scheduleमगलवार जेष्ठ २० गते, २०७७

जसको सहयोग आयो, उसकै नीति लागू गर्न छाडौं

राम कार्की

धेरै विलम्बपछि, धेरै ढिलाईपछि नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समितिले खास मुद्दाहरुमा यथेष्ट ध्यान दिन सके र छलफल सही कुरामा केन्द्रित गर्न सक्यो भने यो बैठक फलदायी हुन्छ ।

मुख्यरुपमा कम्युनिष्ट आन्दोलन भनेको एउटा कुनै देश, क्षेत्र, एउटा जातिको आन्दोलन होइन । यो अन्तर्राष्ट्रिय आन्दोलन हो र सिंगो मानव जाति, यहाँसम्म कि सिंगो पृथ्वीका निम्ति यसले सोच्नुपर्छ । त्यसैले हामीले कहिल्यै पनि के बिर्सनु हुँदैन भने नेपालको कम्युनिष्ट आन्दोलन भनेको समग्र विश्व कम्युनिष्ट आन्दोलनको एउटा सानो इकाई हो ।

त्यसैले, आज विश्व कम्युनिष्ट आन्दोलन कहाँ पुगेको छ, विश्वको मानवजातिले कस्तो अवस्थाको सामना गरिरहनु परेको छ ? जस्तो भर्खरै पनि हामीले सुन्यौं कि एकजना हरारी भन्ने इजराजयका विद्वानले एउटा विचार अगाडि ल्याइरहेका छन् । अब यो खासगरेर आधुनिक प्रविधिको विकासले गर्दा मान्छेको डेमोक्र्याटिक स्पेश (लोकतान्त्रिक क्षेत्र)लाई एकदम संकीर्ण बनाउँदै, खुच्म्याउँदै लगेको छ । अब तपाईंसम्बन्धी सबै तथ्यांकहरु कुनै प्रविधिमा जम्मा हुने, कुनै कम्प्युटरमा जम्मा हुने र तपाईंको धारणा के हो ? तपाईंले के सोच्नुहुन्छ ? त्यो कुरा पनि उसले भविष्यवाणी गरिदिन्छ भन्ने छ ।

Dish_Home

जस्तो तपाईं ताली पिटिरहनु भएको छ तर, तपाईंलाई भित्रभित्रै त्यो कुरा मन परेको छैन भने त्यो मन नपराइरहेको कुरा पनि त्यहाँ देखिने । यसप्रकारको स्थितिले अर्को कृत्रिम मान्छे पो निर्माण हुन्छ कि ? मान्छेको स्वतन्त्रताको अपहरण हुन्छ कि ? भन्ने खालका मानवताविपरितका खतराहरु आइरहेका छन् ।

त्यो अन्तर्राष्ट्रियरुपमा मानव जातिले सामना गरिरहनु परेका कुराहरु र मुख्यतः वित्तिय पुँजी र प्रविधिको भरमा संसारमा हेजिमोनी (एकाधीकार) कायम गरिरहेका जुन देशहरु हुन्, तिनीहरु सबैले अब तथ्यांकमा आधारित औपनिवेश कायम गर्ने जस्तो स्थिति पो आउँछ कि ? यस्ता चिन्ताहरु जाहेर भइरहेका छन् । त्यसर्थ, हामी अन्तर्राष्ट्रियरुपमा पनि छलफल बहस गर्नुपर्छ ।

दोस्रो कुरा, नेपालको विकास रणनीति के हुन्छ ? अब हामीले शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो लगायतका यी तमाम चिजलाई कसरी हामी अगाडि लिएर जान्छौं ? त्यो विषयमा हाम्रो पार्टीले छलफल गर्नुपर्छ ।

जस्तो कि विदेशबाट आउने सरसहयोगहरु, विदेशबाट आउने अनुदानहरु सबैलाई हाम्रो कार्यक्रमअन्तर्गत, हाम्रो प्राथमिकता अन्तर्गत राख्नुपर्दछ । कम्युनिष्ट पार्टीको बैठक भनेकै छलफल र बहसको निम्ति हो । समय असाध्यै कम राखिएको छ । चार सयजना केन्द्रीय सदस्यहरु छन् । मेरो लागि त छलफलको लागि समय नै पुगेन भन्छु ।

अब एमसीसी मात्रै होइन, सबै सहयोग र अनुदानहरु छन्, कसैले पनि अरुको सहायतको आधारमा नेपालले आफ्नो कार्यक्रम बनाउने जुन परिपाटी अहिलेसम्म आजसम्म कायम रह्यो त्यसलाई अब हामीले पोइन्ट अफ डिपार्चर बनाउनुपर्छ । त्यसमा जानु हुँदैन । कसैले शिक्षाको लागि हामीलाई पैसा दियो अनि उसैको शिक्षा नीति हामीले यहाँ लागू गर्ने । कसैले स्वास्थ्यमा पैसा दियो, अनि उसैको स्वास्थ्य नीति हाम्रोमा लागू गर्ने । त्यस्तो होइन कि हामीले आफ्नो शिक्षा नीति, आफ्नै स्वास्थ्य नीति बनाउनुपर्छ । त्यसअन्तर्गत सहायता वा ऋण वा अनुदान हामीले लिनुपर्छ । त्यसैले यी सबै चाहे एमसीसी होस्, चाहे बिआरआई होस्, यी सबै कुराहरुमा उनीहरु अन्तर्गत हामी बस्ने होइन कि हामीले आफ्नो कार्यक्रम अन्तर्गत त्यसलाई ल्याउनुपर्छ । त्यो ल्याउनु भनेको के हो भने जस्तो अहिले जुन आशंका छ नेपाली जनतामा कि यो एमसीसी त्यहाँको अर्थ मन्त्रालय अन्तर्गत नभएर पेन्टागन अन्तर्गत आएको हो, त्यसको सम्बन्धित मन्त्रालय भनेको रक्षा मन्त्रालय हो ।

दोस्रो कुरा, यसमा कताकता नेपाललाई भारतको दृष्टिबाट हेर्न खोजियो कि ? किनकि हाम्रो बिजुली भनेको त हाम्रो कुरा हो । हामी बंगलादेशलाई बेच्न सक्छौं, भुटानलाई बेच्न सक्छौं, पाकिस्तान र चीनलाई बेच्न सक्छौं । हाम्रा नजिकका छिमेकी देशहरुलाई बेच्न सक्छौं । तर केवल भारततिर केन्द्रित गरेर जसरी ल्याउन खोजिएको छ, यसबारेमा हामीले अमेरिकासँग कुरा गर्नुपर्छ । अमेरिका हाम्रो पुरानो मित्र राष्ट्र हो । त्यसले गर्दा हाम्रो आशंकाहरुलाई तपाईंले आश्वस्त बनाइदिनुहोस् भन्नुपर्छ अमेरिकासँग । त्यसरी अगाडि बढ्नुपर्छ ।

पार्टीका केन्द्रीय सदस्यले पार्टीका नेताहरुलाई भेट्न दुई वर्ष कुर्नुपर्छ भन्ने कुरालाई संकेत गर्ने गरिएको छ । यही कुरालाई ध्यान दिएर नयाँ प्रकारको प्रजातान्त्रिक सम्बन्ध स्थापित गर्ने सकिएन भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।

(सत्तारुढ नेकपाको जारी केन्द्रीय समितिमा भाग लिइरहेका नेकपा नेता कार्कीसँग कुराकानीमा आधारित)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय