scheduleआइतवार चैत्र १६ गते, २०७६

चुनावको मुखमा दिल्लीमा ७ दिन (१)

डम्बर खतिवडा

भर्खरै सम्पन्न दिल्ली विधानसभा निर्वाचनको मतदान फेब्रुअरी ८ तारिखमा थियो । हामी फेब्रुअरी २ को बिहान दिल्ली ओर्लिएका थियौं । फेब्रुअरी ७ को साँझ त्यहाँबाट फर्कियौं । अर्थात् दिल्ली विधानसभा निर्वाचनको मुखमा ७ दिन हामी त्यहाँ रह्यौं । हामी अर्थात् म र मेरा दुई युवा मित्रहरु विश्वदीप पाण्डे र पंकज राई ।

यो यात्राका कुनै औपचारिकता थिएनन् । हामी कुनै तालिका वा नियममा बाँधिएका थिएनौं । छिमेकी देश भारतको राजधानी प्रदेशको निर्वाचन, मतदाता मनोविज्ञान, भारतीय राजनीतिका पछिल्लो कडी र प्रवृतिलाई बुझ्ने प्रयास बाहेक अरु केही गर्नु थिएन । हामी स्वच्छन्द हिंड्न, मान्छेहरुसँग भेट्न र कुरा गर्न सक्थ्यौं । अनौपचारिक तरिका नै भुईतहका सत्यहरु बुझ्न उपयोगी हुने रहेछ ।

विश्वकै भीमकाय महानगरमध्ये एक दिल्ली । यसको जनसंख्या विगत २० वर्षमा १ करोड १५ लाख बढेको छ, २ करोड बढी भई सकेको छ । ७ दिनमा त्यसभित्रमा सबै पक्ष, पाटा, चुरो, कुरो बुझ्न सम्भव हुन्थेन । तर, छोटो समयमा हामीलाई धेरैभन्दा धेरै मान्छे भेट्नु थियो । धेरैभन्दा धेरै कुरा बुझ्नु थियो । एयरपोर्टबाट बाहिर निस्कने बित्तिकैदेखि हामी दिल्लीलाई हतार आँखाले नियालिरहेका थियौं ।

Dish_Home

रमाइलो कुरा– दिल्लीको सडक गल्लीमा कतै कुनै चुनावी तुल, ब्यानर, पोष्टर, बाल पेन्टिङ थिएनन् । चुनावले शहरलाई कहिँकतै फोहोर बनाएको थिएन । नत दिल्लीबासीको सामान्य दैनिकीमा कुनै भिन्नता आएको थियो । मुख्य चोकहरुमा स्थायी इलेक्ट्रोनिक होर्डिङ बोर्ड थिए । त्यसमा पार्टीहरुका प्रचार सामग्री अस्थायी रुपमा लगाइएका थिए । चुनावको दिन बिहानसम्म ती सामग्री नगर कर्पोरेसनले हटाइसक्थो रहेछ । न त कतै चर्को माइकिङ थियो, नत ठूला आमसभा र होहल्ला । चुनावको कारण शहरको सामान्य वातावरण र माहौलमा कुनै परिवर्तन थिएन ।

होर्डिङ बोर्डमा ३ पार्टीका मात्र प्रचार सामग्री देखिन्थे । आप, भापजा र कांग्रेस । आपको मुख्य नारा– ‘अच्छे होगा ५ साल, दिल्ली मे तो केजरीवाल’ थियो । भापजाको नारा– ‘कांग्रेसका १५ वर्षका लुट, आपका ५ बर्षका झुठ, अब बिजेपीको भोट’ थियो । कांग्रेसको नारा– ‘वो १५ साल दिल्ली था बेमिसाल, ये ५ साल हो गया बेहाल’ थियो ।

मेरो मनमा पहिलो जिज्ञासा यही उत्पन्न भयो– यी होर्डिङ बोर्डहरु कस्ले कसरी बनाउँछ, चलाउँछ ? पछि हामीले आम आदमी पार्टीका प्रचार विभाग सदस्य संजय बसुसंग यो प्रश्न सोध्दा उनले भने, ‘पार्टीहरुले निजी होर्डिङ बोर्ड बनाउन पाउँदैनन् । कुन चोकमा त्यो राख्ने न नराख्ने अधिकार नगरपालिकाको हुन्छ । नगरपालिकाले त्यस्ता बोर्डहरु निजी कम्पनीलाई ठेक्का लगाएको हुन्छ । पार्टीहरुले चुनावभरिका लागि भाडामा लिनुपर्छ । मूल पार्टीहरुको सर्वदलीय बैठक गरी नगरपालिकाले पार्टीहरुको माग र तिर्ने क्षमताअनुरुप बोर्ड बाँडिदिन्छ ।’

खान मार्केट छेउमा आपका प्रचारकहरु ढाडमा बोर्ड बाँधेर साइकल चलाउँदै थिए । बिपेजीका कार्यकारी अध्यक्ष जेपी अड्डा आउने कार्यक्रम चोकको छेउमा थियो, त्यहाँ मञ्च अगाडि मुस्किलले २०० कुर्सी राखिएका थिए । बाबर रोडमा भेटिएको बिजेपी प्रचारक टोली मुस्किलले ७ जनाको थियो । हाम्रो जस्तो घरदैलो गर्न पनि ठूलो संख्या हिडेर शक्ति प्रदर्शन गर्ने र ठाउँठाउँ भोजभात गर्ने गरेको त्यहाँ देखिएन । गाडीबाट मान्छे ओसारेको ठूलो आमसभा कहिँ कतै देखिएन । यहाँसम्मकी राहुल र प्रियङ्काले सम्बोधन गरेको संगम चोकको सभामा मुस्किलले ३०० जति मान्छे थिए । स-सानो संख्यामा चुनावप्रचार गर्दै हिंड्न कसैले लाज मानेको देखिएन ।

दिल्लीको भौतिक विकास र ठूला संचरनाहरु बेजोड नै लाग्दछन् । सडकहरु सफा छन् । ट्राफिक जाम तुलनात्मक रुपमा कम छ । मेट्रो रेलेको संचरना र सेवा गज्जब छरितो छ । सडकमा जताततै ओभरफ्लाईहरु छन् । ग्रिनरी व्यवस्थापन अद्भूत लाग्छ । एकाध अपवाद छेडेर टोल बस्तीहरु जंगलको बीचमा भएजस्तो लाग्दछ । रुख नउभिएका सडक किनार पाउन गाह्रो छ । यी संरचनाहरु कांग्रेस नेतृ शीला दीक्षितको कार्यकालमा बनेका हुन् भनेर स्वीकार गर्न कसैलाई असजिलो छैन । कांग्रेसले त त्यो भन्ने नै भए । भाजपा र आपका समर्थकमहरु पनि सहजै स्वीकार गर्दछन् ।

हामीमा दोस्रो जिज्ञासा उत्पन्न भयो । यति धेरै भौतिक पूर्वाधार विकासपछि फेरि कांग्रेस नै किन बढारियो ? कांग्रेसको सोच, शासन र सर्वसाधारणका अपेक्षा बीच कहाँनेर तालमेल मिलेन ? अधिकांशको उत्तर एउटै थियो कि ठूला भौतिक पूर्वाधारले मात्र ‘आम आदमी’ लाई प्रभावित गर्न सक्दैन । कांग्रेसले गभर्नेन्सको प्रभावकारिता, डेलिभरि र विकासलाई राजनीतिसँग जोड्ने पार्टी संगठन निर्माणमा जोड दिएन ।

एकातिर ठूल्ठूला विकास, निर्माण हुँदै गए । अर्कोतिर उत्तिकै मात्रमा ठेक्कापट्टा मिलोमतो, कमिसन र भ्रष्टाचारका घटना सार्वजनिक भए । बिजुली र खानी पानीको समस्या विकराल बन्यो । सावर्जनिक शिक्षा र स्वास्थ्यको स्थिति बिग्रियो । कांग्रेस कार्यकर्ताहरुमा सत्ताको उन्माद र दादागिरी देखियो । शिला दीक्षितले कुनै भरपर्दो उत्तराधिकार दिल्लीमा विकास गरिनन् । यिनै मुद्दाले सर्वसाधारणलाई छोयो । सन् २०१३ को अन्ना हजारे आन्दोलनपछि मान्छेले कांग्रेसलाई छोड्दै गए । दिल्ली आप र भाजपामा ध्रुवीकृत भयो ।

हाम्रो मनमा उठेको तेस्रो जिज्ञासा थियो- के आपले यो निर्वाचनमा पनि जित्छ ? आप सन् २०१३ को आन्दोलनको लहरले मात्र आएको हो कि दीगो पार्टी बन्छ ? अधिकांशको उत्तर दिल्लीमा यो चुनाव पनि आपले नै सरकार बनाउँछ, तर सीट अघिल्लो चुनावको भन्दा घट्न सक्दछ भन्ने थियो । आपले फेरि जित्ने प्रश्नमा मान्छे निश्चिन्तझैं थिए । पछि हामीले भेटेका आपमा सामाजिक सञ्जाल प्रमुख अंकित लालले न्यूनतम् ४५ सीटको अपेक्षा गरेका थिए । निर्वाचनको मुखमा कुनै पार्टीले जित्छ भन्ने यति बलियो विश्वास जनधारणामा कमै पाइन्छ ।

आपका सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग

आपको मुख्य सवलता नै अरविन्द केजरिवालको सादगीपूर्ण जीवन, भ्रष्टाचार नियन्त्रण र डेलिभरी क्षमता देखियो । अघिल्लो चुनावका सबै वाचा केजरीवालले पूरा गर्न सकेका छैनन् भन्ने मतदातालाई थाहा छ । तर जति गरेका छन, त्यसप्रति मान्छेमा विश्वास उत्पन्न भएको देखिन्छ ।
यसबीचमा आपले गरेका मुख्य काम के हुन त ?

एक– लोडसेडिङको अन्त्य र २०० युनिटसम्म बिजुली निःशुल्क ।
दुई– सरकारी स्कूलहरुको गुणस्तर सुधार, सरकारी स्कूलहरुमा पनि अंग्रेजीमा पढाई हुने स्थिति सृजना, त्यसमा लागि शिक्षकहरुलाई व्यापक तालिम ।
तीन– खानेपानीको व्यवस्थापामा ठूलो सफलता ।
चार– सार्वजनिक बस सेवामा महिला यात्रीका लागि भाडा निःशुल्क र प्रत्येक बसमा महिला सुरक्षाका लागि एक मार्सलको व्यवस्था ।
पाँच– हरेक टोलमा सरकारी क्लिनिकको स्थापना । आधारभूत स्वास्थ्य सेवा मोहल्ला क्लिनिकबाट दिने व्यवस्था ।
छ– सडक दुर्घटनामा हुने घाइतेलाई जुनसुकै अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने र त्यसको बिल पछि सरकारले शोधभर्ना गर्दिने, घाइतेहरुलाई अस्पताल पुर्‍याउनेहरुलाई पुरस्कारको व्यवस्था । सात– कार्यालयहरुमा हेल्प डेस्कको व्यवस्थापन र सामान्य सेवाग्राहीले तिर्नुपर्ने घुस/रिश्वतको मात्रामा ठूलो गिरावट, दिल्ली प्रशासन भ्रष्टाचारमुक्त छ भन्ने जनविश्वास ।
आपले ५ बर्षमा गरेका मुख्य काम यिनै हुन् ।

भापजाको भनाई भने फरक देखिन्थ्यो । उनीहरु आपले दिल्लीका जनतालाई स्थानीय मुद्दामा मात्र केन्द्रित गरेर राष्ट्रिय चिन्तनबाट विमुख गराएको ठान्छन् । निर्वाचनमा भापजाले मुख्य ३ एजेण्डा उठाएको देखिन्थ्यो ।
एक– संविधानको धारा ३७० को खारेजी ।
दुई– तीन तलाकमाथि पावन्दी ।
तीन– पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका गैरमुस्लिम शरणार्थीलाई भारतीय नागरिकता दिने व्यवस्था ।
यहाँ भापजाले दिल्ली केन्द्रित कुनै मुद्दालाई जोड गरेको देखिँदैन ।

कांग्रेस समर्थकहरुमा भने एक प्रकारको द्विविधा र निराशा थियो । शहरमा त्यस्ता धेरै सर्वसाधारणहरु भेटिन्थे जो आफूलाई कांग्रेस समर्थक भन्थे । कांग्रेसको विचार र सिद्धान्तमा विश्वास गर्थे । तर भोट आपको झाडु चिन्हमा दिने बताउँथे । केजरीवालको आग्रह पनि त्यही थियो । उनले सार्वजनिक अपिलमै मातदातालाई आ-आफ्नो पार्टी नछोड्न भोट मात्र आपलाई दिन आग्रह गरेका थिए ।

एफएममा बजिरेहको केजरीवालको सन्देशमा भनिएको थियो– तपाई भाजपा समर्थक हो, भापजामै बस्नुस् । कांग्रेस समर्थक हो, कांग्रेस मै बस्नुस् । अरु कुनै पार्टी समर्थक हो, आफ्नै पार्टीमा बस्नुस् । म कसैलाई पार्टी छोड्न र आपमा प्रवेश गर्न भन्दिनँ । तर, भोट आपलाई दिनुस् । विचारधारालाई हैन, कामलाई दिनुस् । तपाईको एक भोटको बलमा दिल्लीमा अझै धेरै गर्न सकिन्छ ।

सामान्यतया पार्टी प्रणालीमा यस्तो सन्देश दिइँदैन । नेपालमा त यस्तो सायद कल्पना पनि गरिन्नँ । तर, दिल्लीमा मुद्दा र स्थितिअनुसार मतदाताले भोट फेरिरहँदा रहेछन् ।

गत लोकसभा निर्वाचनमा दिल्लीका ७ वटै निर्वाचन क्षेत्रमा भाजपाले जितेको छ । यदि यो विधानसभा निर्वाचनमा पनि त्यही भोटिङ ट्रेन्ड रहने हो भने कम्तीमा ४० सीट भाजपाले जित्नु पर्ने हुन्छ । परिणाम आउन अझै एक दिन बाँकी छ, तर सायद त्यस्तो हुने छैन ।

किन त ?
किनकी दिल्लीका मतदाता आइडोलजीका आधारमा मात्र भोट हाल्दैनन् । सञ्जय बसुका शब्दमा ‘राष्ट्रिय चुनावमा आपले ६ सीट नै जिते पनि केजरीवाल प्रधानमन्त्री हुँदैनन् भन्ने मतदातालाई थाहा थियो । दिल्लीमा भने मान्छे केजरीवाललाई गुमाउन चाहँदैनन् ।’

कांग्रेस प्रवक्ता राजिव त्यागीसँग

कांग्रेसका राम्रा कार्यकर्ताले पनि यो यथार्थलाई सहजै स्वीकार गरे । पछि हामीले भेटेका कांग्रेसका प्रवक्ता राजिव त्यागीले भने, ‘आपसंग कुनै आइडोलजी छैन भन्ने मतदातालाई थाहा छ । आइडोलजीको दृष्टिकोणले मान्छे कांग्रेसबाट धेरै टाढा भएका छैनन् । तर मुद्दामा आपलाई भोट दिन्छन् । फेरि हामीसंग केजरीवाललाई सिधै टक्कर दिने व्यक्तित्व पनि दिल्लीमा बनेन् वा हामीले बनाउन सकेनौं । यो चुनाव हाम्रो तयारी पनि राम्रो हुन सकेन ।’

भोट फेर्न पार्टी नै फेर्नु पर्ने वा पाप ठानिने नेपाली मनोविज्ञानसँग तुलना गर्दा दिल्ली मतदाताको सोच फरक पाइयो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय