scheduleसोमवार फाल्गुन १२ गते, २०७६

पूर्वमाओवादीको पोल्टामा सभामुख, प्रचण्डले एउटा मोर्चा जितेका हुन् ?

काडमाडौं, ६ माघ । एक महिनाको रस्साकस्सीपछि सभामुख पाएको सत्तारुढ नेकपाभित्रको पूर्वमाओवादी समूह निकै उत्साहित देखिएको छ । सभामुखको निर्वाचन प्रक्रिया आजबाट अगाडि बढ्ने अपेक्षा गरिएको छ तर, अग्नि सापकोटालाई पूर्वमाओवादी निकट नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् बधाई तथा शुभकामना दिन थालिसकेका छन् । सामाजिक सञ्जालका भित्ताहरु सापकोटालाई दिइएको बधाईले रंगिएका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा गत असोज १४ गते पदबाट राजीनामा दिएपछि खाली रहेको पद पुन: माओवादीले पाएपछि उत्साहित भएको हो । पार्टी एकताअघि पूर्वमाओवादीको भागमा परेको सभामुख पदलाई प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठाको विषय बनाएपछि सभामुख टुङ्गो लाग्न सकेको थिएन ।

तर, अन्तत: प्रचण्ड दबाब र अडानकाबीच पूर्वमाओवादीले सभामुख पाएपछि उसले जीतको खुशी मनाएको छ । यो जीतको लागि प्रचण्ड समूहले धेरै मेहनत गर्नुपर्‍यो । पूर्वमाओवादी नेताहरुका अनुसार प्रचण्डले गत असोज ४ गतेको सचिवालय बैठकबाट कार्यकारी अधिकार पाएपनि त्यो अधिकार प्रधानमन्त्री ओलीले नै प्रयोग गर्न खोजेपछि एमाले समूहसँग माओवादी रुष्ट थियो ।

प्रचण्ड मेहनत

ओलीले सेरेमोनियल भूमिकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा समेत सभामुख पूर्वएमालेलाई बनाउने संकेत पाएपछि गत पुष २३ गते वामदेव गौतम निवास भैसीपाटीमा प्रचण्डले आफू निकटका नेताहरुलाई भेला गरेर सचिवालयमा आफ्नो बहुमत रहेको प्रष्ट सन्देश दिन चाहेका थिए । त्यहाँ प्रचण्डले सचिवालयका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल र वामदेवसहितको भेला गरेका थिए ।

प्रचण्डले सभामुख आफ्नो पक्षमा पार्न यतिसम्म मेहनत गरेका थिए कि आफूसँग रुष्ट रहेका माधवकुमार नेपाललाई समेत आफ्नो निर्णयमा सहमत गराए । त्यति मात्रै होइन, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रावधानसहित संविधान संशोधन गर्न आफूहरु तयार रहेको सन्देश प्रधानन्त्री ओलीलाई दिए । र, सचिवालयका बहुमत सदस्यसहित पुष २६ गते बसेको बैठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय समेत गरे ।

उक्त सचिवालय बैठकमा प्रधानमन्त्री सहभागि थिएनन् । पूर्वमाओवादीले सभामुख पाउनुमा वादेव गौतम निवासको भेला र सचिवालय बैठकमार्फत उपसभामुखलाई राजीनामा गराउने निर्णयले राम्रै काम गरेको छ । त्यसैले पूर्वमाओवादी खुशी छ ।

‘सचिवालयको बहुमत सदस्यद्वारा गरिएको निर्णय उपसभामुख शिवमाया तुम्बाहाङ्फे‍ले नमान्दा पार्टीमा के हुन लागेको हो ? भनेर डर शंका पैदा हुन्थ्यो । कतै राष्ट्रपति र प्रधानमन्त्री पूर्वमाओवादीलाई विलिन गर्न लागेको होइन भन्ने हामीभित्र गम्भीर प्रश्न थियो । तर, प्रधानमन्त्री ओली अन्तिम अवस्थामा आएर सभामुख हामीलाई दिन तयार हुनुभएको छ । यसबाट हामी खुशी छौ,’ पूर्वमाओवादीका एक नेताले भने ।

सभामुख पूर्वमाओवादीले पाउँदा तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि खुशी छन् । कृष्णबहादुर महराको राजीनामाबाट पीडामा रहेको माओवादी केन्द्र सभामुख पाएपछि उत्साहित भएको उनले बताए । पूर्वमाओवादी नेता देवेन्द्र पौडेल पनि सभामुख आफूहरुले पाउँदा खुशी र उत्साहित छन् । ‘हिजोको निर्णयबाट हामी खुशी छौ,’ नेता पौडेलले भने, ‘पार्टी एकताको बाँकी काम टुङ्गाउन पनि सजिलो हुने भयो । नेताहरुभित्र नयाँ विश्वास पैदा भएको छ ।’

पूर्वमाओवादी समूहका नेता मणि थापा पनि सभामुख माओवादीले पाउँदा पार्टीभित्र विश्वास गरेको बताउँछन् । ‘एकताको स्प्रिट नेताहरुले बुझ्नभयो, पार्टीभित्र गुम्न लागेको विश्वासलाई नयाँ उचाईबाट सोच्न बाध्य बनाएको छ । नेता मात्रै होइन यसबाट सबै नेता कार्यकर्ता खुशी छन् ,’  थापाले भने ।

नेकपाका अर्का नेता दीनानाथ शर्मा पनि सभामुख पूर्वमाओवादीले पाउँदा खुशी छन् । यद्यपि, लामो समयसम्म संसदलाई बन्धक बनाएर राखिएकोमा उनी रुष्ट पनि देखिए । ‘दुई अध्यक्षले जे गर्नुभयो राम्रो गर्नुभयो, समयममा नै टुङ्गाउनुपर्थ्यो,’ शर्माले भने, ‘प्रधानमन्त्री ओली संसदीय दलको नेता समेत रहेकाले संसद बन्धक हुनुको मुख्य दोष आफू माथि लाग्ने भएकाले निर्णय गर्न बाध्य हुनुभएको हो । संसद् बन्धक हुनुको दोष प्रचण्डलाई भन्दा ओलीलाई बढी लाग्थ्यो । ढिलै भएपनि जे भयो राम्रो निर्णय भयो । हामी सबै खुशी छौं ।’

विश्लेषक बुझाई- एउटा मोर्चामा प्रचण्डले जिते

सभामुख पूर्वमाओवादीले पाएपछि राजीनिक विश्लेषकले पनि आफ्नो धारणा बनाएका छन् । विश्लेषकका अनुसार सभामुखको मोर्चामा प्रचण्डले ओलीलाई जिते ।

राजीनितिक विश्लेषक कृष्ण पोखरेलका अनुसार ओली र प्रचण्डले पार्टीभित्रको शक्ति संघर्षमा कहीँनकही सम्झौता गर्नुपर्थ्यो पहिलो पटक ओली सम्झौतामा पुगे । र, सभामुखको मोर्चामा प्रचण्डले जिते ।

पोखरेलका अनुसार सभामुख आफ्नो पक्षमा पार्न प्रचण्डले वामदेव निवास भैसीपाटीमा आफू निकटका नेताहरुलाई भेला गरेका थिए । पार्टीभित्र अल्पमतमा पर्ने खतरा परेपछि ओलीले सभामुख मा‌ओवादीलाई छाडेको हो ।

यद्यपि, पोखरेल नेकपाको पार्टी एकता अविश्वासमा बनेकाले अहिले नै सम्रगमा प्रचण्डले जिते भन्न चाहीँ नमिल्ने तर्क गर्छन् । ‘पार्टीभित्र यस्ता विवाद फेरीफेरी आउन सक्छन्,’ विश्लेषक पोखरेल भन्छन्, ‘अहिले नै प्रचण्डले सबै जिते भन्न मिल्दैन, एउटा मोर्चामा मात्र जितेका हुन् । अनेकहतकण्डा गर्न प्रधानमन्त्री ओली सिपालु छन् । त्यसैले यस्तो घटना अरु पनि हुनसक्छ । अहिले नै धारणा बनाउनु हुन्न ।’

विश्लेषक हरि रोका पनि पूर्व माओवादीले आफ्नो अधिकार पाएको र पार्टीभित्र ब्यालेन्स मिलेको बताउँछन् । ‘पार्टी एकताअघि माओवादीको भागमा परेको सभामुखको लागि यत्रो बखेडा झिक्न पर्दैन्थ्यो,’ विश्लेषक रोकाले भने, ‘पाँच वटा संवैधानिक निकायमा र पार्टीभित्र ब्यालेन्स मिलाउन पनि सभामुख पूर्वमाओवादीले पाउनुपर्थ्यो । यसबाट माओवादी खुशी भएको देखिन्छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय