scheduleमगलवार फाल्गुन १३ गते, २०७६

द्वन्द्वका कुरा नकोट्याऔं, द्वन्द्वको नेतृत्व गर्ने व्यक्ति नेकपाको अध्यक्ष हुनुहुन्छः रावल

काठमाडौं, १२ माघ । सत्तारुढ नेकपाका नेता भीम रावलले विगतका द्वन्द्वका कुराहरु कोट्याउँदा मुलुक अर्कै दिशातिर जाने धारणा राखेका छन् । आइतबार सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,’हिजो द्वन्द्वको बेला कसले के गरेको थियो भन्ने कुराहरु छन्, अब त्यो कुरा गर्ने हो भने त्यो द्वन्द्वको नेतृत्व गर्ने व्यक्ति नै अहिले नेकपाको अध्यक्ष हुनुहुन्छ । अब त्यतातिर खोज्दै, त्यो लहरो तान्दै नजाऔं ।’

पत्रकारहरुले सभामुख सापकोटाबारे विभिन्न कोणबाट कुरा उठेको भन्दै प्रश्न गरेपछि रावलले यस्तो धारणा राखेका हुन् । के भने रावलले-

सभामुखमा निर्विरोध निर्वाचित हुने कुराले सदनलाई अगाडि बढाउन निसन्देह सभामुखलाई सकरात्मक ऊर्जा र प्रेरणा दिनेछ ।
विभिन्न दृष्टिकोणबाट कुराहरु आएका छन् । मुलुकमा सञ्चालित लामो द्वन्द्वपछि हामी नयाँ संविधान बनाउन सफल भएका छौं । अब द्वन्द्वकालका कुराहरु सबै कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नहरु छन् । कतिपय कुराहरु संविधान निर्माणकै बेला सम्बोधन गरिएका छन् ।

कतिपय कुराहरु खासगरी मुद्दा मामिलासँग सम्बन्धित कुराहरु छन् । ती सत्य निरुपण र मेलमिलाप आयोगबाट गर्ने भनेर हामीले नै भन्यौं । अब विगतका द्वन्द्वका सबै कुराहरु कोट्याएर लैजाने हो भने त स्थिति अर्कै दिशातिर जान्छ । अहिले मुलभुतरुपमा हामीले नेपालको संविधानलाई कार्यान्वयन गर्ने र नेपालको संविधानमा लेखिएका जे कुराहरु छन्, हामी एउटा स्वाधिन, स्वतन्त्र र सार्वभौम मुलुक हो । हामीले आफ्नो निर्णय आफैं गर्नुपर्छ ।

हामीले त्यो बाटोबाट अगाडि बढेर विधिको शासन र हाम्रो प्रणालीलाई बलियो बनाएर अगाडि बढ्नु उपयुक्त हुन्छ । जहाँसम्म हिजो द्वन्द्वको बेला कसले के गरेको थियो भन्ने कुराहरु छन्, अब त्यो कुरा गर्ने हो भने त्यो द्वन्द्वको नेतृत्व गर्ने व्यक्ति नै अहिले नेकपाको अध्यक्ष हुनुहुन्छ । अब त्यतातिर खोज्दै, त्यो लहरो तान्दै जाने भन्दा पनि विगतमा केही गल्ती त्रुटि भएका छन् भने त्यसको आत्मसमीक्षा गर्ने हो र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्ने हो ।

केही त्रुटि भएका पनि छन् नभएका होइनन् । अब आगामी दिनमा त नेपालाई राजनीतिक रुपमा स्थायित्वको दिशामा अगाडि बढाउने, आज हाम्रा अगाडि यति धेरै चुनौतिहरु छन् । हामीले बाहिरी हस्तक्षेपका अनेक भूमरीहरुलाई सामना गर्दै आएका छौं । गर्नुपर्ने अवस्था आउन सक्छ ।

हामीले आफ्नो देशलाई स्थायित्वको दिशातिर लैजानुपर्नेछ । विकास र समृद्धिको बाटोमा लैजानुपर्नेछ । अब त्यतातिर (विगतका घटनातिर) ध्यान दिनु धेरै उचित हुन्छ जस्तो मलाई लाग्दैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय