scheduleबुधवार आश्विन ६ गते, २०७८

पहिलो खेलमा ओमानसँग नेपाल पराजित

काठमाडाैं, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको खेलमा ओमानले नेपाललाई १८ रनले हराएको हो ।

ओमान‍ले दिएको १९८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६. ५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो ।

आजको खेलमा नेपालले खराब सुरुवात गरेको थियो । नेपालले सुरुमा नै पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाउन पुगेको थियो ।

मल्लले १२ बलमा १ रनमात्रै जोडेर आउट भएका थिए । उनलाई कालीमुल्लाहको बलमा मोहम्मद नदिमले क्याच आउट गरेका हुन् । त्यस्तै खड्काले १४ बलमा ३ रनमात्रै जोड्न सके । उनलाई बिलाल खानको बलमा सुरज कुमारले क्याच आउट गरेका हुन् ।

नेपालका लागि शरद भेषवाकरले सर्वाधिक रन बनाएका थिए । उनले १०८ बलमा ५ चौकासहित ५५ रन जोडेका थिए । उनलाई अकिब इलियासले आउट गरे ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए । उनलाई मोहम्मद नदिमले एलबिडब्लुमार्फत् आउट गरेका थिए ।

यता विस्फोटक ब्याटिङ गरेका सन्दिप लामिछानेले २७ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्कासहित उक्त रन बनाएका हुन् । उनलाई जीशान मकशूदले आउट गरे ।

विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्कासहित २६ बनाएर आउट भए । उनलाई खबर अलीको बलमा सन्दिप गोउडले क्याच आउट गरे । भण्डारीको रनरेट १०४ थियो । त्यस्तै अविनाश बोहरा र सुसान भारीले समान ८ रन जोडे ।

ओमनका लागि जीशान मकसुदले सर्वाधिक ३ विकेट लिए भने कालीमुल्लाह र बिलाल खानको नाममा २/२ विकेट रह्यो । त्यस्तै अकिब इलियास, मोहम्मद नदिम र खवर अलीले समान १/१ लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।

खराब सुरुवात गरेको ओमानले ५७ रन जोड्दा ५ विकेट गुमाएको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हालेपछि ओमान खेलमा फर्किएको थियो ।

ओमानका लागि गौडले ३३ रनमा आउट भए । तर नदिम अन्तिमसम्म टिकेर अर्धशकसँगै ओमानलाई राम्रो स्कोरमा पुर्‍याएका थिए । उनी ६९ बलमा अविजित रहे ।

त्यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

तर सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् । उनले १० ओभरको बलिङमा ४५ रन खर्चिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय