scheduleमगलवार चैत्र २५ गते, २०७६

लेकसाइडकी लिली बनेकी शहीदकी छोरी

कथा (सन्दर्भ : शहीद दिवस)

दश वर्षअगाडि कास्कीमा झण्डै आधा दशक जीवन बाँचे । जीवनका असाध्यै उथुलपुथलकारी समय । घटना र दुर्घटनाको दुस्चक्रको शिकार भएपछि पोखरा आउन छाडिदिएको थिएँ ।

पोखरा असाध्यै मनपर्छ । एउटा गीत नै छ नि- भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती …। समयले लामो समय छुट्याइदियो । भेटिसके पछि कुरुप सत्यसँग साक्षात्कार गर्नुपर्दो रहेछ । सम्भवतः त्यस्तै भयो ।

पछिल्ला १० वर्षमा एक दुईपटक आएँ होला पोखरा । यो वर्ष भने दुई महिनामै दुईपटक । अघिल्लो महिना एउटा राजनीतिक कार्यक्रममा आएको थिएँ । यसपालि एक संस्थाको कार्यक्रममा ।

Dish_Home

भनिन्छ, जति संगत गर्‍यो त्यति नजिक भइन्छ मान्छेसँग । जमिनसँगको नाता पनि त्यस्तै रहेछ । जति पैतालाका छापहरु बढायो, त्यति सम्बन्ध बाक्लिने रहेछ माटोसँग पनि । आजकल दिनदिनै जान मन लाग्छ पोखरा अनेकौं बहाना खोजेर । जुनसुकै बहानामा पुगे पनि पोखरामा भएको बेला फेवातालको किनारातिर बरालिन भ्याइएन भने पोखरा आएजस्तै लाग्दैन् ।

पछिल्लो एक दशक परिवर्तनको दृष्टिले हेर्दा लामै समय हो । तर पनि हिमाल उस्तै छन् । पहाड उस्तै छन् । तालतलैया सबै उस्तै छन् । केवल फेरिएका छन् केही थान मानिसहरु । फेर्छु भन्नेहरु आफैं फेरिएका छन् । फेरिन पर्नेहरु अझै पिंधतिरै बेरिएका छन् ।

फेवातालले माछापुच्छ्रेलाई दुरुस्तै उतार्छ । पहाडहरुलाई दुरुस्तै उतार्छ आफ्नो छातीभित्र । तर, उतार्न सक्दैन विभिन्न रुप र रंगमा सिंगारिएका मान्छेभित्रको असली अवतार ।

आफ्नै अनुहार हेर्न न ऐना चाहिन्छ न फेवाताल । तर, तरंगले हल्लाइरहेको अस्थिर प्रतिबिम्ब हेर्दा आफ्नै जीवनको अस्थिरताबारे प्रष्ट भइन्छ । भ्रम बढ्यो भने, घमण्ड बढ्यो भने छालभित्र आफ्नो तस्बिर खोजेर सम्हालिने गर्दथेँ ।

फेवातालका किनाराहरुमा छचल्किने छालजस्तै रह्यो जीवन । जनयुद्धको बेला यही छालसँग खुसी साटेर रमाएको छु र यही छालमा आँसु मिसाएर दुःख साटेको छु । अहिले पनि किनारामा उभिएर चिसो पानी छुनासाथ अतित कपडा उतारेर नाङ्दै दर्शनभेट दिन आउँछन् । अतितको ऐनाअगाडि वर्तमान उभ्याइदिँदा रोचक सत्यहरुसँग साक्षात्कार गर्न पाइँदो रहेछ ।

यसपाली यस्तै भयो ।

साँझतिर खाइपिई सकेपछि साथीहरु बिजी बी क्याफेतिर हान्निए । साथीलाई पछ्याउँदै म पनि हराउन खोजेँ भिडभित्र । गेटबाट भित्र छिरेपछि १० मिनेट अडिन पनि मुस्किल भयो ।

मलाई किनकिन विगततिर बाँच्न मन पर्दैन । अतितको भारीले थिचिन चाहन्नँ । तर, पोखरा आएपछि अतितको पछ्यौरीले गम्ल्वाङ्गै छोपिदिन्छ । रमाउनै सक्दिनँ वर्तमानमा । भीडभाडले एकदमै चिथोर्छ । बरु घन्टौं एक्लै बरालिँदा योग शिविरतिर कुनै आसनमा ध्यानमग्न भएझैं आनन्दित हुन सकिन्छ । भीडबाट एक्लिएर जीवनको चामललाई नाङ्लामा फिंजाउँदै बिंया र ढुंगा टिपेजस्तै आफ्नै जीवन केलाउन सकिन्छ एकान्तमा ।

‘बिजी बी’ मा व्यस्त हुन सकिएन । बाहिर निस्किएँ ।

कोमल हातहरुले पछाडिबाट जोडसँग आँखा छोपिदिए । लेकसाइडतिर बरालिँदा अरु नै डरहरुले घर गरिरहेको हुन्छ । नसोचेको घटनाले अप्रत्याशित डर जन्माइदियो । मुटु छिटोछिटो चल्न थाल्यो । तर, डरले धेरै समय साम्राज्य चलाउन सकेन किनकी एक युवती हात छाडेर अगाडि उभिएकी थिइन् ।

‘मैले त चिनिनँ,’ डर मिसिएको स्वरमा भनेँ ।
‘अब चिन्न आवश्यक पनि छैन,’ जवाफ पनि अप्रत्याशित आयो जति यो भेट अनपेक्षित थियो ।

मोबाइल बालिन् । भद्दा मेकअपमा चिनेचिनेजस्तो अनुहार । मनमनै सबै मेकअप जबरजस्ती उप्काएर फ्याँकेँ । लौ, बल्ल याद आयो ।
‘कमरेड धर्ती !’ म चिच्याएछु ।

केही बोलिनन् उनी । मेरो हात समाइन् र लगिन् कफि शपको कुनातिर ।
‘होइन, म अब कमरेड धर्ती रहिनँ । म हुँ लेकसाइडकी लिली । मेरो नयाँ पहिचान यसरी नै बनेको छ आजकल । तर, परिचय फेरिए पनि कर्म फेरिएको छैन । धर्तीले जस्तै हजार प्रहारहरु सहेरै बाँचिरहेकी छु ।’

जनसांस्कृतिक महासंघमा काम गर्थिन् उनी । उनको नृत्य र गलाको कलाले क्रान्तिलाई रफ्तारमा अगाडि लैजान धेरै मद्दत मिलेको नेताहरुले संश्लेषण गरेका थिए । जनयुद्धमा आफ्नो पिता सहिद भएपछि उनी पिताको अधूरो सपना पूरा गर्न भन्दै पूर्णकालीन बनेकी थिइन् । पिएन क्याम्पसमा अंशकालीन विद्यार्थी राजनीति गरिरहेकी उनीसँग मेरो भेट भएको थियो । दुई-चार बसाईपछि नै उनी पूर्णकालीन बन्न तयार भएकी थिइन् ।

‘मैले कल्पनै गरेको थिइनँ तिमीसँग यसरी भेट होला भनेर !,’ वाक्य भुँईंमा झर्न नपाउँदै जवाफ आइहाल्यो, ‘यो भेट तिम्रो लागि आकस्मिकता, मेरो लागि आवश्यकता हो ।’
दर्शन हामीले सँगसँगै पढेको । उनको वक्तृता र लेखन कला नृत्य र गलाभन्दा कम थिएनन् ।

‘किन, कसरी ?’ मैले सजिलै बुझ्न सकिनँ । मष्तिष्कको धेरै प्रयोग गर्न पनि चाहिनँ । सोधिहालेँ ।
‘भन्नुपर्ने कुराहरु धेरै छन् । सहिदपुत्री कमरेड धर्तीलाई तिमीले आज जहाँ जसरी भेटिरहेका छौ, तिमीले पक्कै कल्पना गर्न सक्छौ मेरो मनभित्र के चलिरहेको होला ? कस्तो आँधीबेहरी मडारिइरहेको होला ?’

‘आमालाई कस्तो छ, भाइबहिनीको हालखबर के छ ?’ सामान्यीकरण गर्न चाहेँ, प्रसंग बदल्न खोजेँ ।
‘सायद तिमी परिस्थितिसँग भाग्न खोज्दै छौ ।’ उनले समातिहालिन् ।

‘होइन, तिमीलाई देख्नासाथ तिम्रो परिवारको याद आयो,’ म भाग्न पाइनँ । मूल राजमार्गतिरै फर्किएँ जहाँ उनी मलाई हिडाउन चाहन्थिन् ।

‘ठिकै हुनुहुन्छ भनेर तिमीलाई के ढाँटौं । ठिक हुनुहुन्न भनेर नि तिमीले के गर्छौ र ?’ शब्दशब्दमा मलाई घोचिरहेकी थिइन् । म बोल्न सकिनँ ।
उनले नै थपिन्, ‘यहाँ नेता सहिद परिवार, कार्यकर्ता सहिद परिवार र जनता सहिद परिवार छन् । बाबा सहिद हुनुभएपछि हामी पनि कार्यकर्ता सहिद परिवार बन्यौं ।’

उनले सहिद परिवारलाई वर्गीकरण गरेको मलाई मन परेन । मैले रोकिहालेँ, ‘सहिद परिवारलाई यसरी वर्गीकरण नगर । उहाँहरुको अपमान हुन्छ ।’

‘मैले वर्गीकरण गरेको होइन, पार्टीले व्यवहारिकरुपमा गरेको वर्गीकरण हो यो । मैले मात्रै शब्दमा उतारेकी हुँ । किनकी यो हामीले भोगिरहेको सत्य हो,’ समय फेरिए पनि धर्तीको शैली फेरिएको रहेनछ । शब्द शब्दमा भावना घनिभूत बनाएर बोल्ने उनको बानी उस्तै रहेछ ।

उनले अगाडि थपिन्, ‘अस्थायी भावनालाई स्थायी निर्णयमा बदल्नुहुन्न भनेर रोकिइरहेछु । तर भावनालाई मनको जेलमा वर्षौंदेखि थुनिराख्नु साह्रै कष्टसाध्य काम रहेछ ।’

‘कुनै दिन तिमीलाई आफैंले थुनेर राखेको भावनाले बगाउला । बिस्तारै बिस्तारै बाँध खोलिदेऊ । सम्भावित दुर्घटनाहरुबाट जोगिनुपर्छ, जोगाउनुपर्छ,’ अमूर्त सल्लाह दिएँ ।

रक्सीमा कफि मिसिएजस्तै मिसाइदिइन् उनले आवश्यकता र आकस्मिताको दर्शनसँग हाम्रो भेटलाई । सिकलेसतिर झांगिएको हाम्रो कमरेड्ली सम्बन्ध लेकसाइडमा नयाँ संस्करणमा नवीकरण हुँदैथियो । समयले सबैकुरा ककटेल बनाइदिएको छ । राजनीतिमा अपराध मिसाइदिएको छ र अपराधमा राजनीति । आस्थासँग अविश्वास मिसाइदिएको छ र विश्वाससँग अनास्था । सहिदका सपनाहरु यतैकतै निसास्सिइरहेका छन् कि !

छोटकरीमै सुनेँ उनलाई कसरी सहिदको छोरी कमरेड धर्तीलाई प्रगतिवादबाट लेकसाइडतिर धकेलिदियो समयले । समयले भन्दा बढी आफ्नाहरुले । आफ्नाहरुले भन्दा अलि कम पराईहरुले ।
रात छिप्पिँदै थियो । बिजी बीमा नाँच्न निस्किएका साथीहरुको शरीरको रक्सीले हारिसकेको थियो सायद । उनीहरु अघिनै फर्किसकेका थिए ओछ्यानतिर ।

मैले नसोची प्रस्ताव राखेँ, ‘कता बस्छौ, हिड जाउँसँगै । आजसँगै बसौं । रातभरी कुरा गरौंला ।’

‘तिमी अब हिजोको कमरेड रहेनौ । त्यतिविध्न विश्वास छैन ताकि रात सँगै बिताउन सकौं । म आफ्नै बाटो लाग्छु,’ असहज बनाउने जवाफ दिइन् । मेरो नियत त्यस्तो छँदै थिएन । समाजले मात्रै होइन, प्रकृतिले नै उभ्याइदिएको छ महिला र पुरुषबीच सानो ठूलो पर्खाल । धर्ती सहिदको छोरी नभएर सहिदको छोरो भइदिएको भए … !

‘समयले साथ दिए, कुनै दिन तिम्रो विश्वास जितौंला हिजोजस्तै,’ मैले भिजिटिङ कार्ड दिएँ । नचाहीनचाही हात हल्लाएँ ।

बिहान ८ बजे ब्युँझिएछु । नुहाई धुवाई गरेँ । ब्रेक फास्ट अगाडि नै मोबाइलमा वाइफाइ अन गरेँ ।

लिलीको मेल आएको रहेछ । सायद उनी सुतिनन् रातभरी । लामै थियो उनको विद्युतीय पत्र । जीवनका आरोह-अवरोहहरु नागबेली बनेर अक्षरहरुमा ब्यूँतिएका । इन्द्रधनुषी चाहिँ भन्न सकिनँ । किनकी मलाई थाहा छैन सुख दुःखलाई प्रतिनिधित्व गर्ने खास रंगहरु हुन्छन् कि हुँदैनन् ।

मलाई थाहा छैन, मन र दिमागमा कति धेरै फरक छ । तैपनि पत्र पढ्दा मलाई लाग्यो, उनले पत्रमा मनको कुरा गरेकी छिन् । मनको कुरालाई दिमागले मात्र जवाफ दिन सकिन्न । मनले नै बोल्नुपर्छ ।

सहिदको छोरी । अझ मैले आफैंले सहकार्य गर्दा चिनेको सहिदको छोरी । आफ्नै आँखा अगाडि मारिएका सहिद । उमेरमा मभन्दा जेठा तर पनि हाम्रो मित्रतामा उमेरले कहिले पनि एम्बुस हानेन । उमेरलाई हिसाब गरेको भए मैले अंकलभन्दा हुन्थ्यो । त्यत्तिको सिद्धान्त र व्यवहारको चाकाचुलीलाई सन्तुलनमा राख्न सक्ने नेतासँग एकदमै कम संगत गरेँ मैले । आफ्नै भाइछोराजस्तो व्यवहार गरे मलाई ।

मलाई अहिले पनि याद छ, एउटा भिडन्तमा मेरो भाँचिएको हात फेरि भाँचिएपछि उनले मेरो असाध्यै हेरचाह गरे । संकटमा आफ्नै बाबुआमा बिर्साइदिने मान्छे एकदमै कम भेटिन्छन् । म भाग्यमानी थिएँ सायद ।

सुदर्शन खतिवडा

एक्लैबस्दा वा बाटोमा हिँडिरहँदा पनि गहिरो सोचमा डुबेजस्ता देखिन्थे उनी । चिन्तन उनको स्वभावअनुसारको नाम थियो । साह्रै चिन्तित देखिनुहुन्छ नि भन्दा उनको उस्तै जवाफ हुन्थ्यो¸ ‘हेर्नुस्, चिन्ता र चिन्तन फरक कुरा हो । म चिन्तामा होइन¸ चिन्तनमा छु ।´ संकटकालको उत्कर्षतिर पुग्दा पनि उनले मृत्यूको चिन्ता कहिल्यै सुनाएनन् । त्यस्तो असल अभिभावक गुमाइएला र ? सोच्न पनि मन लाग्दैनथ्यो मलाई पनि । तर, एकदिन आँखै अगाडि उनको विभत्स हत्या देख्नुपर्‍यो ।

मेरो शारीरिक बनावट त सधैं सानो नै छ¸ त्यतिबेला उमेर पनि सानै थियो । कास्कीको एउटा गाउँमा पार तापेर पुस्तक पढिरहेका थिए चिन्तन कमरेड । अचानक युनिफाइड कमाण्डले घेरा हाल्यो । नसोचेको कुरा भयो । भाग्न सक्ने अवस्थै थिएन ।

गाउँमा हामी दुई माओवादी थियौं । म बालकजस्तै लागेँ उनीहरुलाई । चिन्तनलाई समाते । तेरा अरु साथीहरु खोइ ? ‘म एक्लै छु अहिले ।’ यो भन्दा अर्को जवाफ उनले दिएनन् । यातना बढ्दै जाँदा उत्तर फेर्ने मानिस थिएनन् उनी । उनलाई घिसार्दै तलतिर लगे । आधा घन्टापछाडि आधा दर्जनजति पटक फायर भयो । चिन्तन कमरेड सदाका लागि बिदा भए ।

आजकल टुँडिखेलमा लोकतन्त्र दिवसमा पड्कने गोलीको आवाजले पनि मलाई त्यही दिनको यादले भयाक्रान्त बनाइदिन्छ ।

तिनै कमरेडको छोरीको पत्र पढिरहेको छु म । पत्रका शब्दहरुले कहिले सुम्सुम्याउँछन् कहिले चिथोर्छन् । कहिले संवाद गर्छन् कहिले कटु आलोचना । पछिल्लो दुई दशकका उतारचढावमय समय र यहीबीचमा पैदा भएका असंयोजनीय भद्रगोलता पत्रमा शिलशिलाबद्धरुपमा उतारिएका छन् ।

जाडो उत्कर्षतिर पुग्न लाग्दा उत्ताउलो बनिरहेको छ । शरीर सेलाएको छ । पत्र पढ्दैजाँदा हृदय तातिरहेको छ । कति छिटो फेरियो समय । समयभन्दा छिटो फेरिए पात्रहरु । अप्राकृतिक बद्लावले जन्माएका असन्तोष र घृणा पत्रमा पसारो छन् ।

प्रिय सानो मान्छे,
मलाई थाहा छैन, विश्वासले सहिद जन्माउँछ कि सहिदले विश्वास जन्माउँछन् । मलाई यो पनि थाहा छैन, यदि मेरो बाबा गणतन्त्रको आन्दोलनमा लागेर सहिद नहुनुभएको भए मैले यो पत्र तिमीलाई यसरी लेख्ने थिइनँ कि ?

कहिलेकाँही एक्लै हुँदा बाबाको डायरी हेर्न मन लाग्छ । म सानै हुँदा डायरीको बीचमा एउटा फोटो फेला पारेँ । फोटोमा एउटा सानो मान्छे देखेँ । तस्बिर हेर्दा लाग्यो, मेरो बाबासँग नजिकै बसेर तस्बिर खिचाउने मानिस तस्बिर खिचाउन मात्र होइन, अरु बेला पनि नजिक नै थियो । किन किन मलाई त्यस्तो अनुभूति भयो ।

अनि खोज्न थाले त्यो सानो मान्छेको पहिचान । शंका लाग्यो, बाबासँगै वा पछि सहिद भइसक्यो कि ! शौभाग्यवश ! मैले लामो सुस्केरा फेर्नुपरेन । तिमी ज्यूँदै रहेछौ । पोखरा आएपछि तिमीसँग भेट भयो । अनि चिनजान पनि। खोइ, किन हो असाध्यै प्रभावित भएछु तिमीसँग ।

अलिकति परिवेश, अलिकति बाबासँग जोडिएको भावना, अलिकति राजनीतिक सचेतना र अन्तिममा तिमीसँगको भेट । सबैको जोडले म जनयुद्धको पूर्णकालीन कार्यकर्ता भएछु । जनयुद्धको बेला छोटै संगतले पनि हामीलाई नजिक बनायो । बाबाको यादले मलाई तिमीसँग जोड्थ्यो । तिमीले बाबाको बारे गरेको कुरा घन्टौं सुन्थेँ म । मलाई थाहा छैन, जीवनको त्यो उमेरमा पिएन क्याम्पसको पछाडि सेती नदीलाई साथी राखेर हामीले माया प्रेमका कुरा कहिल्यै गरेनौं । सायद परिवेश नै त्यस्तो भएर हो कि ?

भावना नबुझ्नेहरुलाई भावना बाँढ्नु समयको बरबादी हो । यसर्थ, म मनभित्रै भावनाहरुलाई दबाइदिन्छु धेरैजसो । हिजो तिमीलाई एक दशकपछि भेटेँ । भेट्न त यसअघि पनि खोजेको थिएँ तर, मैले सामाजिक सञ्जालमा तिम्रो त्यही पुरानो नामबाट खोजेँ । फेला पार्न सकिनँ ।

हिजो अचानक बिजी बीमा देख्दा तिमीलाई चिन्न मुस्किल भएन । तिम्रो मानसिकता तिम्रो भावभंगीबाट पढिरहेको थिएँ । तिमी निस्कन्छौ भन्ने थाहा थियो र म तिम्रो पछि लागेँ । तिमीसँग छुटेपछि तिम्रो भिजिटिङ कार्डबाट पाएको ठेगाना पछ्याउँदै तिम्रो सामाजिक सञ्जालहरुसम्म पुगेँ । तिमीलाई सकेजति पढेँ । रातै बितेछ । जति तिमीलाई पढ्यो, त्यति मनभित्र भावनाहरु झन उर्लन थाले । केही लेख्नै मन लाग्यो र मन हल्का बनाउन यो विद्युतीय पत्रमा पोखिँदैछु ।

तिमीले नै भनेका थियौ नि सधैं भावना दबाउन हुँदैन । यो पत्र पढ्न थाल्दा म निदाइरहेकी हुनेछु जसरी यो पत्र लेखिँरहँदा तिमी निदाइरहेका छौ । वन वे कम्युनिकेशनको बेफाइदा मात्रै छैन नि होइन पत्रकार महोदय ! म बेरोकतोक पोखिन पाउँछु जहाँ तिमीले मलाई रोक्न सक्दैनौ ।

बाबा सपनामा आउनुहुन्छ । चिच्याई-चिच्याई भन्नुहुन्छ- छोरी, हिजो हाम्रो रगत बेचेर खाए, आज हाम्रो तस्बिर बेचेर खाइरहेका छन् ।

बाबाले सुप्रिमो पुत्र प्रकाश र जनगायक खुशीराम पाख्रिनको मृत्यूको तुलना गर्नुभएछ । उहाँहरुको मृत्यूपछि नेता कार्यकर्ताको प्रतिक्रियालाई विश्लेषण गर्नुभएछ । सिंगो पार्टी पंक्ति नै कसरी चाकडीबाजहरुको भिडमा बदलिनसक्छ ? २१औं शताब्दीको जनवादमा यसबारे धेरै कुरा लेखिएको थियो । तर, पढ्नु हुँदैन भनेर सुप्रिमो नै बोल्न थाल्नुभएपछि कसले कसरी बुझिदिने हाम्रो कुरा ?

बाबालाई साह्रै दुःख लागेछ । हरेक गुनासो उहाँले मलाई सुनाउनुहुन्छ सपनीमा । मसँग मेरो सहिद बाबा र मेरो आफ्नै गुनासो र व्यथाहरुका चाङका चाङ अनुभूतिहरु छन् । बाबाले मलाई सुनाउनुहुन्छ । मैले कसलाई सुनाउने ? कतै लेखुँ भने वर्गदुश्मन हाँस्लान् । सुनाउन त्यसलाई सकिन्छ जसलाई विश्वास गरिन्छ र जो विषयसँग सम्बन्धित छ र सुन्ने रुचि पनि राख्छ । पार्टी ठूलो भएको छ । तर, यो ठूलो पार्टीको भिडमा मैले मेरो व्यथा सुनाउने मानिस कहिल्यै भेट्न सकिनँ । 

एकपटक त  डान्सबारमा नाँचिसकेपछि अभिभादन गरेछु । सबै हाँसे । मलाई खुब रिस उठ्यो । मेरो बेहोसीप्रति हाँसून्, मलाई चित्त दुख्दैन, रिस उठ्दैन । तर, जब मेरै बाबाले आदर्श मानेर सहादत प्राप्त गरेको अभिभादनको अपमान हुन्छ । मैले आफूलाई रोक्नै सक्दिनँ ।

रिसाउँदै नजिकैको बियरको बोतलले हाँस्नेहरुलाई हिर्काइदिएँ । त्यसपछि मालिकहरुबाट पाएको यातनाको म वर्णन गर्न सक्दिनँ । जति उनीहरुले पिट्दा शरीर दुख्यो नि त्यो भन्दा धेरै मन भाँचियो । जब मानिसलाई आफ्नै अतितले कोपर्न थाल्छ, उसको केही नचल्ने रहेछ । शिवाय हार्नु ।

सोरन किरिकगार्डलाई कताकता पढेजस्तो लाग्छ- तानाशाहको मृत्यूसँगै उसको जीवन अन्त्य हुन्छ । सहिदको मृत्यूसँगै उसको जीवन सुरु हुन्छ । तर यहाँ के भइरहेको छ ?  म ठम्याउनै सकिरहेको छैन । 

पछिल्ला राजनीतिक घटनाक्रमप्रति म निराश छैन । तर, यी घटनाक्रमको नेतृत्व गर्नेहरुको नियतप्रति म स्तब्ध नै छु । एमाले-माओवादी एकता सन्दर्भ चलिरहँदा मलाई पनि खुसी नै लागेको छ । इतिहास बाधक नहुने हो भने अगाडि बढ्न दुई शक्ति मिलेकै राम्रो । मलाई ओलीले जनयुद्ध सैद्धान्तिक गल्ती थियो भन्दा पनि अनौठो लागेन । किनकी उनीबाट मलाई योभन्दा बढी अपेक्षा नै थिएन र छैन । तर अनौठो त्यतिबेला लाग्यो जब ओलीले जनयुद्धलाई त्यति साह्रो चुनौती दिँदा पनि जनयुद्धका सुप्रिमो प्रचण्ड एक शब्द पनि बोलेनन् । अब मजस्ता मानिसले उनको मौनतालाई कसरी बुझ्ने ?

नेताहरुले बाटो फेरुन् । जनयुद्धलाई अपमान गर्नेहरुसँग सम्झौता पनि गरून तर, देश र जनतालाई फाइदा हुनेगरी ।  के त्यस्तै भइरहेका छन् र ? हाम्रो जीवन ध्वस्त हुनेगरी परिवारको आफन्त खोसेर लानेहरुले कहिल्यै यसबारे सोच्छन् कि सोच्दैनन् होला ?

मानिसले ढाँट्नु हुँदैन र मनमा लागेको कुरा बोल्नुपर्छ/गर्नुपर्छ जस्तो लाग्छ । यसर्थ¸ अप्रिय नै भए पनि नेताहरुले बाटो बदलेका छन् । फरक फरक बाटोमा हिंडेका छन् । नेताहरु फुटेर कमजोर हुँदा सहिदको सपना कमजोर हुँदा रहेछ । आशा गरेकाबाट अपेक्षा पूरा नहुँदा अलि बढी नै निराशा फल्ने रहेछ । त्यतिबेला निराशाको फलले जीवनलाई उठ्नै नसक्नेगरी थिच्यो ।

भनिन्छ¸ धोकाको नराम्रो पक्ष भनेकै यो अक्सर दुश्मनबाट भन्दा आफ्नै भनिनेबाट पाइन्छ । जनताको अगाडि देखाउने नेताको अनुहार प्रायः धोका रहेछ ।  नेताको वास्तविक अनुहार र खेल त जनताभन्दा पछाडि देखिने रहेछ । पोखरामा एयरपोर्ट काण्ड मच्चियो । माओवादीका केही नेताले करोडौं घुस खाएको सुनियो । नेताहरु रातारात धनी भए । धनीहरु पनि नेता भए । तर, नेताहरु धनी नभएर कार्यकर्ता पनि बने । सर्वहाराको मकुन्डो लगाएर धनसत्ता कब्जा गर्ने नांगो नाँचलाई शहीद परिवारले विक्षिप्त भएर हेरिरहनुपर्‍यो । युद्धको बेला मन नपर्ने निर्दोष मान्छे मार्दै हिंड्ने मान्छेको अनुहार शान्ति प्रक्रियामा आएपछि उदाङ्गो हुँदै गए । बिस्तारै कार्यकर्ताले चिने र अनि जनताले पनि । त्यसैले त निर्वाचनबाट सजायँ दिएछन् ।

म जनसांस्कृतिक अभियानमा लागेको संस्कृतिकर्मी त्यो पनि सहिद परिवार । पहिले गाउँ बिउँझाउँथे । अहिले शहरमा बिउँझिरहेछु विवशताले पलपल मुर्च्छित बनाइरहँदा । सामाजिक सञ्जालतिर पढेको थिएँ- शहरमा घरहरू नजिकनजिक हुन्छन् तर मनहरू टाढाटाढा हुन्छन्, गाउँमा घरहरू टाढाटाढा हुन्छन् तर मनहरू नजिकनजिक हुन्छन । शहरमा घरहरू पक्का हुन्छन् तर सम्बन्ध कच्चा हुन्छन्, गाउँमा घरहरू कच्चा हुन्छन् तर सम्बन्धहरू पक्का हुन्छन् । हो, म शहर भोगिरहेको छु । 

यो यथार्थलाई पढ्दा सुन्दर लाग्छन् तर आफैंले भोग्दा कति पीडादायी हुन्छ, संसारमा यसलाई मैले भन्दा बढी सजीव र निर्मम ढंगले कसले भोगेको होला र ? सहिदको छोरी प्रगतिवादी सांस्कृतिक अभियान छाडेर परिवार पाल्न डान्सबारमा नाँच्नुपर्दाको अवस्था म यो पत्रमा लेख्न सक्दिनँ । किनकी शब्दभन्दा पहिला आँसु आउँछ र भावनाहरु बगाएर लैजान्छ ।

हामी युद्धतिर हुँदा तथ्यकथा पढेर बस्ने एकजना मेरा मित्र अहिले माओवादीमा छन् । पेरिसडाँडामा पुगेर सुप्रिमोबाटै टीका लगाएछन् । गाउँतिर अरुलाई टेर्दैनटेर्ने । खुलेरै भन्दा रहेछन्- मैले त सुप्रिमो चिनेको छु । आजकल गाउँ यस्तैले चलाएका छन् । हामी निरिह भएका छौं । कृष्णसेन हिरासतमा चिच्याइरहँदा पहिलो प्रेमिका सम्झेर शौचालयमा मैथुन गरिरहेको कहानी लेख्ने लेखक/साहित्यकार जनसांस्कृतिक आन्दोलनमा छन् ।

भयो यस्ता साना तिना प्राविधिक कुरा नगरौं । मुहान नै धमिलो छ भने खोलालाई गाली गर्नुको के अर्थ !

तिमीलाई थाहै छ, हरेक वर्ष शहीद दिवस मनाइन्छ । माओवादी पक्षले फागुनमा एक हप्ताभरी शहीद सप्ताह मनाउँछन् । यसैगरी राज्यले माघ १६ गते । परिवर्तनको लामो इतिहासका आफ्नै सन्दर्भहरु छन् । मलाई थाहा छैन, दुई पार्टी एकता भएपछि बन्ने सरकारले कुन शहीद दिवसलाई मान्यता दिन्छ ।

केही वर्ष भयो गाउँमा बाबाको सम्झनामा पार्टीले शहीद दिवस मनाउन छाडेको । सामाजिक सञ्जालले पनि मानिसलाई शहीद सम्झन सजिलो भएको छ । मुख्य मान्छेहरु काठमाडौंमा पुगिसकेपछि गाउँतिर मनाउनुको खासै अर्थ नभएर पनि होला ।

मेरी वृद्धा आमा भन्नुहुन्छ, ‘शहीद दिवस वर्षमा एक दिन आउँछ, बाँच्नुपर्छ हरेक दिन । सुख दुःख सोध्न कोही आउँदैनन् । दुःखबिमार पर्दा कसैले सम्झँदैनन् । सबैभन्दा ठूलो कुरा आफ्नै मान्छे नै गुमाएपछि के बाँकी रहँदोरहेछर यो संसारमा । कम्तिमा सपना पूरा भएहुन्थ्यो तिम्रा बाबाहरुको । त्यही पनि शहीद परिवारजस्तै बेबारिसे बनाइदिए अगुवाहरुले ।’

म अनुभव गर्न सक्छु मेरी आमाको पीडा । दशैं तिहार आउँदा, आपतविपत पर्दा हामीलाई बाबाको याद आउँछ । सानैमा बाबाको हात समातेर स्कूल हिंडेकी संगिनी देख्दा स्कूल पछाडि गएर रुन्थेँ म । तर मेरी आमा एक्लै बाँचिरहनु भएको छ जतिबेला सहारा चाहिन्छ । उहाँलाई कति अभाव खड्किन्छ होला बाबाको !

भयो म गुनासाहरुको बिस्कून लगाउन चाहन्न धेरै । लेखेर कहिल्यै नसकिने अनुभूतिहरु चाङ लागेका छन् । सौभाग्यवशः तिमी भेटियौ । तिमीलाई रुचिकर लाग्यो भने लेख्दै गरौंला ।

प्लिज सानो मान्छे,
यो पत्र तिमीलाई मात्रै लेखेको हो । सार्वजनिक नगरिदेऊ ल । सार्वजनिक नै गर्न मन लाग्यो भने तिमीले लेख्नुपर्ने कुराहरु धेरै छन् । अलपत्र सहिदको सपनाबारे लेख । वर्गउत्थान भएर अभिजात वर्गमा फेरिएका नेताहरुको बारेमा लेख । उनीहरुले लुकाउन नसकेको नांगो जीवनशैलीको बारेमा लेख । सहिदको पोस्टर बेचेर खानेहरुका विरुद्ध लेख । सहिद किन सहिद भएका थिए, त्यो सम्झाउने गरी लेख । शब्दमा भन्दा कर्ममा सहिदलाई सम्मान गर्नेहरुको सम्मानमा लेख । सहिदको सपना पोलेर सम्धिलाई न्यानो बाँढ्नेहरुको विरुद्धमा लेख । तिमीले पनि लेखेरै नसक्ने कुराहरु छन् । मेरो बाबाको याद आयो भने कम्तिमा केही गर है प्लिज ।
बाँकी अरु पत्रमा ।

*** ****
पत्र पढीसक्दा आँखाका डिलले आँसु रोक्न सकेनन् । सहिदको शरीरबाट रगत बगेजस्तै अश्रुधारा बगे आँखाका डिलबाट । नाक र गालाको खोल्सा हुँदै मुखमा पुगे । कति नुनिलो आँसु ! कति पिए होलान् सहिद परिवारले ।

प्रिय धर्ती,
तिम्रा शक्तिशाली शब्दहरुले मेरो हृदय हल्लाइरहेको छ । मनको जेलमा भावना कोचेर नराख । सकेजति शेयर गर । तिमीलाई पढेर बेस्करी रुन मन छ मलाई पनि । आँसुको स्खलनले हृदयको तृष्णा मेटाउँदोरहेछ । मलाई सक्नेजति रुवाऊ । जीवनको यस्तो मोडमा आइपुगेको छु, जहाँ तिमीसँग जस्तो गुनासो पनि बाँकी छैनन् । मसँग निर्धक्क बाँढ्न सक्छौ तिम्रो अनुभूतिहरु ।

तर, पत्थरजस्तो यी निर्मम मानिसहरुलाई आँसुले पगाल्न सक्दैन । ऊर्जाहरुलाई संकेन्द्रित गरेर यिनीहरुलाई शक्तिशाली प्रहार गर्नुपर्छ । आखिर, जीवन साहस गरेर बाँच्ने हो । तिम्रो बाबा र हजारौं शहीदहरु मुष्टिभर मानिसहरुको जीवन फेर्न होइन, आम मानिसहरुको जीवन फेर्न जीवन त्याग्न तयार भएका हुन् ।

यो क्षण हामी धेरै गर्न सक्दैनौं । तिम्रो बाबा र सहिदहरुको सम्मानमा कम्तिमा तिमी र म मिलेर केही साझा प्रतिवद्धता गरौं । कति लागू गर्न सकिन्छ ? अर्को वर्ष सहिद दिवसमा समीक्षा गरौंला । यो तिम्रो मनभित्र बलिरहेको आगोको ज्वाला अधिकांश नेपालीको ज्वाला हो । एक्लै र कमजोर भयो भने सानो हावाले पनि निभाइदिन्छ । बलियो भयो भयो भने हावाले झनै फैलाइदिन्छ । 

अब यो भेट तिम्रो लागि आकस्मिकता र मेरो लागि आवश्यकता बन्नेछ । छिट्टै तिमीलाई पढ्न र भेट्न पाउने अपेक्षामा छु । अन्तिममा, पत्र सार्वजनिक गरेकोमा क्षमा गर । मलाई लागेन कि तिमीले लुकाउनुपर्ने जीवन बाँचिरहेकी छौ, लुकाउनुपर्ने कुरा बोलिरहेका छौ ।
तिम्रै,
सानो मान्छे ।

जनवरी ३१, २०१८

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय