अल कायदाका एक नेता अमेरिकामा पक्राउ
एजेन्सी, १८ माघ । अमेरिकी अधिकारीहरूले अल कायदाका एक नेतालाई पक्राउ गरेका छन् ।
दुईजना इराकी प्रहरी अधिकृतको हत्या आरोप लागेका र इराकको फलुजाह शहरमा सक्रिय अल कायदा समूहका नेतालाई अधिकारीहरूले पक्राउ गरेका छन् ।
बिहीबार ४२ वर्षीय अली युसिफ अहमद अल नुरी एजिरोनाको फिनिक्सबाट पक्राउ परेका थिए । उनीमाथि सन् २००६ मा २ जना इराकी प्रहरी अधिकृतको हत्या गरेको आरोप लागेको छ ।
उक्त आरोपमा इराकी प्रहरीले नुरीलाई खोजिरहेको थियो । एकजना इराकी न्यायाधीशले नुरीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई बिहीबार पक्राउ गरिएको अमेरिकी कानुन मन्त्रालयले जनाएको छ । इराकी सरकारले नुरीलाई सुपुर्दगी गर्न समेत अनुरोध गरेको छ ।
नुरी फलुजाहस्थित अल कायदा समूहको नेता रहेको र उनले इराकी प्रहरीमाथि आक्रमणको योजना बनाउँदै आएको समाचारमा उल्लेख छ ।