scheduleमगलवार जेष्ठ २० गते, २०७७

भारतमा जे देखिरहेका छौं, त्यो फासीवादको संकेत होः नोम चोम्स्की

नोम चोम्स्की प्रतिष्ठित अमेरिकी बौद्धिक हुन् । चोम्स्की एरिजोना विश्वविद्यालयका भाषाशास्त्रका प्राध्यापक पनि हुन् । भाषा विज्ञान, समकालीन विश्व र अमेरिकी समाजबारे उनका दर्जनौं कृति प्रकाशित छन् । चोम्स्की अमेरिकी विदेश नीतिका कटु आलोचक रहँदै आएका छन् । कार्थिक रामनाथन  भने अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने भारतीय मूलका अनुसन्धानकर्ता हुन् । उनी मानवअधिकार, विश्व शान्ति र सामाजिक न्यायका विषयमा अनुसन्धान र लेखन गर्दै आएका छन् । कार्थिक रामनाथनले नोम चोम्सकीसँग गरेको कुराकानी सन् २०२० जनवरी २१ को ‘काउन्टर करेन्ट’ मा प्रकाशित छ । यहाँ साझापोस्टले त्यसैको भावानुवाद प्रस्तुत गरेको छ-

कार्थिकः मैले तपाईसँग गर्न चाहेको एउटा कुरा के भने अहिलेको विश्वलाई के भइरहेको हो ? विशेषतः विभिन्न देशका दक्षिणपन्थी, अतिदक्षिणपन्थी र नवफासीवादी संगठन र समूहहरुको सन्दर्भमा । मान्छेले आफूलाई कुनै गोत्र वा वंशमा संकुचित गरेर हेर्न थालेको हो ? यो कस्तो कुरा हो ? यो विगतकै प्रवृत्तिको दरार हो ?

नोमः ठीक छ । यसका धेरै कारणहरु छन् । प्रत्येक क्षेत्रका आ-आफ्नो इतिहास हुन्छन् । भारत न हंगेरी जस्तो छ न अमेरिकाजस्तो । आज आइरहेका अधिकांश परिणामहरुको जटिलतालाई हामी रेगन–थ्याचर युगका आर्थिक सामाजिक नीतिहरुसँग जोडेर हेर्नुपर्दछ । त्यसले बजारलाई जोड दिन्छ । सार्वजनिक सेवाहरुमा राज्यको भूमिकालाई कम गर्दै सम्पति र नियन्त्रण निजीक्षेत्रमा हस्तान्तरण गर्दछ । यदि तपाईले यसलाई ध्यान दिनु भयो भने सबै कुरा स्पष्ट नै छ ।

Dish_Home

यहाँ एकातिर धनको केन्द्रीकरण हुँदैछ, त्यही कुरा जनसंख्याको अर्को हिस्साका लागि गतिरोधको विषय बन्दैछ । ठीक अहिले अमेरिकामा ०.१% व्यक्तिहरुसँग २०% जनसंख्यासँग भए बराबरको भन्दा बढी सम्पति छ । करिब आधा जनसंख्याको खुद आम्दानी नकारात्मक छ । त्यसको अर्थ आधा जनसंख्याले हप्तावारी कमाउँछ र बाँच्छ । अमेरिकाको वास्तविक ज्याला सन् १९७० मा जति थियो, अहिले पनि त्यति नै छ । अर्थात् रकममा ज्याला बढेको होला । तर त्यसको खरिद गर्ने शक्ति बढेको छैन ।

धनको तीव्र केन्द्रीकरण लोकतन्त्रको स्वभाविक पतनको संकेत हो । यस्तो अवस्थामा लोकतन्त्रले काम गर्न छोड्दछ र राजनीतिक प्रक्रियाहरु धनीहरुले प्रभुत्व जमाउँदछन् । मेरो भनाइको तात्पर्य युरोपियन युनियनको संरचनाले यस्तो प्रवृतिलाई झनै फाइदा पुर्‍याई रहेको छ । अर्थात् राज्यहरु आफ्नो राष्ट्रिय हितमा भन्दा अनिर्वाचित ब्रसेल्सको नोकरशाहीबाट प्रभावित निर्णयहरु गर्दैछन् ।

यस्तो कामको दायित्व विशेषतः उत्तरी जर्मनका बैंकहरुले आफ्नो काँधमा बोकेका छन्, जो आफ्ना हितमा तपस्यारत् छन् र त्यसले नवउदारवादी नीतिलाई झनै खराब बन्नतिर प्रेरित गर्दैछन् । यसका प्रभावहरु राम्ररी देखिने खालका छन् । क्रोध, असन्तोष, कटुता र राजनीतिक संस्थाहरुको निन्दाले सबै चिजलाई दौडाउँदैछ । यहाँ पनि त्यही भइरहेको छ । फेरि यहाँ त्यस्तै मान्छेहरू आइरहेका छन् । ट्रम्प आएका छन्– उनमा सुन्ने क्षमता छैन । हंगेरीमा त्यस्तै छ । ब्राजिलमा बोल्सोरानो छन् । यही सबै त्यस्तो क्रोधलाई वास्तविक रोगविज्ञानमा परिणत गर्न खप्पिस छन् ।

कार्थिकः पक्कै, म पनि तपाईले भनेको जस्तै देख्दैछु, विशेषतः मान्छेका आकांक्षाहरुको हत्याबारे । जस्तो कि अचेल म गितार बजाउने गर्दछु । म के देख्छु भने म भन्दा धेरै प्रतिभा सम्पन्न संगीतकारहरु आफ्नो औचित्य पुष्टिका लागि कडा संघर्ष गरिरहका छन् । तर उनीहरुको हृदय सफा छ । उनीहरुले मानवता जोगाएर राखेका छन् । मैले यो प्रसंग किन उठाएको भने मध्यम वर्गका आकांक्षाहरुको हत्या हुँदा पनि उनीहरुले मानवता जोगाइरहेकै छन् । तर भारतमा अलिक फरक छ । जस्तो कि मेरो बुबा निम्न मध्यम वर्गको एक शिक्षक हुनुहुन्थ्यो । भारत निक्कै गरिब मुलुक हो । त्यहाँ नवउदारवादी विगत २० वर्षमा मध्यम वर्गले शक्ति र सम्पति पनि कमाएको छ । तर अनौठो के छ भने– उनीहरु उदारवादको साटो हिन्दू राष्ट्रवादलाई समर्थन गर्दैछन् । यस्तो किन भएको होला ? तपाई यसबारे केही भन्न सक्नु हुन्छ ?

नोमः मलाई यो कुरा सही लाग्दैन कि त्यहाँ मध्यम वर्गले केही प्राप्त गरेको छ । गरेको छ भने त्यो गतिरोध प्राप्त गरेको होला । जस्तो कि मैले अघि पनि भने, अमेरिकामा, अमेरिका आफैमा एक प्रभावकारी अर्थतन्त्र हो, यहाँ ४० वर्षदेखि श्रमिक र निम्न मध्यम बर्गले केही पाइरहेको छैन । उनीहरु रिसाएका छन् ।
उनीहरुको रिसलाई ट्रम्पजस्ता राजनीतिज्ञले शोषण गरिरहेका छन् । ट्रम्पले यो भन्दै छन् कि मध्यम र निम्नमध्यम वर्ग दुःखी हुनुमा तिम्रो कुनै दोष छैन । यो सबै विभिन्न देशबाट अमेरिका आएका आप्रवासीहरु, श्रमजिवी वर्ग, कालाहरु, मेक्सिकन, हिस्पानिक र मुस्लिमहरुको कारणले भएको हो ।
मोदीले गरेको पनि त्यही हो । मोदीले जनताको ध्यान हिन्दू राष्ट्रवादतिर मोडिदिए । उनले यो भने कि मुस्लिमले हाम्रो राष्ट्र नै खान आँटिरहेका छन् । उनीहरुबाट मुक्ति पाए । अरु समस्या विस्तारै सबै ठीक हुन्छन् ।

कार्थिकः यो कुरा अमेरिकाको सन्दर्भमा ठीक हुन सक्दछ । तर भारतमा म अलिक फरक देख्छु । त्यहाँ गरिबहरु झनै गरिब भइरहेका छन् । तर मध्यम वर्ग, मध्यम वर्गको कुरा गर्दा..

नोमः त्यो कुरा केमा भर पर्दछ भने तपाई मध्यम वर्ग भन्दा के बुझ्नु हुन्छ ।

कार्थिकः हो, हो……
नोमः मेरो मतलब शिक्षकहरु मध्यम वर्ग नै हो । तिनीहरुको स्थिति राम्रो छैन ।
कार्थिकः अँ अँ
नोमः उच्च प्रविधियुक्त जनशक्तिले पाएको छ । यो भन्न सकिन्छ कि जो इन्जिनियरिङसंग सम्बन्धित छन्, उनीहरुले पाएका होलान् । तर किसानले केही पाएका छैनन् । उनीहरु हज्जारौं सयको संख्यामा आत्महत्या गर्दैछन्, उनीहरुको स्थिति राम्रो छैन ।
कार्थिकः म तपाईसँग पूर्णतः सहमत छु कि ग्रामिण क्षेत्रको स्थिति राम्रो छैन । तर तपाईले भने जस्तै इन्जिरियर र किसानको बीचमा अर्को पनि वर्ग छ । जस्तो कि शिक्षक । धनी राज्य र शहरहरुमा शिक्षक पनि नवउदारवादी अर्थनीतिबाट लाभान्वित भएका छन् । धनी प्रदेशका सरकारहरुको सवलताको फाइदा शिक्षकलाई पनि भइरहेको छ, उनीहरु सम्पत्तिमा धनी … ।

नोमः के विगत ३० बर्षमा वास्तविक ज्यालाको अर्थमा उनीहरुको तलब बढेको छ ?
कार्थिकः मसंग त्यस्तो गुणात्मक तथ्यांक त छैन । मैले यो कुरा मेरो व्यक्तिगत अवलोकनका आधारमा भनेको हुँ । जस्तो कि मेरो बुबाकै कुरा गरौं । उहाँ चेन्नेइमा शिक्षक हुनुहुन्छ । प्रतिमहिना १००० डलर तलब पाउनुहुन्छ । त्यो भनेको ६० हज्जार रुपैयाँसम्म हो । यही कुरा अरु क्षेत्रमा आशा गर्न सकिन्न ।

नोमः होला, राज्य धनी हुँदै गइरहेको छ ।

कार्थिकः हो । राज्य धनी हुँदा पनि व्यक्ति लाभान्वित हुँदोरहेछ ।

नोमः मैले त्यसरी मसिनो गरी त हेरेको छैन । तर मैले बुझेसम्म भारतमा आर्थिक असमानता गहिरो छ ।

कार्थिकः त्यो त हो । म तपाईसँग सहमत छु । आर्थिक असमानता बढ्दैछ, त्यसमा कुनै प्रश्नै छैन ।

नोमः यसको अर्थ हो–आर्थिक विकासको प्रक्रियाबाट करोडौं मान्छे बाहिरै छन् । ३० करोड बढी मान्छेसंग पिउन योग्य पानीको पहुँच छैन । त्यो कुनै सानो संख्या त हैन ।

कार्थिकः तपाईले औल्याउनु भएको आर्थिक स्थितिको चित्र निश्चय नै ठीक ठाउँमा छ । तपाइसँग मैले कुरा गर्न चाहेको के भने मान्छेहरु डेमागगहरुद्वारा आश्वस्त छन् । जस्तो कि पाकिस्तान, मेक्सिका वा अन्य कुनै शत्रुहरु, उनीहरुले हाम्रा सुविधाहरु लगिरहेका छन्, यो कुरामा मान्छेको इतिहासप्रतिको अज्ञानता झल्किन्छ । जतिखेर कांग्रेस सत्तामा थियो, शक्तिको उच्च विन्दूमा थियो, उसले पनि पाकिस्तानलाई शत्रुकै रुपमा चित्रण गर्दथ्यो र काश्मिरलाई भारतको मात्र हो भन्ने ढंगले प्रस्तुत गर्दथ्यो ।

नोमः शुत्रको रुपमा ? हैन त ?

कार्थिकः हो, पाकिस्तानलाई शत्रु र कश्मिरलाई भारतको मात्र ठानिन्थ्यो र यो सवालले आर्थिक प्रश्नले भन्दा बढी भूमिका गर्दथ्यो ।
नोमः मैले करिब १६ बर्ष अघि भारतमा एउटा भाषण गरेको थिए । मैले सम्झेसम्म मैले भनेको थिए, भारतले काश्मिरमा सन् १९८७ को निर्वाचनपछि दमन गर्न थालेको हो । मैले यस्तो भाषण गर्दा त्यहाँ बिजेपीको ठूलो प्रदर्शन थियो र मान्छेहरुले पुलिसको सुरक्षा घेराभित्र मेरो भाषण सुनेका थिए ।

कार्थिकः हो, मैले तपाईको भाषण पहिलो पटक सुनेको त्यही हो, त्यो सन् २००१ को अक्टोबर तिर वा त्यो वर्षको अन्त्यतिर हुनु पर्दछ ।

नोमः हो, ठीक सम्झेजस्तो छ ।

कार्थिकः किनकी मैले तपाईसँग बारम्बार इमेल कुराकानी गरेको सम्झिराखेको छु ।

नोमः ए अँ । मैले बुझे । मोदीले कश्मिरमा गरेको कार्यका लागि हिन्दूहरुमा भारी समर्थन छ ।

कार्थिकः सही कुरा । आर्थिक सवालभन्दा ज्यादा । मलाई लाग्छ कि मान्छेको दिमागमा अज्ञानता र प्रोपागण्डाको प्रभाव निक्कै छ ।

नोमः यो कुरा सत्य हो कि त्यहाँ मिडियामा धेरै गढबढ छ । प्रेस खासै आलोचनात्मक छैन ।

कार्थिकः एकपटक म क्यामेरा जाँच्दछु हैन, यसले ठीक ढंगले रेकर्ड गरिरहेको छ कि छैन ? मेसिनरी चिज चलाउन म खासै दक्ष छैन ।

नोमः दुर्भाग्यवश, हामीसँग धेरै समय पनि छैन ।

कार्थिकः ठीक छ, रेकर्ड हुँदै रहेछ । हामीसँग कति समय छ ? १० मिनेट, १५ मिनेट ?

नोमः १० मिनेट । अघि बढौं ।

कार्थिकः तपाईले आफ्ना भर्खरैका केही अन्तर्वार्तामा भन्नु भएको छ कि अहिले संसारमा भइरहेको कुरा नाजिवाद हैन । जे जर्मनीमा भएको थियो, त्यही भएको हैन । तर भारतका बिषयमा तपाई के भन्नु हुन्छ ? जस्तो कि भारतमा अवैध घोषणा गरिएका मुस्लिम आप्रवासीहरुका लागि ‘डिटेन्सन क्याम्प’ बनाइँदैछ ।

नोमः भारतमा हामी देख्दौछौं त्यो फासिष्ट दर्शनभन्दा पनि फासिवादको संकेत हो । फासिवाद भनेको अर्कै चिज हो । त्यसको अर्थ फासीवादी वा नाजीपार्टीको नियन्त्रणमा शक्तिशाली राज्य, जसले समाजको सबै पक्ष नियन्त्रण गर्दछ । यहाँसम्म कि त्यसले व्यवसाय समेत नियन्त्रण गर्दछ । भारतमा हामी त्यस्तो देखिरहेका छैनौं । राज्यले ठूला व्यवासायहरु नियन्त्रण गरेको छैन । र यहाँ अमेरिका पनि त्यही कुरा हो । हामी कहाँ फासिवादका केही पक्ष छन् । सीमानामा कन्सर्टेसन क्याम्प, नश्लवाद र त्यस्तै । तर व्यवसायमाथि पार्टी र राज्यको नियन्त्रण छैन, जुन जर्मनीमा थियो । राज्य यति शक्तिशाली छ तर व्यवसाय त नियन्त्रण गर्न सकेको छैन । ट्रम्पले अमेरिकी कम्पनीहरुलाई चाइना छोड भने तर उनीहरुले छोडेनन् ।

कार्थिकः सही हो, तिनीहरुसंग त्यस्तो शक्ति त छैन ।

नोमः उनीहरुसँग त्यस्तो शक्ति हुन सक्दैन ।

कार्थिकः त्यसो भए म तपाईलाई सोधौं, पी. चितम्बरम, तपाईलाई याद हुनुपर्दछ, उनी त्यतिखेर भारतको गृहमन्त्री थिए, उनले जुन प्रकारले काश्मिरमा नियन्त्रण कायम गरेका थिए, त्यो भन्दा आजको नियन्त्रण अझ बर्बरतापूर्ण छ ?

नोमः काश्मिरमा कांग्रेसको निक्कै खराब रेकर्ड छ । कांग्रेसको शासनकालमा काश्मिरमा ठूलो अत्याचार भएको थियो ।

कार्थिकः ठीक हो । तर उनले जेलबाटै त्यो खराब राज्यलाई नक्साबाटै किन हटाएको जस्तो गरी बिजेपी सरकारको कदमको विरोध गरे ।

नोमः उनी जेलमा छन ?

कार्थिकः हो, जेलमा छन्, बिना कुनै आरोप ।

नोमः हो, भारतमा सबै संस्थागत संरचना र हिन्दू बहुमत जनसंख्या कश्मिरको स्वायत्ततालाई अवमूल्यकन गर्दा खुशी हुन्छ । र भारतीय प्रकारको बन्दोबस्तलाई समर्थन गर्दछ । कश्मिर अहिले जेलजस्तो छ तर भारतभरि यस्तो कामको समर्थन छ । मलाई लाग्दछ, त्यहाँ के भइरहेको छ, भारतीय जनतालाई खासै थाहा छैन ।

कार्थिकः तपाईलाई के लाग्छ– कुनै देशमा दक्षिणपन्थी, वामपन्थी वा मध्यमार्गी, केन्द्रवादी वा फसिष्ट सरकार हुनुले कतिको अर्थ राख्छ ? देश बाहिर पनि त्यस्ता जनप्रदर्शनलाई समर्थन गर्ने सरकारहरु हुनुको महत्व कति हुन्छ ?

नोमः तपाईले रेकर्डहरु हेर्नु भो भने– उदारवादी सरकारहरुले पनि न्याय र स्वतन्त्रताका पक्ष्मा भएका सबै आन्दोलनहरुलाई समर्थन गर्दैनन्, त्यस्ता देशहरुमा मात्र गर्दछन्, जुन दुश्मन राज्य हुन् । आफ्ना समर्थक राज्यहरुको जनविद्रोहलाई कसैले समर्थन गर्दैन । दक्षिणपन्थीहरु कहिलेकाही अझ खराब हुन्छन्, तर यो मानेमा खासै भिन्न हुँदैनन् ।

तपाई बराक ओबामाकै उदाहरण लिन सक्नु हुन्छ । मध्य अमेरिकाबाट शरणार्थीहरुको कुरा गर्नुस् । सन् २००९ होन्डुरसमा सैन्य कू भयो । सुधारवादी राष्ट्रपतिलाई सैनिकले खेद्यो । तर, ओबामा र क्लिन्टन केही बोलेनन् । मान्छेहरु त्यहाँबाट यस्तरी भागे कि भयावह स्थिति आयो ।

कार्थिकः कश्मिर र प्यालेस्टाइनजस्ता संघर्ष, स्वतन्त्रताका लागि भइरहेका संघर्षलाई सहयोग गर्नुलाई अमेरिकी जनताले कसरी लेलान ?

नोमः जब ती लोकप्रिय आन्दोलनका रुपमा देखा पर्लान् अनि मात्र केही भन्न सकिएला । जस्तो कि– दोस्रो विश्वयुद्धपछिको सबैभन्दा निकृष्ट अपराध भियतनाममाथिको हस्तक्षेप थियो । कुनै पनि आन्दोलनले लोकप्रियता हासिल गर्न निक्कै वर्ष समय लिन्छ । जस्तो कि वोस्टन एक उदारवादी शहर हो, तर त्यहाँ युद्ध विरोधी प्रदर्शनहरु हुँदा प्रतिप्रदर्शनहरु हुन्थे । पछि भियतनाम युद्धको विरुद्धमा यहाँ ठूल्ठूला जनप्रदर्शन भए । इन्डोनेशियाले पूर्वी टिमोरमा जघन्य अपराध गरेको थियो, कुर्दहरु विरुद्ध त्यस्तै अत्याचार भए । हामीले त्यस्तो विरोधमा जनसमर्थन जुटाउने प्रयास गर्‍यौं । तर सजिलो छैन । हामी केही मान्छे छौं, अमेरिकामा जस्तो कि म आफै एकजना छु, हामी यस्ता विषयमा बोल्ने र जनसमर्थन जुटाउने प्रयास गर्दछौं ।

कार्थिकः तपाईले कुर्दहरुको उल्लेख गर्नु भयो । मलाई थाहा भएसम्म तपाई रुसको अनुसन्धान सम्बन्धमा महाअभियोगको विरुद्ध हुनुहुन्छ । त्यस्तै युक्रेनको नयाँ स्थिति सम्बन्धमा । महाअभियोगलाई लिएर प्रजातान्त्रिक वृतमा एक प्रकारको उत्साह छ । तपाईलाई यो लाग्दैन कि यो समयका यी ठूला सवाललाई केन्द्रीकृत गर्न महाअभियोग एक राम्रो विचार हो ?

नोमः अहम्, मलाई त्यस्तो लाग्दैन । महाअभियोगमा केन्द्रित भएका मुद्दालाई एकचोटी राम्ररी हेर्नुस् । महाअभियोगको सुनुवाईका लागि आरोप र अपराधहरु के के हुन् त ? यही कि उनले लोकतन्त्रलाई मैलो बनाउँदैछन् । उनले देशको सत्ता प्रणालीमा आक्रमण गर्दैछन् । वाटरगेट काण्डमा पनि ठीक यस्तै भएको थियो । क्लिन्टन विरुद्धको महाअभियोगमा पनि । निक्सन वा क्लिन्टनका ठूला अपराधतिर कसैले मतलब गरेन । उनीहरुले लोकतान्त्रिक पार्टीको मुख्यालयमा ठगहरुको गिरोह बनाएका थिए । ती शक्तिशालीहरुको विरुद्ध कोही बोलेन । किनभने ती बोल्ने कै पछाडि लाग्दछन् र उल्टै आक्रमण गर्दैछन् भन्ने डर सबैलाई थियो । मुख्य अपराधलाई ध्यान नदिइएको महाअभियोगको के अर्थ हुन्छ ।

कार्थिकः ठीक हो । तपाईले देखिरहनु भएकै छ कि कुर्दहरुमाथि के भइरहेका छ, तर त्यो पनि त महाअभियोगको कारण बनेको छैन ।

नोमः हैन, हैन, त्यो कारण हैन । लिन्डस्ले ग्राहम र अन्य केहीले कुर्दहरुको मुद्धामा ट्रम्पको निन्दा गर्दै भन्दैछन कि ट्रम्पले कुर्दहरुलाई टर्कीको दयामा छोडिदिएका छन्, त्यो धारणा ठीक हैन । यसले आइसआइस विरुद्धको संघर्षलाई कमजोर बनाउँछ । कुर्दहरुको के कुरा ? उनीहरुलाई यसको मतलब नै छैन ।

कार्थिकः जस्तो कि तपाईले सिनेटर लिन्डस्ले ग्राह्मको कुरा गरिहाल्नु भो, उनले यो पनि भनेका छन् कि कुर्दिश क्षेत्रबाट फिर्ता हुनु भनेको इराकबाट फिर्ता हुनु सरह हो । के यो तुलनाको कुनै गहिरो अर्थ छ ?

नोमः हेर्नुस, जब इराकी कुर्दहरुमाथि सदाम हुसेनले रसायनिक हतियारद्वारा आक्रमण गरे, रेगन प्रशासनले त्यसलाई समर्थन गर्‍यो । पछि उनीहरुले यही कारणले इराकलाई आरोपित गरे । रेगन, किसिन्जरले यही गरेका थिए । कुर्दहरुलाई बारम्बार धोका दिइयो । यो डराउनुपर्ने नयाँ कुरा हो जस्तो लाग्दैन ।

कार्थिकः ठीक ।

नोमः अब मैले जानुपर्छ । केही साथीहरु मलाई पर्खिरहेका छन् ।

कार्थिकः तपाईंको समयका लागि हार्दिक धन्यवाद छ ।

नोमः ठीक छ, तपाईलाई भेट्दा मज्जा आयो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय