scheduleमगलवार आश्विन १३ गते, २०७७

न्यूनतम् १०० दिन रोजगारीका लागि प्रम रोजगारको बजेट अर्को सातादेखि

काठमाडौँ, ११ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो ।

मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका परियोजनामार्फत बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्यसहित पाँच अर्ब एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले गएको कात्तिकमै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहका परियोजना र बेरोजगार युवाको सङ्ख्या पठाउन पत्राचार गरिसकेको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५६४ वटा स्थानीय तहबाट परियोजना र बेरोजगार युवाको विवरण आइसकेको छ भने बाँकीको आउने क्रममा रहेको छ ।

चालू आर्थिक वर्षको रोजगार कार्यक्रमअन्तर्गत ७५३ स्थानीय तहमा ६० हजार गरिब विपन्न परिवारका बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने मन्त्रालयको तयारी छ ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले अहिलेसम्म ५६४ वटा स्थानीय तहबाट प्राप्त १८ हजार ६२४ वटा आयोजना छनोट गरेर त्यसका आधारमा ती तहमा बजेट पठाउने तयारी भएको जानकारी दिए । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय