scheduleशुक्रवार श्रावण ३० गते, २०७७

संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन

युग पाठक

लामो विरासत बनाइसकेको राजतन्त्र खारेज भयो । त्यो सकारात्मक कुरा हो । किनकी हाम्रो राज्य संरचनाको एउटा महत्वपूर्ण अवरोधक शक्ति भनेको राजतन्त्र नै थियो । तर, राजतन्त्रको त्यो चरित्रलाई पहिलाको भन्दा पनि अझै परिष्कृत गरेर राष्ट्रपति र प्रधानमन्त्रीले उपभोग गरिरहेका छन् । हामीले राजतन्त्र चाहिँ खारेज गर्‍यौं । तर, गणतन्त्रले जनतालाई बलियो बनाउँछ भन्ने जुन परिकल्पना थियो, त्यो अवधारणालाई उनीहरुले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमार्फत् ध्वस्त बनाइरहेका छन् ।

जब संघीयताको कुरा गर्छौं, संघीयताको आत्माको हत्या गरेपछि पहिचानको मुद्दा नै काम नलाग्ने भइहाल्यो । दोस्रो कुरा, समानुपातिक समावेशिताको थोरै व्यवस्था छ संविधानमा त्यसमा पनि उनीहरुले बठ्याईं गर्ने, फट्याईं गर्ने र समानुपातिकताको आधारभूत सिद्धान्तसँग मेल नखाने गरेर आफ्ना मान्छे घुसाउने बहाना खोजिरहेका छन् ।

पहिचानको मुद्दाको समस्या भनेको के हो भने यसले खास उत्पीडित समुदायभित्रको सबै मानिसको भलो गर्दैन । यसमा तपाईं भ्रममा नपर्नुस् । एउटा भलो गर्छ त्यसले जस्तो भाषाको अधिकार, संस्कृतिको अधिकार, उत्पीडनविरुद्धको अधिकार, विभेदविरुद्धको अधिकार प्राप्ति भएपछि सबै समुदायको सशक्तीकरण हुन्छ । सबै समुदायले त्यसको बृहत्तर हित उपभोग गर्ने ठाउँमा पुग्छन् । तर, संरचनाहरुमा देखिने अनुहारहरु चाहिँ त्यहाँ भित्रको पनि कुलिन तप्काले नै लिने हो । तर, अहिले जुन समावेशिताको अभ्यास हाम्रोमा भइरहेको छ, यहाँ त त्यति पनि भइरहेको छैन । त्यत्ति पनि हुन नदिने प्रयास भइरहेको छ । पहिला सचिव रहेका उमेश मैनालीलाई लोकसेवाको प्रमुख बनाएर लगियो र उनले लोकसेवाको विज्ञापनमार्फत् जसरी समावेशितालाई बिगार्ने काम गरे । उनी सुरुदेखि आरक्षणको विरोधी छन् र उनलाई त्यहाँ लगियो ।


पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अवस्था पनि त्यत्तिकै दयनिय छ । केपी ओलीको दम्भ र उनका वरिपरिका मानिसहरुको दम्भका अघिल्तिर लोकतन्त्रका आधारभूत मान्यताहरु जस्तो- वाक स्वतन्त्रताको कुरा, मानिसले कुरा उठाइसकेपछि त्यसको सुनुवाइ हुने कुरा,  उनीहरुको दम्भको अघिल्तिर चकनाचुर हुन्छ ।

वाइडबडीको कुरा निस्कियो सार्वजनिकरुपमा । छानबिन हुनुपर्ने होइन । त्यही हुन दिइएन । यति ग्रुपलाई सबैका सबै सरकारी ट्रस्टका सम्पत्तिहरु जिम्मा लगाइएको कुरा निस्कियो सार्वजनिक भयो । त्यसलाई प्रधानमन्त्री निस्किएर प्रतिरक्षा गरे । यो कुनै लोकतन्त्र हो ? लोकतन्त्रमा त तपाईंले कुरा उठाइसकेपछि त्यसमा विचार गर्नु अथवा छानबिन गर्नु र दोषी देखिए कारबाही गर्नु त सरकारको दायित्वमा पर्छ ।

राजीनामा  दिएर अनुसन्धान गर्न मार्गप्रशस्त गर्नुपर्नु त सामान्य नैतिकताको कुरा हो । तर उनीहरुको दम्भको अघिल्तिर वाक स्वतन्त्रता पनि कुण्ठित हुने अवस्थामा पुग्यो । किनभने यही वाक स्वतन्त्रताले यी सबै कुरा बाहिर ल्याइदियो । सरकारको खराबी वा भइरहेका खराबी जुन सबै उनीहरुले गरेका पनि होइनन् । जस्तै- बालुवाटारको जग्गाको प्रकरण त धेरै पुरानो हो । त्यो प्रकरणमा मुछिएका मानिसहरुलाई कारबाहीको दायरामा ल्याउने कुरामा जाने त कता हो कता, यस्ता कुरा धेरै चर्चामा ल्याइदिए । हाम्रो सरकार बदनाम भयो भन्ने हिसाबले उनीहरु त बोल्ने कुरामा पनि अंकुश लगाउने कानून बनाउन लागिरहेका छन् ।

यसरी लोकतन्त्रको आधारभूत सिद्धान्तहरु पनि उनीहरुलाई पचिरहेको छैन । दुई तिहाईको दम्भले सबैलाई किचिरहेको छ । पार्टीभित्र सबै मौनप्रायः छन् । यसरी विरोधका स्वर निकाल्ने हामीजस्ता मानिसहरु धेरै छैनन् । मौनता अधिनायकवादी सत्ताको महत्वपूर्ण औजार हो । कम्युनिष्टको हो भन्छन् तर म यी सत्तारुढलाई कम्युनिष्ट मान्न तयार छैन । कम्युनिष्ट अधिनायकत्व हो भन्ने एकाथरीको आरोप छ । ब्रान्ड कम्युनिष्ट छ, नाम कम्युनिष्ट छ तर यिनीहरु कम्युनिष्ट होइनन् ।

मलाई लाग्छ, यी सबै कुराको परिणाम भयानक हुन्छ । यसले समाजलाई पुनः एकपटक विघटनतिर लैजान्छ । राजनीतिकरुपमा समाजलाई सिर्जनशिलताहिन, गतिहिन र कुण्ठित बनाउँछ । त्यो कुण्ठाभित्रबाट या त अर्को विद्रोह जन्मनुपर्‍यो अथवा भनौं न तपाईं हामीले परिकल्पना गरेका थियौं नि, गणतन्त्र आउँछ, राज्यको पुनर्संरचना हुन्छ, त्यसपछि समाज एउटाखालको प्रयोगमा जान्छ र प्रयोगमा गएपछि समाज रचनात्मक हुन्छ । त्यसपछि जहाँ समस्या वा कमजोरीहरु देखापर्छन्, त्यसलाई सुल्झाउने बाटोमा हिंड्छ । अलि समय हामी क्रान्ति अर्थात् विद्रोहतिर जानु पर्दैन भन्ने जुन हाम्रो परिकल्पना थियो, त्यो परिकल्पना अब साकार हुने भएन ।

युग पाठक

यसरी हेर्दा अब फेरि पनि समाजमा विद्रोहको बिऊ रोपिएको छ । फेरि पनि विद्रोह कुनै न कुनै रुपमा विद्रोहहरु हुन्छन् । विद्रोहदेखि विद्रोहसम्मको गोलचक्करको अवस्था पनि सिर्जना हुनसक्छ । किनभने प्रतिगमन भयो र यसले थप विद्रोहको बिऊ मात्रै रोप्ने काम गर्‍यो । समाजलाई रचनात्मक हुन दिएन । समाजलाई कल्पनाशील हुन दिएन । समाजलाई प्रयोगमा जान दिएन । समाजको नयाँ नक्सा बनाउँछौं भन्ने ध्येय थियो र त्यो नयाँ नक्साले नयाँ ढंगको परिकल्पना, नयाँ समायोजनतिर लैजान्थ्यो । अनि मानिस रचनात्मक हुन्थे, कल्पनाशील हुन्थे । त्यो हुन नदिएपछि फेरि एकपटक प्रतिगमनले निर्माण गरेको मौनतामा फसिरहेका छौं ।

समाजले निकास त खोज्छ । अहिलेको मौनता चिर्ने गरी कहाँबाट नेतृत्व जन्मिएला भन्ने प्रश्न छ । संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन । त्यहीँ भित्रैबाट रुपान्तरण वा पुनर्जागरण हुनेवाला छैन । बाहिरैबाट हुने हो । यो संस्थापनको केही आलोचना गरेर वा यो संस्थापनको अंगको रुपमा रहिरहने आलोचक शक्तिहरुबाट पनि नेतृत्व जन्मिँदैन । अर्को नयाँ राजनीतिक प्रक्रियाबाट नेतृत्व जन्मन सक्छ । सामाजिक आन्दोलनले पनि केही काम गर्लान् ।

संसारभरीका दृश्यहरु हेर्दा मेरो प्रारम्भिक निष्कर्ष भनेको संसार दार्शनिक संकटमा फसेको छ । त्यसकारण, संसारभरी विभिन्न आन्दोलनहरु उठिरहेका छन् । जस्तै- भारतकै यति ठूलो आन्दोलन भइरहेको छ मोदीले निर्माण गर्न लागिरहेको हिन्दूत्ववाला दम्भलाई राजनीतिक शक्ति बनाउने जुन दाउपेच छ, त्यसले भारतीय समाजमा संकट निम्त्यायो र उनीहरु सडकमा आए । तर, नेतृत्व कसले गर्ने ? त्यहाँको कांग्रेसले, कम्युनिष्टले वा आम आद्मी वा कसले ? कसैले सक्दैन । किनकी कुनै एउटाले नेतृत्व गर्‍यो भने सडकमा निस्किएको मध्ये आधा मानिस घर फर्किन्छन् । कसैले नेतृत्व लिनै सक्दैनन् ।

त्यसैले राजनीतिक दलहरु आफैं आन्दोलनको हिस्साको रुपमा आन्दोलनभित्र छिरिरहेका छन् । नेतृत्व गर्न सक्दैनन् तर, हिस्साको रुपमा छिरिरहेका छन् । जब त्यसको राजनीति हुँदैन, जब त्यसको नेतृत्व हुँदैन, जब त्यसको संगठन हुँदै, स्पष्ट गन्तव्य हुँदैन, त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ ?  जंगलमा लागेको आगो जस्तो हो त्यो । आगो लाग्छ, जंगल नष्ट हुन्छ, परिणाम आउँदैन । त्यो आगोलाई तपाईंले विचार, नेतृत्व, संगठन, सिद्धान्त मार्फत् एक ठाउँमा लगाउनुभयो भने पो त्यसले भात पकाउँछ ।

भारतमा मात्रै होइन, फ्रान्समा यल्लो भेष्ट आन्दोलन भइरहेको छ । अमेरिकामा वाल स्ट्रिट मुभमेन्ट भयो । बेलायतमा भइरहेको छ । आइरिसहरुको आफ्नै मुभमेन्ट छ । उता हङकङमा त्यत्रो आन्दोलन चलिरहेको छ । इटलीमा आन्दोलन छ । संसारभरि आन्दोलन छ । आजसम्म जसरी संसार चलाउन खोजिएको छ, यो शासकीय प्रणालीप्रतिको असन्तुष्टि मानिसको मनमा छ । मानिस कोही सन्तुष्ट छैन तर, एउटा नयाँ दर्शन, एउटा नयाँ विचार निर्माण नभइसकेको हुनाले कसले नेतृत्व गर्ने भन्ने यकिन छैन । वाल स्ट्रिट मुभमेन्ट भयो त्यहाँ बब अवाकिन कहिल्यै देखिएनन् । तिनले नेतृत्व गर्नै सक्दैनन् त्यसको । तिनी नेतृत्व गर्न गए भने मानिस घर फर्किन्छन् । यो संकट हाम्रोमा पनि हुनेवाला छ । यहाँ आन्दोलन हुनेवाला छ तर नेतृत्व कसले गर्ने ? त्यो संकटको निवारण संसारलाई चाहिएको छ । हामीलाई पनि चाहिएको छ । कुनै न कुनैरुपमा पाइएला । आशा गरौं ।

(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)

यो पनि-

‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’

 

परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्

 

‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय