scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

ग्रानडालाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लियो बार्सिलोना


काठमाडौं,६ माघ । क्याटलान क्लब बार्सिलोना स्पेनिस महारथी रियाल म्याड्रिडलाई पछि पार्दै स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिएकाे छ । घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले शीर्षस्थानमा पुनरागमन गरेकाे हाे ।

आइतबार राति घरेलु मैदान नाेउ क्याम्पमा आयोजित खेलमा बार्सिलाेनाले वाहवाही बटुल्ने खेल भने प्रदर्शन गर्न सकेन । १० खेलाडीमा समेटिएकाे ग्रानडामाथि बार्सिलोनाले केवल १-० काे झिनाे जित निकाल्न सकेको हो ।

ग्रानडाविरुद्ध आक्रामकरुपमा मैदानमा उत्रिए पनि बार्सिलोनाले गोल गर्न भने पापड पेल्नुपर्‍यो । खेलको ११औं मिनेटमै बार्सिलोनाले एक सुन्दर अवसर गुमायो । जाेर्डी अल्वाकाे थ्रु पासलाई कप्तान लियाेनेल मेस्सीले एक डिफेन्डरलाई कटाएर दिएकाे पासमा अन्सु फातीकाे क्लाेज रेन्जबाटकाे प्रहार बाहिरिँदा उसले अवसर गुमाएको हो । लगत्तै १४ औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिने अर्को अवसर गुमायो । मेस्सीकाे फ्रिकिक क्रसबारमा लागेर बाहिरिँदा बार्सिलाेना गोलरहित नै बनिरह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । ६७ औं मिनेटमा ग्रानडाले पनि खेलमा अग्रता लिने सुवर्ण अवसर गुमायो । काउन्टर एट्याकमा यान ब्रिस इटिकीकाे प्रहार पाेस्टमा लागेर फर्कँदा बार्सिलाेनाका डिफेन्डरले क्लियर गरिदिएका हुन् ।

जर्मन सान्चेज दोहोर पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ६९औं मिनेटमा ग्रानडा १० खेलाडीमा समेटियाे । त्यसपछि भने बार्सिलाेनाले प्रतिस्पर्धीको कमजोर अवस्थाको फाइदा उठाउन सक्यो ।

७६ औं मिनेटमा कप्तान लियाेनेल मेस्सीले टोलीलाई अग्रता दिलाए । उनले आर्टुराे भिडालकाे पासलाई गोलमा रुपान्तरण गरेका हुन् । मेसीको यही गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अंक जोड्दै शीर्षस्थानमा पुनरागमन गरेको छ । रियाल भने समान ४३ अंक रहे पनि दोस्रो स्थानमा झरेको छ । ग्रान्डा भने हारसँगै २७ अंकमा चित्त बुझाउँदै १०औं स्थानमा पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय