scheduleबुधवार फाल्गुन ७ गते, २०७६

कोरियामा कोशी किनारका लोक सुसेलीहरू

सलनाल (नयाँ वर्ष) चाड– कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्दछ ।

सलनाल विदा मनाउन दुईतिहाई मानिसहरु काम छाडेर कम्पनीबाहिर निस्कदै थिए । म पनि चारदिनको विदा सम्मुख थिएँ । यो चारदिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्दछन् ।

ति कार्यक्रमसँग उनीहरु आफ्नो प्रतिष्ठा जोडेर हेर्दछन् । मानौँ, यस्तोबेला केही नगर्नु आफु केही नहुनु हो । विशेषतः थुप्रै केही नहुनु मध्ये समाजसेवी नहुनु पनि हो । यसपल्ट पनि विगतझैँ थुप्रै कार्यक्रम हुँदैथिए । त्यसमध्ये एक संस्थाले साङ्गीतिक कार्यक्रमसँगै राष्ट्रगानका सर्जक व्याकुल माइलालाई अभिनन्दन पनि गर्दैथियो ।

व्याकुल माइला दाजु कोरिया आउनुहुने पक्का भएपछि हामी निरन्तर सम्पर्कमा रह्यौँ । बिहानै आईफोन एरोप्लैन मोडअफ गर्ने बित्तिकै मेसेन्जरमा घण्टी बज्यो । हेरेँ । एयरपोर्टमा बोर्डिङ भएर हङकङ हुँदै कोरिया आउँदै गर्नुभएको जनाउ रहेछ ।

म हरेक रात सुत्नुअघि मोबाइल एरोप्लैन मोडमा राख्छु, ताकि राति मोबाइलले कनेक्ट गर्ने हाई रैडिएसनको इफेक्टले स्वस्थ्य नबिग्रियोस् । अँ ! म भन्दैथिएँ, वहाँले हिजो बेलुका नै पठाउनु भएको म्यासेज बिहान मोबाईल खोलेर हेर्दैथिएँ । सायद, वहाँ बिहान भएकोले ईन्छन झर्दै हुनुहुन्थ्यो !

भोलिपल्ट बिहान लगभग आठ बजेतिर दाजुभाइ भेट भयौँ– आक एशिया होटल सौलमा ।

वार्तालापको सुरुआतमै सोधेँ, ‘दाजु चिसो कत्तिको छ ?’

मुस्कुराउँदै भन्नुभयो, ‘गफ दिन नजान्ने मान्छे, अब हेर्नू है ! कहिलेदेखि त्यो अरबमा पानी नपरेको रे, माइला गयो ! पानी पर्‍यो । कोरिया त हिउँले ढाकेको छ, चारफिट हिउँ छ सौलमा– भन्थे । माइला आयो ! जाडो गयो । अलिक बाक्लो लुगा बोक्ने सल्लाह पाएर बोकेको, काम नलाग्लाजस्तो छ ।’

हामी एकछिन हेराहेर गरेर हाँस्यौँ । केहि दिनदेखि हुन पनि सौल वरिपरि माइनस नौ–दशको तापक्रम अनौठो गरी घटेर जिरो एक–दुई डिग्री सैल्सियसमा आएको थियो । हिउँ त यसपल्ट खासै गतिलो पर्न सकेन । रामै भयो ।

मौसम हल्का चिसो र घमाईलो थियो । असाध्यै रमाईलो पनि । दिनभरि कोरियाको सामगाक्षीमा रहेको युद्ध सङ्ग्रहालय भ्रमण गर्‍यौँ । साथमा हिलेपानीका नातागोता र साथीहरु जोडिनुभएको थियो । विशेषगरी ओखलढुङ्गा समाजका सक्रिय साथीहरु जो हाम्रो सम्बन्ध मातृभाषा साहित्य, संस्कृति र साहित्यको लेखनले बर्षौअघिदेखि जोडेको थियो । आजसम्म अटुट जोडिरहेको छ ।

हामीसँग जोडिएकी थिइन्, एकजना बहिनी । नेपालबाट कार्यक्रमको लागि आएकी रे ! नाम-अञ्जु राना । अत्यन्त शालीन, सुशील ! हाम्रै साथीभाइ आयोजक भएकाले वहाँहरुसँगै भ्रमणमा निस्किएकी रहेछन् । दिनभर सँगसँगै घुम्यौँ । सामूहिकरुपमा ऐतिहासिक महत्वका पुरातात्विक स्थलहरुमा तस्बिरहरु खिच्यौँ । सङ्ग्रहालयभित्र तीन वर्ष एक महिना स्वतन्त्रताको लागि कोरियाले जापानविरुद्ध लडेको युद्धको डोबहरु आलो देखिन्थे । त्यतिखेर, अमेरिकाले कोरियालाई सहयोग गरेका अत्याधुनिक हतियार, जहाज र अनेक इक्युपमेण्टहरु भवनका सबैभन्दा तल्लोतला र बाहिर देब्रेपट्टिको प्राङ्गणमा झकिझकाउ सजाएर राखिएका छन् । दोस्रो तलाको दक्षिणी लबिमा आफ्ना आफन्त जो आफुसँग अहिले हुनुहुन्न, वहाँहरुलाई केही भन्न नपाई छुट्नु पर्‍यो, वहाँहरुको नाम लेख्ने ठाउँ राखिएको छ ।

यो देख्ने बित्तिकै व्याकुल माइला दाजुले वहाँको बुबाको नाम लेख्न पेन खोज्न थाल्नुभयो । सम्झनामा भित्ताको एकछेउ बुबाको नाम लेखेर छोड्नुभयो । माइला दाजुले बुबाको खातिर सम्झनामा ठूले मास्टर शोक पुस्तिका प्रकाशन गर्दै हुनुहुन्छ । अञ्जु बहिनीलाई मनको आयतन नाप्न सोधेँ, तपाईलाई बोर भयोहोला है ! यो अलिक शैक्षिक भ्रमण टाइपको पर्‍यो ।

बहिनीले मुस्कुराउँदै भनिन्, ‘होइन दाइ ! खूब रमाईलो भइर’छ । मलाई यस्तै भ्रमण राम्रो लाग्छ ।’

मिलनकान्छा किराँती

घाम हाननदी टेक्दै बादल बोकेर पहाड छिचोल्न खोजिरहेथ्यो । हामी नामसान सौल टावर उक्लियौँ । पहाड चढेपछि मलाई निष्ठुरी नभन्नू है व्याकुल माइलाको कविताले नामसान टावर काव्य आलय बनायौँ, बन्यो । मैले पनि जूनको कथा शिर्षकको कविता राष्ट्रगान सर्जकको समीपमा उभिएर सुनाएँ । बेलुकी अबेरसम्म घुम्यौँ । पहाडको जानमिल्ने ठाउँसम्म गयौँ । टावरको चढ्न मिल्ने टुप्पोसम्म चढ्यौँ । खूब रमाईलो गर्‍यौँ । असीम आनन्द लियौँ । साँझ निकै अबेर बासस्थान तल सहरतिर ओरालो झर्‍यौँ ।

बेलुका रुममा आइसकेपछि दाजुले वहाँको कोशी किनारका लोक सुसेलीहरु गीति सङ्ग्रहका लोक भाकाहरु सुनाउनु भयो । लोक भाकाहरु हम्रा चिनारीहरु हुन् । पहिचान हुन् । पुर्खाले छोडिगएका नासो हुन् । कोशी किनारका लोक सुसेलीहरू दुधकोशी किनार सुनकोशी किनार विशेष गरेर व्याकुल माइलाको गाउँ/समाज अर्थात् वाम्बुले राई समुदायको चाडपर्व र सांस्कृतिक अवसरहरूमा विगत तीनचार पुस्ता अगाडीसम्म गाइने/नाँचिने लोक सांस्कृतिक भाकाहरू हुन् ।

जो अहिलेको नयाँ पुस्ताले गाउन जान्दैनन् भन्ने मात्र होइन सुन्ने मौकासमेत पाएका छैनन् । पाइएको छैन । अर्थात यि भाकाहरू लोप भैसकेका छन् ।

राष्ट्रिय लोकभाका सोरठीअन्तर्गत पुर्वेली लोकभाका मारुनीभित्रका अदिया, सरूमा, ख्याली र सरादलगायतका मौलिक लोकसास्कृतिक भाकाहरू रहेका छन् । जसले त्यहाँको भूगोलको परिचय दिन्छ । जनजीवनको परिचय दिन्छ । जनभावनाको अभिव्यक्ती दिन्छ । यसलाई विशेष तिथी/मिति विधिसमेत पुर्‍याएर नाँच्ने/गाउने गरिन्थ्यो । बेलुकी आवास फर्किएपछिको समय आफ्नै बलबुत्तामा वहाँले खोज, सङ्कलन गर्नुभएको अदिया र सरुमा लोकभाकाको फरक रसास्वादन गर्ने मौका पाएकोले अहिलेसम्म मन प्रफुल्लित भइरहेछ । यो सुनौलो अवसर दिनुभयो । माइला दाजुलाई धन्य छ । यि लोकभाकाहरु कोशी किनारका लोक सुसेलीहरुमा सङ्ग्रहित छन् ।

यस सङ्ग्रहबारे भोलिपल्ट केही बोल्नुपर्ने भएकोले साहित्य मेलामा प्रमुखवाचक हुँदाहुँदै समय छोट्याए अनेसासको कार्यक्रमबाट खोङ्नारु लाइभहल व्याकुल माइला दाजु साथै पुग्यौँ । तर, त्यहाँ कार्यक्रम सञ्चालिकाले एमसी अनुभव अभावका कारण मास नियन्त्रण गर्न सकिनन् । अनियन्त्रित हलमा त्यस्तो प्राज्ञिक विषयमा बोल्न उचित हुँदैहुँदैन’थ्यो ।

मैले मेरो रोल काट्न अनुरोध गरेँ । आतङ्कित मुद्रामा काटिएको जनाउ दिए । बोल्नकै लागि बोल्न नपरोस् । जानकै लागि फगत कहीं जान नपरोस् । कहिलेकाहीं परिस्थती त्यस्तै बनेर आइदिन्छ ।

कोरियामा हामी दुईखाले लेखक छौँ । एकखाले आवरणमा देखिन चाहने र अर्कोखाले भित्रैदेखि हुन चाहने छौँ । एकखाले नेपालबाटै लेख्दै आएका र अर्कोखाले कोरिया आएर बल्ल लेख्न थालेका छौँ । नयाँ पुरानो जेजो जस्तो भए पनि जोजो कवि हृदय बोक्ने सर्जक थियौँ । राष्ट्रगानका सर्जकको कोरिया आगमन स्रष्टा भेटघाटको अवसर थियो । त्यो चाँजो मिलाउने जिम्मा मैले पाएको थिएँ । जो नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष प्रिय भाइ मुक्तककार रामचन्द्र शर्मासँग धेरैपटक कुरा भएको थियो ।

त्यस कुरामा इतर समाजका प्रियकवि पराजित पोमु र अनेसासका महासचिव प्रियभाइ छन्दकवि सरोज सर्वहारा मनग्यै चासोका साथ अपेक्षित देखिन्थे । राष्ट्रगानका सर्जक व्याकुल माइला कोरियामा रहेका नागरिकबाट भव्य अभिनन्दित भइसकेपछि हामी सरासर स्रष्टा भेटघाट कार्यक्रम दोङ्देमुन शुभेक्षा हल पुग्यौँ ।

विशेष कारणवश थुप्रै स्रष्टा अनुपस्थित रहे पनि बाक्लो उपस्थितिबीच रचना वाचन गरी स्रष्टा भेटघाट सम्पन्न गर्‍यौँ । विशेषगरी हामीलाई व्याकुल माइलाको उपस्थिती नै हामी सबैको उर्जाको स्रोत थियो ।

सलनाल विदाभरि थुप्रै कार्यक्रम भ्याइयो । थुप्रै प्रियमान्छेसँग भेटघाट/भलाकुसारी भयो । केहीथान पुस्तक पनि प्राप्त गरियो । सबै सरसर्ती पढि पनि सकाइयो । त्यसमध्ये माइला दाजुले ल्याईदिनु भएको प्रज्ञा आधुनिक नेपाली कविता निकै महत्वपूर्ण र ज्ञानवर्द्धक लाग्यो । पहिचान भन्ने एउटा अत्यान्त सतही जर्नल भनिएको पुस्तकसमेत पढेँ । आहुतिको गन्थन र वैरागी काईंलाको विचारोत्तेजक वार्तालापबाहेक अरु त्यस्तैउस्तै लाग्यो । इतरले निकालेको इतर कविता सङ्ग्रह इतर नभई आदिवासी स्वरहरु नाम उपयुक्त ठानेँ ।

आफ्नो सृजना आफैले किनेर पढेको अक्सर मेरो जीवनको यहि पहिलो पुस्तक होला । आइती घले, धीरेन्द्र प्रेमर्षि, राजन मुकारुङ र मुन्नाराज शेर्माहरु सशक्त लाग्यो । श्रवण मुकारुङको उहि कोरियाली कवि सिम हुनको पट्यार लाग्दो सम्झना भेटियो । कुमारी लामा र चन्द्र गुरुङहरु मीठो सान्दर्भिक टिप्पणीमा उत्रिएका छन् ।

हुन त सार/सतही लोलोपोतो लगाउनेहरुले उधुम राम्रो छ भन्लान्– यो पुस्तक । तर, भित्रैदेखि अभियानलाई माया गरेर यसको सार्थकता खोज्ने होभने पुस्तकको मोटाईबमोजिम इतर कविता महत्वका नहुनु स्वभाविक नै सम्बन्धित तत्वज्ञानको अभाव हो भन्न किन हिच्किचाउने ? खैर ! प्रियकवि सम्पादक मित्र पराजितलाई अनैकौँ बधाई ! जे होस्, केही नहुनुभन्दा केही त भयो !

खप्तड काव्य यात्राले खप्तड राष्ट्रिय निकुञ्जको लोकेशन र कवि हेमन यात्रीलाई चिन्ने मौका पाएँ । बिउ–अक्षरले राष्ट्रगानको सर्जक व्याकुल माइलालाई थप वाम्बुले राई मातृभाषाको पहिलो मुक्तककारको रुपमा वहाँको गहिरो चिनारी फेला पारेँ । यसरी कोशी किनारका लोक सुसेलीहरुसँग सुसैल्दै जीवनका अनेक आयम र पाटाहरु हेर्ने, देख्ने र अनुभूत गर्ने मीठो पलहरु छोडेर सलनाल कोरियन नयाँ वर्ष गयो । जे होस्, रमाईलो र फलदायी भयो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय