scheduleआइतवार चैत्र २३ गते, २०७६

दिल्ली विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा जे देखियो

पंकज राई/नयाँ दिल्ली, २१ माघ । फेब्रुअरी ८ मा दिल्ली विधानसभा निर्वाचनको मतदान हुनेछ । नतिजा आउनेछ फेब्रुअरी ११ मा । यो निर्वाचनमा दर्जन बढी राजनीतिक दलले भाग लिइरहेका छन् । तर, आप र बिजेपी बाहेक अरु दल र उम्मेदवारहरुको कसैले चर्चासम्म गर्न चाहँदै‌नन् ।

दिल्ली राजधानी प्रदेश हो । यहाँको निर्वाचनको देशभरि प्रचारात्मक महत्व हुन्छ । हारजित जे होला- राष्ट्रिय राजनीतिमा महत्त्व राख्ने सबै दलले उल्लेख्य उम्मेदवारी दिएका छन् । कांग्रेसले ७० मध्ये ६६ स्थानमा उम्मेदवारी दिएको छ । बिजेपीले ७० स्थान मै उम्मेदवार खडा गरेको छ । तर, सामान्य मतदाता यसपाली आप र विजेपी बाहेकका पार्टीको खाता पनि नखुल्ने धारणा राख्दछन् ।

सचिन पाइलट, ज्योतिराधित्य सिन्धिया, अजय माकन दिल्लीका लागि कमजोर नेता मानिद‌न्थे । २० वर्ष कांग्रेसकै शिला दीक्षितले दिल्लीको शासन चलाएकी थिइन् । दीक्षितको कार्यकालमा काम नभएको पनि हैन । दिल्लीका अधिकांश ठूला पुर्वाधार कांग्रेस शासनकालमा नै बनेका हुन् । तर, पनि कांग्रेसलाई दिल्लीका जनताले किन यसरी छोडे ?

Dish_Home

बबर रोड फाष्टफुडमा भेटिएका एक सर्वसाधारण यसलाई कुनै आश्चर्यको बिषय ठान्द‌ैनन् । कांग्रेसको वंशवाद पुरानो भएको, हिजो बिके पनि अब बिक्न छोडेको बताउँछन् । दिल्लीमा एकातिर विश्वलाई बुझ्ने शिक्षित मध्यम वर्गको उदय भएको, उनीहरु परम्परावादी कांग्रेस मन पराउन छोडेको, अर्कोतिर ठूला विकास पूर्वाधारले गरिब, झुपटबस्तीवाला र कामको खोजीमा अरु प्रदेशबाट आएका सर्वसाधारणलाई नछोएको धारणा पाइन्छ ।

कांग्रेस मात्र हैन, यहाँ केन्द्रीय सरकार चलाईरहेको भाजपा पनि निक्कै प्रतिरक्षात्मक देखिन्छ । केन्द्रीय निर्वाचनमा नरेन्द्र मोदीलाई भावी प्रधानमन्त्री घोषणा गरी तिम्रो प्रधानमन्त्री को ? भनेर कांग्रेसलाई ललकारेको भाजपालाई अहिले आपले ललकार्दै छ- तिम्रो मुख्यमन्त्री उम्मेदवार को ? आपका मुख्यमन्त्री अरविन्द केजरीवाल बारम्बार भन्छन्- नरेन्द्र मोदीजी प्रधानमन्त्रीबाट राजीनामा गरेर दिल्लीको मुख्यमन्त्री हुन आउने हैन, बिजेपीलाई भोट दिएर के गर्नुहुन्छ ?

न भन्द‌ै बिजेपीले सबै प्रचार सामग्रीमा मोदी कै फोटो प्रयोग गरेको छ । मोदी कै नाममा भोट माग्दै छन् भाजपा उम्मेदवारहरु ।
दिल्ली चुनावको प्रचार निक्कै शालिन छ । सडकमा कतै तुलब्यानर छैन । कतै वाल पेन्टिङ छ‌‌ैन । पोष्टर कतै छ‌ैन । ठूला आमसभा पनि भएका छैनन् अहिलेसम्म । सडकमा मानिस शान्त छन् । सबै आ-आफ्नो काममा व्यस्त ।

चुनावको बहस मिडियामा छ । मोहल्लासभामा छ । सामाजिक सञ्जालमा छ । नेपालमा कोणसभा जस्तो यहाँ मोहल्लासभा हुन्छन् । मोहल्लासभामा बिजेपीका केन्द्रीय गृहमन्त्री अमित शाह, युपी मुख्यमन्त्री आदित्यनाथ योगी र केन्द्रीय मन्त्री डा. हर्षबर्दन भिडेर लागेका छन् । मोदी आफैं मोहल्लासभामा गएका छ‌‌ैनन् । प्रधानमन्त्रीको पदमा बसेर कुनै प्रदेशको मुख्यमन्त्री विरुद्ध जेहाद छेड्न उनलाई असजिलो भएको ठानिरहेका छन् मान्छेहरु । तर फेब्रुअरी ३ बाट केही ठूला सभालाई उनले सम्बोधन गर्न थालेका छन् ।

ठाउँ ठाउँमा ईलेक्ट्रिक होडिङ बोर्ड छन् । बिजेपीले त्यहाँ मोदीको फोटोसँगै मुख्य ३ वटा नारा लेखेको छ । धारा ३७० को खारेजी, ३ तलाकको अन्य र नागरिकता संशोधन ऐन । अर्थात् बिजेपी राष्ट्रिय मुद्दालाई महत्त्व दिँदैछ ।

तर आपवालाहरु यस्ता बिषयमा प्रवेश नै गर्न चाहदैनन् । यो दिल्लीको चुनाव हो, दिल्लीकै मुद्दामा चुनाव हुनुपर्ने धारणा राख्दछन् । उनीहरु पानी, बिजुली, सरकारी स्कुल र मोहल्ला स्वास्थ्य शिविरको मुद्दामा जोड दिन्छन् । कन्स्टिच्युसनल क्लबमा भेटिएका एक वकिल भन्छन्- आप दिल्लीका मतदातालाई स्थानीयकरण गर्दैछ । प्रदेशका मतदाताले राष्ट्रिय सवालमा आफ्नो अभिमत नदिने कसरी हुन सक्छ ?

बिजेपीले आफ्ना मुद्दामा बलियो अडान लिएको छ । पत्रकार र बौद्धिक जमातको असन्तुष्टिसंग बिजेपीलाई खासै मतलव छैन । हामी विचार र सवालमा बनेको पार्टी हो । ‘कसैको मायादयाले शक्तिमा आएका ह‌ैनौं । तसर्थ, हामी जे गर्न भनेर बनेको पार्टी हौं, त्यो गर्छौं, दुनियाँ कराउँदै गरोस् हामीलाई मतलब छैन,’ गंगाराम अस्पताल अगाडि भेटिएका बिजेपी समर्थक रामजलन रायले बढो दृढतापूर्वक भने ।

तर बिजेपी समर्थकहरुमा राष्ट्रिय मुद्दा यसपाली नबिक्ने हो कि भन्ने डर पनि उत्तिकै छ । अर्का एक मतदाताले भने, ‘दिल्लीको कुनै राष्ट्रियता हुँदैन । यहाँ मान्छे गरी खान आएका हुन् । यो सबैतिरबाट आएकाको शहर हो । यहाँ कोही स्थानीय छ‌‌ैन । दिल्लीबासीलाई निःशुल्क र सस्तो सुविधा चाहिएको छ । राष्ट्रियता गोली मार्नुस् । सबै गरिब मतदाता आपका छन् । अरुले कसरी जित्लान र खै ?’

बिजेपीको यस्तो आशंका अकारण छैन । अर्का मतदाता मदन सिंह बंगालीसँग भेट भयो । सिलिगुडीका सिंह २४ बर्षदेखि दिल्लीमा छन् । सिटी रिक्सा चलाउँछन् । भन्छन्, ‘मोदी-शाहमा नफरत र हिंसाको भावना छ । हिन्दू-मुस्लिमको नाममा उनीहरु नफरत सिकाउँछन् । केजरीवालको मनमा पाप र हिंसाको भावना छैन । उनी सबैलाई प्रेम र सम्मानको भावनाले हेर्छन् ।’

कानपुरका राजपत राय ट्याक्सी ड्राइभर हुन् । उनी भन्छन्, ‘३७० खारेज होस् कि रहोस् हामीलाई के मतलब । त्यसले हामी गरिबलाई के फरक पर्छ ।’
उडिसाका राजु सिंह १५ बर्षदेखि दिल्लीमा छन् । उनी भन्छन्, ‘मोदी जी ठूलो नेता हुन् । उनको कुरा हामी बुझ्दैनौं । केजरीवाल सानो नेता हो । उनको कुरा हामी जस्तोले पनि बुझ्ने खालको हुन्छ ।’

कांग्रेसले काट्ने भोटले दिल्ली निर्वाचनको परिणाम प्रभावित हुने आंकलन पत्रकारहरु गर्दछन् । कांग्रेसको भोट १० प्रतिशत तल बसे फेरि आम आदमी पार्टीको बहुमत आउने धेरैजसोको आंकलन छ । कांग्रेसले २० प्रतिशतसम्म भोट प्राप्त गर्‍यो भने नतिजा बिजेपीको पक्षमा पनि जान सक्छ ।

मुस्लिम मतदाताहरुले यो कुरा बुझेका देखिन्छ । शफदर गंज चोकमा भेटिएका एक मुस्लिम मतदाता भन्छन्, ‘खासमा म कांग्रेसको समर्थक हुँ तर झाडुमा भोट दिन्छु । नत्र बिजेपीले जित्ने खतरा छ । मोदीले भन्दा बरु झाडुले नै जितोस् ।’

(दिल्ली भ्रमणमा रहेका पंकज राईको डायरी)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय