scheduleमगलवार फाल्गुन १३ गते, २०७६

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा चर्को विरोध

काठमाडौं, ५ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ।

राउतलाई अभद्र व्यवहार कसुरसम्बन्धी मुद्दामा पक्राउ गर्न जिल्ला प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो। प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेपछि पक्राउ पूर्जी जारी गरिएको हो ।

बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ ।

हाल राउत एक सांगीतिक कार्यक्रममा भाग लिन भारतको सिक्किम पुगेकी छन् । नेपाल फर्कनेबित्तिकै उनलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

राउतले बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

तर राउतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

‘निर्मला पन्त,३३किलो सुन,भगवानका अराजक भक्त र नेकपाका छौँडाहरु लाई केही लछारपाटो लगाउन नसकेपछि रिटायर्ड हुन लागेका IGP ले आफ्नो प्रगति विवरणमा आस्था राउत थप्न खोजेका हुन्। जसरी मिडियामा आस्थालाई गलत देखाइयो त्यो भन्दा सयौं गुणा गलत गर्नेहरु लाई प्रहरीले आफैं काखी च्यापेर राखेको छ’, सागर नामका प्रयोगकर्ताले ट्विटरमा लेखेका छन् ।

विमानस्थलमा राउतमाथि भएको व्यवहार समेत गलत भएको र सोही घटनालाई लिएर आस्थालाई पक्राउ गरियो भने प्रहरीको झन ठूलो गल्ती गर्ने बुद्धि कार्कीको बुझाइ छ ।

‘आस्थाले ड्युटीमा रहेको प्रहरीलाई गरेको व्यवहार गलत हो,प्रहरीले उनलाई गरेको व्यवहारपनि गलत।हरेक गलत व्यवहार अपराध हुदैनन्।आस्था करदाता हुन्, प्रहरी त्यही करबाट तलब खाने राष्ट्रसेवक।दुवै गलतीमा तुलनात्ममरुपमा पछिल्लोको गलती ठुलो हो।आस्थालाई पक्राउगर्नु प्रहरीक‍ झन् ठुलो गलती हुनेछ’, कार्कीले ट्विटरमा लेखेका छन् ।

जनताको तलब खाने प्रहरीले जनतालाई पनि सभ्य व्यवहार गर्नुपर्ने कतिपय ट्विटर प्रयोगकर्ताको धारणा छ । ‘नेपालमा करबाट तलब खानेहरू जनताको सेवक होइन मालिक झै सोच्छन्’, चाहना नामकी एक ट्विटर प्रयोगकर्ताले भनेकी छन् ।

पूर्व युवराज पारसले प्रहरीलाई हात हाल्दा केही नगर्ने तर आफूमाथि प्रहरीले दुर्व्यवहार गर्‍यो भनेर कुरा उठाउने आस्था राउतलाई पक्राउ पुर्जी जारी गर्ने प्रहरीको नियतमाथि नै केहीले आशंका गरेका छन् ।

‘एउटै प्रकृतिको घटना TIA मा, पारसले पुलीसलाई हात हाल्दा केहि गर्न नसक्ने अनि आस्था राउत लाई चाही पक्रिने, यो कस्तो सुरकक्षा निकाय हो’, सोझो मान्छे नाम भएका एक ट्विटर प्रयोगकर्ता आक्रोशित हुँदै आफ्नो विचार राख्छन् ।

केही ट्विटर प्रयोगकर्ताले अग्नि सापकोटालाई समाभुख बनाउन लागेको समाचारलाई समेत राउत काण्डसँग तुलना गरेका छन् । ‘आस्था राउत खोज्ने सरकार; काभ्रे छत्रेबाँझ्–५ का अर्जुनबहादुर लामाको हत्यामा किटानी जाहेरी श्रीमतीले दिएकी अग्नि सापकोटालाई सभामुख बनाउदै छ ! अनि मान्छे हास्दैन ?’, तारा गौतमले ट्विटरमा लेखेका छन् ।

सापकोटालाई सभामुख बनाउन लागिएको तर राउतविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा अर्का ट्विटर प्रयोगकर्ता बिपी भट्टराई पनि रुष्ट देखिन्छन् । ‘हे मेरो सरकार! जगत नहसौं न यार !आस्था राउत खोज्ने सरकार; काभ्रे छत्रेबाँझ्–५ का अर्जुनबहादुर लामाको हत्यामा किटानी जाहेरी श्रीमतीले दिएकी अग्नि सापकोटालाईलाइ सभामुख बनाउदै छ ?’, भट्टराई भन्छन् ।

झाक्री बा नामका प्रयोगकर्ताले प्रहरीलाई यसरी व्यङ्ग्य हानेका छन्- ‘सुनकाण्डको फुटेज चाहिन्न हाम्लाई आस्था राउत कान्डको त फुटेज बाहिर आयो तर महरा कान्डको फुटेज नि चाइयो मलाई भनेर चौकिमा आको त …… भित्र पो कोच्दिरा मलाई नि तनाब छ हौ मलाई ।’

यता निर्मल प्रसाइले आफ्नो आक्रोश व्यङ्ग्यात्मक शैलीमा व्यक्त गरेका छन्- ‘आस्था राउत लाई पक्रन जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति:- बर्षौं देखि उखुको भुक्तानी गरेकी रहिनछिन। ठेक्का लिएर बर्षौं देखि काम अलपत्र पारेकी रहेछिन।गोकर्ण,दरबारमार्गको जमिन २५ बर्षको लागि किर्ते गरिछिन। निर्मलाको हत्या र दिलिपकुमारको छातीमा टिपर चलाएकी रहेछिन।’

अभद्र व्यवहार गरेकै निहुँमा पक्राउ पुर्जी जारी गर्ने हो भने देशमा दैनिक हजारौंविरुद्ध पक्राउ पुर्जी जारी गर्नुपर्ने एक ट्विटर प्रयोगकर्ताको विचार छ ।

प्रहरीले आफूसँग शक्ति भएकाले देखाइदिने भनेर राउतलाई पक्राउ गर्न खोजेको भन्दै विनोद शाही नामका प्रयोगकर्ता लेख्छन्- ‘यदी यस्तै वादविवादकै कारण मुद्दा चलाउने हो भने देशभरबाट हरेक दिन सके हजारौँ नभए सयौंलाई मुद्दा चलाउनुपर्ने हुन्छ । प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको अनुभूत गरेर नभई आस्थाले फेसबुकमा आक्रोश पोखेका कारण त्यसलाई अभद्र व्यवहारको निहुँ बनाएर मुद्दा चलाएको बुझ्न गाह्रो छैन’ विनोद शाही नामका प्रयोगकर्ताले लेखेका छन् ।

त्यस्तै अर्का एक प्रयोगकर्ताले राउत काण्डमा समेत राजनीति गरेको भन्दै सत्तारुढ कांग्रेस र कम्युनिष्टप्रति तिखो प्रहार गरेका छन् । अरुण शाह नामका ती ट्विटर प्रयोगकर्ता लेख्छन्- ‘गायिका आस्था राउत काण्डमा पनि काङ्ग्रेस कम्युनिस्टले दुई धारमा राजनीति गरेछन हे दैब हरेक काण्डमा राजनीति नगर त।’

कतिले दुर्गा प्रसाइ र आस्था राउतमध्ये कसलाई प्रहरीले पहिला पक्राउ गर्ने रहेछ भनेर व्यङ्ग्य समेत गरेका छन् । ‘पक्राउ आदेश; १. दुर्गा प्रसाई (मार्सी चामल धनी); २. गायिका आस्था राउत! हेरोँ पुलिसको पकड्मा को चै पहिले आउँदा रहेछन् ‘, खड्का जी नामका प्रयोगकर्ता भन्छन् ।

यसै प्रशंङ्गमा मेरो दारी दुनियाँलाई किन भारी नामका ट्विटर प्रयोगकर्ता व्यङ्ग्यात्मक शैलीमा लेख्छ्न्- ‘”अब हेरौं है आस्था राउत र दुर्गा प्रसाईंमा को पहिला पक्राउ पर्छ । आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई आज अनुमती मिलेको छ दुर्गा प्रसाईंलाई चारदिन अगाडी नै पक्राउ गर्ने अनुमती मिलेको छ । प्रहरीले दुर्गा प्रसाईंलाई फरार भनेको छ ।।जय नेपाल”!’

उर्मिला थपलिया नामकी एक महिला प्रयोगकर्ताले राउतको कमजोरी देखाउँदै प्रहरीको आलोचना यसरी गरेकी छन् -‘आस्था राउतले केहि गल्ती गरेकी छिन र उनि आफैले स्वीकारेकि पनि तर सरकारले उनिलाइ पक्राउ गर्ने आदेश दिएछ । मान्छे मार्नेहरु खुल्लेआम सडकमा छन । अनि आस्था राउत लाइ चाही जेलमै हाल्नु त्यस्तो अपराध गरे जस्तो त मलाई पनि लाग्दैन,पुलिसको हर्कत पनि”पुलिस मेरो साथी”भन्ने जस्तो पनि कहाँ छ र ?’

तर केहीले भने राउतलाई पक्राउ गर्नुपर्ने धारणा समेत राखेका छन् । ‘आस्था राउत एक दिन भए पनि खोरमा खोचिएको हेर्न रहर छ’, नेपाली नामका ट्विटर प्रयोगकर्ता लेख्छन् ।

पुरन दाइ नामका प्रयोगकर्ता समेत राउतलाई पक्राउ गर्नुपर्ने धारणा राख्छन् । ‘आस्था को हुन र जसलाइ महिला अनि ठुलै पब्लिक फिगर मानेर चेकजाँच नै गर्न नपाउनलाइ एक कर्तव्यनिष्ठ महिला प्रहरी चाहिँ हिरो बनेको मान्ने !सामाजिक संजालमा नाना थरी भुक्ने आस्था राउत ले हो कि महिला प्रहरीले हुम?’, उनी भन्छन् ।

बिपिन दाहालले राउतलाई पक्राउ गर्दा प्रहरी आइजिपीको साख गिराउँछ भन्दै लेख्छन्-‘समय थोरै छ खनाल ज्यु। कुन बिषयलाई प्राथमिकता दिने भन्ने कुरा मा ध्यान दिनुस। आस्था राउत केस ले तपाइको साख उठाउँदैन, गिराउछ।’

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय