scheduleबिहिवार चैत्र २७ गते, २०७६

दिल्ली निर्वाचनः यसपटक के होला ‘मोटु भाइ’को रणनीति ?

साझापोस्ट संवाददाता/नयाँ दिल्ली, २२ माघ । अमित शाहको भारतीय राजनीतिमा विचित्र छवि बन्दै गइरहेको छ । उनलाई धेरैले वर्तमान सत्ताको वास्तविक शक्ति अभ्यासकर्ता र मोदीको उत्तराधिकार ठान्न थालेका छन् । दिल्लीका सर्वसाधारण उनलाई ‘मोटु भाइ’ भन्छन् । चोकचोकमा चर्चा सुनिन्छ- आज मोटु भाइ ने क्या कहा ?’

शाह बिजेपीका चुनावी रणनीतिकार तथा स्टार क्याम्पेनर पनि मानिन्छन् । अरु प्रदेशमा उनका चुनावी रणनीति अक्सर सफल हुने गरेका छन् । तर, दिल्लीमा शाह बारम्बार असफल भएका छन् । सन् २०१५ को विधानसभा निर्वाचनमा उनले किरण वेदीलाइ पार्टी प्रवेश नै नगराई मुख्यमन्त्रीको उम्मेदवार बनाए । वेदी अन्ना हजारेको आन्दोलनमा अरिवन्द केजरीवालसँगै थिइन् ।
त्यो निर्वाचनमा बिजेपी ३ सीटमा झरेको थियो । त्यो बिजेपीको लागि लज्जास्पद हार थियो ।

Dish_Home

केन्द्रीय गृहमन्त्रीको पदमा रहेर प्रदेश निर्वाचनमा आप र केजरीवालविरुद्ध खखरो हुन उनलाई सजिलो भएको छैन । तर पनि उनी आक्रामकरुपमा प्रस्तुत हुन्छन् । अटल बिहारी बाजपेयीको युगमा लालकृण्ण अड्वानीको जुन भूमिका थियो- मोदी युगमा त्यो शाहले निभाइरहेका छन् ।

शाहिन बाग आन्दोलन, केही गोलीकाण्ड, नेहरु विश्वविद्यालयमा मास्क गुन्डागर्दी काण्ड र जामिया प्रहरी हस्तक्षेपजस्ता घटनाले दिल्लीको जनमत शाहको बारेमा दुई अतिवाद धारमा बाँडिएको छ । एकाथरीले यी सबै घटना शाहले नै गराएको ठान्छन् भने अर्कोतिर शाहको व्यक्तित्व नष्ट गर्न यस्ता प्रयोजित होहल्ला भएको ठान्दछन् । शाहको भूमिका र व्यक्तित्व निक्कै पेचिलो प्रतित हुन्छ ।

तर बिजेपीवालाहरु यो कुरा स्वीकार गर्न तयार छैनन् । शाह निकट एक कार्यकर्ता भन्छन्- अमितजीलाई यस्ता हल्लाले छुन पनि सक्दैन । विरोधीले जतिसुकै हल्ला गरुन्, देशभित्रको राजनीतिमा हामी पुरै सुरक्षित छौं । विश्व जनमतमा थोरै नराम्रो असर परेको हुन सक्छ । त्यो न्यारेटिभ छिट्टै रिसेट हुनेछ । मोदीजीलाई प्रधानमन्त्री नहुन्जेल अमेरिकाले भिसा दिएन, खै के फरक पर्‍यो ?

किरण वेदीलाई मुख्यमन्त्री उम्मेदवार बनाउँदाको अघिल्लो असफलताले हो वा प्रस्तुत गर्न योग्य उम्मेदवार को अभावले हो, बिजेपी आफ्नो व्यक्तित्व र कार्यक्रम अगाडि सार्नुको साटो केजरीवालको बदनाम गर्ने रणनीति अबलम्बन गरेको छ । उनी केजरीवालको विनम्रता र सरल स्वभावलाइ ढोगीका रुपमा चित्रण गर्दछन् । ‘आपकी नाकामीया’ बिजेपीको मुख्य नारा हो ।

केजरीवालमाथि अर्को आरोप उनी पार्टी भित्र निरंकुश र वान मेन सो तिर लागेको भन्नेछ । त्यसका लागि आप छोड्ने बौद्धिक र सेलिब्रेटीको लामो सूचि सुनाउने गरिन्छ । कवि कुमार विश्वास, पत्रकार आशुतोष, प्रोफेसर आनन्द कुमार, वकिल प्रशान्त भूषण, बौद्धिक क्याम्पेनर योगेन्द यादवदेखि साजिया इल्मी, अलका लम्बासम्मको नाम बिजेपी कार्यकर्ताले कन्ठ पारेका छन् । बिजेपीवाला लोकसभा निर्वाचनमा आप शून्य भएको बताउन बिर्संदैनन्।

तर आपवालाको विश्लेषण फरक छ । आप अभियन्ता संजय बसु भन्छन्- केजरीवालमा डेलिभरी गर्ने क्षमता छ भन्ने जनताले बुझी सके । लोकसभा निर्वाचन फरक हो । दिल्लीको ७ सीटले केन्द्रमा आपको सरकार बन्दैन भन्ने जनतालाई थाहा थियो । भारतीय मतदाता लोकसभा र विधानसभा निर्वाचनमा फरकफरक पार्टीलाई भोट दिने गर्छन् ।

आप र बिजेपी दुवै पार्टीको कार्यालय नजिक-नजिक छ- दिनदयाल मार्गमा । बिजेपी आइडोलग दिनदयाल उपाध्यायको नामबाट सडकको नामाकरण गरिएको छ । बिजेपीको कार्यालय कुनै बहुराष्ट्रिय कम्पनीको मुख्यालय भन्दा भव्य छ । आम आद्मी पार्टीको जिर्ण हुँदै गएको घर । साँघुरो कम्पाउण्डमा पाल टाँगेर आप अभियन्ता भात पकाएर खाँदै हुन्छन् । आपको कार्यशैली नेपालका २० वर्ष अघिका कम्युनिष्टहरूको जस्तो देखिन्छ ।

दिल्ली राजनीतिमा कम्युनिष्टहरूको प्रभाव शुन्य बराबर हुनु आपको उदय पनि एक महत्त्वपूर्ण कारण हो । जवाहरलाल नेहरु विश्वविद्यालयकी छात्रा साहिला रशिद भन्छिन्- भारतमा कम्युनिस्टका २७ समूह छन् । ती आफैं एक अर्कोलाई फासीवादीको आरोप प्रत्यारोप गर्छन् । देशमा साँच्चिकै फासिष्ट उदय भइसक्यो, उनीहरुलाई पत्तो छैन । उनीहरू मार्क्सवाद-लेनिनवाद भन्छन्, त्यो जनता बुझ्दैनन् । आम आदमी पार्टीको नाम पनि सर्वसाधारणले बुझ्ने खालको छ । उसले गरिबले बुझ्ने भाषामा पानी, बिजुली, सरसफाई, शिक्षा, स्वास्थको कुरा गर्छ । आप लेफ्ट पार्टी हैन, तर दिल्लीमा लेफ्टको एजेन्डा आपले लग्यो ।

निर्वाचन हुन ४ दिन बाँकी हुँदा आपले आफ्नो चुनावी पत्र सार्वजनिक गर्‍यो । २८ बुँदे घोषणा पत्रमा दिल्लीलाई पूर्ण प्रदेशको मान्यता दिलाउनेदेखि १० लाख वृद्धवृद्धालाई तीर्थयात्रा गराउने, मेट्रो रेल ५०० किमि विस्तार गरी संसार कै सबैभन्दा लामो मेट्रो रेल लाइनको रेकर्ड राख्नेसम्मका योजना छन् ।

निर्वाचन प्रचार प्रसारमा कांग्रेस अध्यक्ष सोनिया गान्धी कतै देखिन्नन् । उनी बिरामी छिन् । होर्डिङ बोर्डमा भने आमाछोराको तस्वीर छ तर, सडक शोमा दाजुबहिनी राहुल र प्रियङ्कासँगै हुन्छन् । फेब्रुअरी ४ को साँझ उनीहरु रामिया खरोडमा सानो कोणसभामा सम्बोधन गर्दै देखिएका थिए । दिल्लीमा ठूल्ठूला आमसभाको चुनावी संस्कृति समाप्त भएजस्तो लाग्छ । ठूल्ठूला भनिएका नेताहरु २-४ सयका स-साना सभालाई सम्बोधन गर्दै भेटिन्छन् ।

प्रतिष्ठित पत्रकार भरत भूषण भन्छन्- कांग्रेसको मनोवैज्ञानिक हार र शिथिलताले गर्दा दिल्ली निर्वाचन झनै रौनकहीन बन्न पुगेको छ । राहुल-प्रियङ्का ठूलो बोझ बोकाइएका कमजोर गधा जस्तो भएका छन् ।

आफ्नो मुख्य प्रतिद्वन्द्वी कांग्रेसको यस्ता हालत हुँदा पनि बिजेपी सन्तुष्ट हुने आधार छैन । बिजेपीको लागि अर्को पनि प्रतिकुलता थपिएको छ- आर्थिक मन्दी । पत्रकार भुषणको भनाइमा बेरोजगारी विगत ४० वर्षमा सबैभन्दा बढी हुन पुगेको छ । आर्थिक वृद्धि दर निरन्तर ओरालो लाग्दैछ । जिएसटीको कारण साना र मध्यमस्तरका व्यापारी त्रस्त छन् । पत्रकार भूषण भन्छन्- बिजेपीले सामाजिक तन्तु त खलबल्याएकै थियो, आर्थिक तन्तु पनि खल्बल्याएको छ । यस्तो बेला पनि उसले चुनाव जित्ने कल्पना मात्र पनि कहालिलाग्दो हो ।

यो पनि-

दिल्ली विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा जे देखियो

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय