scheduleमगलवार फाल्गुन १३ गते, २०७६

भिडियो कन्फ्रेन्समार्फत् आईसीपी उद्घाटन

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मोरङको बुधनगरस्थित नेपाल–भारत एकीकृत  भन्सार जाँच बिन्दु (आईसीपी)को आज संयुक्तरूपमा उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओली र मोदीले एकीकृत जाँच बिन्दु मंगलबार भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा ओली र मोदीले संक्षिप्त सम्बोधन समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गरेका थिए भने मोदीले नेपाली र हिन्दी भाषा प्रयोग गरेका थिए । सम्बोधनको सुरुमै मोदीले नेपाली जनतालाई सोधे– कस्तो छ ?

त्यसपछि उनले हिन्दी भाषामा सम्बोधन अघि बढाए । उनले नयाँ वर्ष २०२० को शुभकामना समेत दिए ।

उनले २०२० नयाँ वर्षमात्र नभएर नयाँ दशकको पनि सुरुवात भएको भन्दै नयाँ वर्ष र नयाँ दशक सबैका लागि सुस्वास्थ्य, दीर्घायु, प्रगति, प्रशन्नता र शान्ति लिएर आओस् भन्ने कामनासमेत गरे ।

मोदीले हालै दुवै देशमा माघे संक्रान्ति मनाइएको चर्चा समेत गरे । ‘गत साता संक्रान्ति मनाइयो,’ मोदीले भने, ‘यसका अवसरमा पनि म शुभकामना दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्दै मोदीले ओली नेतृत्वको सरकारको सहयोग र समर्थनले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा नयाँ उचाईमा लैजान सक्ने विश्वाससमेत व्यक्त गरे । ‘यो दशक हाम्रो मित्रताको स्वर्णिम दशक बनोस्,’ उनले भने ।

उनले आफूलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निमन्त्रणा गरेकोमा गर्व महसुस भइरहेको बताए । ‘म यो वर्ष पक्का कार्यक्रम बनाइरहेको छु र तपाईसँग समय बिताउने छु,’ उनले भने ।

अन्त्यमा नेपाली भाषामा मोदीले भने, ‘तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला । नमस्कार ।’

त्यसअघि प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै मुलुकमा स्थिर र बहुमतको सरकार रहेका कारण आपसमा अल्झिएका मुद्दाहरुलाई मिलेर सुल्झाउन सकिने चर्चा गरेका थिए ।

उनले भूकम्पपछि मोदी नेतृत्वको सरकारले नेपालमा उद्धार तथा राहतमा निर्वाह गरेको अग्रणी भूमिका र पुनर्निर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गरे ।

उनले नेपाल र भारत भूगोल, इतिहास, संस्कृतिले सदियौंदेखि निकट रहँदै आएको चर्चा गर्दै आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

उनले मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै स्वागतका लागि आफू प्रतीक्षारत रहेको बताए ।

दुबै देशबीच हुने आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका–१८ मा आईसीपी निर्माण गरिएको हो। आईसीपी सञ्चालन भएसँगै आयात–निर्यात सहज हुने ठानिएको छ ।

आईसीपी निर्माणको जिम्मा दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमलाई पाएको थियो । सम्झौताअनुसार भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ। आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

निर्माण कम्पनीले आईसीपी निर्माण लक्ष्यभन्दा १५ महिनापछि मात्रै सम्पन्न भएको हो। सम्झौतामा यसको निर्माण दुई वर्षमा सक्ने लक्ष्य छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय