुलमा पढाउने विनयले व्यापार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् ।

‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन,’ विनयले घरमा छोडेको सुसाइड नोटमा लेखिएको छ । प्रहरीका अनुसार सुसाइड नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।

पुस २९ गते विनयको आफन्त बितेपछि घरमा झुठ्ठो परेको भन्दै विनय र जमूनाले छोराछोरीलाई बाहिर केही खुवाउने भन्दै दिउँसो २ बजे घरबाट निस्किएका थिए ।

विनयले सुरुमा जमूनालाई आदमघाटस्थित सुसराली जान आग्रह गरे । आदमघाटमा जमूनाका तीनजना दाईहरु बस्छन् । तीनैजना व्यापार व्यवसायमा संलग्न रहेका छन् । माइला दाई कपिल रेग्मी गल्छी-३ का वडाअध्यक्ष पनि हुन् ।

आदमघाटमा रहेको ससुरालीमा नपसी उनीहरु रोराङ गाउँपालिकास्थित बेनीघाट हुँदै गोरखाको घ्याल्चोक पुगेको खुलेको छ । प्रहरीका अनुसार घ्याल्चोकमा खाजा खाएर उनीहरु बाँदरेस्थित झोलुङ्गे पुलबाट बेनीघाट आउनेक्रममा झोलुङ्गेपुलबाट हाम फालेको बताइएको छ । उनीहरुले साथमा ६ महिना र २ वर्षका छोराहरुलाई लिएर सँगसँगै हामफालेका हुन् ।

स्थानीयले पुलबाट मान्छे हामफालेको देखेपछि उद्धारमा जुटेका थिए । धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाई छ । विनयको घरमा भेटिएको सुसाइड नोट र जमुनाको फेसबुक स्टाटसको अध्ययनबाट प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

विनयले प्रहरीलाई पुलबाट हाम फालेको नभई एकएकजना छोरा लिएर नदीमा हेलिएको बयान दिएका छन् । उनीहरुलाई त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि उद्धारको प्रयास गरेका थिए ।

प्रहरीका अनुसार सुसाइड नोटमा ऋण लिएका मानिसहरुको नामावली छ । विनयलाई प्रहरीले आत्महत्यासम्बन्धी अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।

जमूनाले केही समयअघि यस्तो स्टाटस लेखेकी थिइन-
मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके ब्याज डबल तेब्बर बनाउने अनि रिनीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि अत्यधिक बढेको छ भन्ने यस चन्द्रागिरी नरपालिकामा अत्यधिक बढेको छ भन्ने सुन्नमा आएको छ । अहिले नयाँ डिएसपी साहेब पनि आउनु भाछरे । यसतर्फ उहाँको ध्यान जान्छ कि यसो भएमा ती सोझासाझा जनताको विचल्ली हुनबाट जोगिन्छ कि ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय