scheduleशुक्रवार चैत्र २८ गते, २०७६

ओस्कार अवार्ड जितेर इतिहास रचेको कोरियाली फिल्म ‘प्यारासाइट’मा के छ ?

एजेन्सी, २७ माघ । दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गरेको छ । योसँगै ‘प्यारासाइट’ सर्वोत्कृष्ट चलचित्रको पुरस्कार पाउने गैरअंग्रेजी भाषाको पहिलो चलचित्र बनेको छ ।

‘प्यारासाइट’ले सर्वोत्कृष्ट चलचित्रसँगै ४ वटा ओस्कार अवार्ड पनि जितेको छ । बेस्ट इन्टरनेशनल फिचर फिल्म, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट डाइरेक्टरको पुरस्कार पनि ‘प्यारासाइट’लाई प्रदान गरिएको छ । फिल्मका निर्देशक बोङ जुन होलाई सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिएको हो ।

Dish_Home

ओस्कार पुरस्कार जित्न सफल पहिलो कोरियाली चलचित्र ‘प्यारासाइट’ गत वर्षको मे महिनामा रिलिज भएको थियो । यो ब्ल्याक कमेडी थ्रिलर फिल्म हो । रिलिज भएपछि फिल्मले विश्वभर १६७.६ मिलियन अमेरिकी डलर कमाएको थियो ।

यस्तो छ ‘प्यारासाइट’को कथाः

एउटा निम्न मध्यम वर्गीय परिवारको कहानीलाई ‘प्यारासाइट’मा उतारिएको छ । फिल्मको कथाले धनी र गरिबबीचको परम्परागत संघर्षको अवधारणालाई निषेध गर्न खोजेको छ । यस्तो छ कथा-

किम परिवारका चारजना सदस्य एउटा अपार्टमेन्टको भुँइतल्लामा बस्छन् । उक्त परिवारमा बाबु कि टाइक, आमा चुङ सूक, छोरी कि जेयोङ र छोरा कि वू छन् । अस्थायी काम गरेर जीवनयापन गरिरहेका उनीहरूलाई बिहान बेलुकाको छाक टार्न निकै मेहेनत गर्नुपर्छ ।

एकदिन कि वूका साथी मिङ हिउक किम परिवारलाई भेट्न आउँछन् । अध्ययन गर्नका लागि विदेश जाने तयारी गरिरहेका हिउकले उनीहरूलाई धनलाभको प्रतिक मानिने स्कोलर्स रक (परम्परागत रुपमा मूल्यवान मानिने ढुंगा) पुरस्कार स्वरुप दिन्छन् । डिनरपछि हिउकले आफूले पढाउँदै आएकी पार्क परिवारकी छोरी डाहाइलाई कि वूले पढाउँदा राम्रो हुने सल्लाह दिन्छन् ।

कि वूले आफू विश्वविद्यालयमा पढ्दै गरेको भनेपछि डाहाइलाई पढाउने काम पाउँछन् । त्यसपछि किम परिवारका सदस्यले असम्बन्धित तर दक्ष कामदारको रुपमा पार्क परिवारसमक्ष आफूहरूलाई प्रस्तुत गर्छन् । छोरी कि जेयोङले आफूलाई चर्चित आर्ट थेरापिस्टको रुपमा प्रस्तुत गर्छिन् र पार्क परिवारका चन्चले साना छोरा डा सोङलाई परामर्श दिने काम पाउँछिन् ।

एकदिन कि जेयोङले पार्क डोङ इकको कारको पछिल्लो सिटमा आफ्नो अन्डरवेयर राख्छिन् । कारको सिटमा अन्डरवेयर देखेपछि उनले आफ्ना ड्राइभरले कारभित्रै यौनसम्पर्क गरेको आरोप लगाउँदै हटाउँछन् । र, आफ्ना पूर्व निजी सहयोगी समेत रहेका कि टाइकलाई नयाँ ड्राइभर बनाउँछन् ।

यता चुङ सूकले पार्कको घरमा हाउसकिपर बन्छिन् । उनले पार्क डोङ इककी श्रीमति पार्क यओङ ग्यो क्षयरोग भएको भनेर मनाउँछिन् । र यसअघि हाउस किपरको रुपमा काम गरिरहेकी तर आरुको एलर्जी हुने महिलाको ठाउँमा आफै हाउसकिपर हुन्छन् ।

दुबै परिवारबीच सम्बन्ध नजिकिँदै जान्छ । कि वूले डाहाइलाई पढाउने क्रममा दुबैजनाबीच प्रेम सम्बन्ध जोडिन्छ ।

एक दिन डा साङको जन्मदिन मनाउन पार्क परिवारका सबै सदस्य क्याम्पिङमा जान्छन् । आलिसान घरमा एक्लै भएपछि किम परिवारका सदस्यले घरभित्र निकै रमाइलो गर्छन् ।

जन्मदिन मनाउन भन्दै पार्क परिवारका सबैजना बाहिर गएका बेला यसअघि हाउसकिपर रहेकी मुन ग्याङ सोही घरमा आउँछिन् । उनले घरमुनि रहेको एउटा गोप्य बंकरसम्म पुग्ने प्रवेशद्वार देखाउँछिन् । निकै चर्को दरमा ऋण दिँदै आएका मुन ग्याङका श्रीमान ४ वर्षभन्दा बढी समयदेखि उक्त बंकरमा लुकेर बसेका हुन्छन् ।

तर मुन ग्याङले किम परिवारको वास्तविकता थाहा पाएपछि अवस्था भद्रगोल बन्छ । उनले यदि आफ्ना श्रीमानबारे पोल खोलेमा आफूले पनि पार्क परिवारसामु उनीहरूको वास्तविकताको पोल खोलिदिने धम्की दिन्छिन् ।

यता मौसम चिसो हुँदै गएपछि जन्मदिन मनाउन गएका पार्क परिवारका सबै सदस्य निर्धारित समयपूर्वै नै घर फर्किन्छन् । अचानक घर फर्केको देखेपछि किम परिवारका सबै सदस्य घर सफा गर्न लाग्छन् । त्यत्तिनै बेला मुन ग्याङ र उनका श्रीमान गेउन साइको किम परिवारसँग झगडा र कुटाकुट हुन्छ । कुटाकुटमा मुन ग्याङ गम्भीर घाइते हुन्छिन् । किम परिवारले घाइते ग्याङ र उनका गेउन साइलाई भुँइतलामा लगेर थुन्छन् ।

चुङ सूकले खाना ल्याएपछि श्रीमति पार्कले उनलाई केही वर्ष पहिला आफ्ना छोराले भयंकर कुराको अनुभव गरेको बताउँछिन् । श्रीमति पार्कले आफ्ना छोरा डा सोङले त्यतिबेला भुँइतलाबाट गेउन साइको भूत देखेको बताउँछिन् । त्यत्तिनै बेला किम परिवारका अन्य सदस्य कफी टेबलमुनि लुकिरहेका हुन्छन् । पार्क डोङ इकले आफ्नी श्रीमतिलाई कि टाइकको गन्ध आएको भनेर गुनासो गर्छन् र उक्त कुरा कि टाइकले सुन्छन् ।

सोही दिन किम परिवारका सदस्य आफ्नै घर फर्किन्छन् तर आँधीपछि आएको बाढीमा उनीहरूको घर डुबानमा परेको हुन्छ । उक्त रात उनीहरू बाढीबाट प्रभावित अन्य मानिससँगै एउटा व्यायामशालामा बस्छन् ।

अर्को दिन श्रीमति पार्कले छोरा डा. सोङको जन्मदिनका लागि भव्य भोजको आयोजना गर्छिन् । कि वू स्कलर्स रक लिएर बंकरतिर जान्छन् जहाँ मुन ग्याङ मृत भेट्टिन्छिन् । त्यसपछि गेयोन साइ भँइतलाबाट निस्केर उनीलाई ढुंगाले हिर्काउँछन् ।

आफ्नी श्रीमति मुन ग्याङको मृत्युको बदला लिन भन्दै गेयोन साइले किचेनको चक्कुले कि जेयोङको छातीमा प्रहार गर्छन् । यो देखेर भोजमा आएका पाहुना त्रसित हुन्छन् ।

एक्कासी गेउन साइलाई देखेपछि डा सोङ भँइमा ढल्छन् । त्यसपछि अवस्था झन अस्तव्यस्त हुन्छ । गेयोन साइ र चुङ सूकबीच भिडन्त हुन्छ र सोही क्रममा चुङ सूकले गेउन साइको शरीरभित्र एउटा स्क्रु घुसाइदिन्छिन् । कि टाइकले निरन्तर अपमान र गाली गरिरहेका पार्क डोङ इकलाई चक्कु प्रहार गरेर त्यहाँबाट भाग्छन् ।

केही हप्तापछि ढुंगा प्रहारबाट बेहोस भएका कि वू कोमाबाट ब्युँझिन्छन् । उनलाई र आमा चुङ सूकलाई ठगी गरेको आरोपमा कानुनी निगरानीमा राखिन्छ । घाइते भएकी कि जेयोङको निधन हुन्छ । श्रीमान पार्कको हत्या गरेपछि बेपत्ता भएका कि टाइकलाई प्रहरीले खोजिरहेको हुन्छ ।

अन्त्यमा, ‍कि वूले जर्मन परिवारले किनेको पार्कको घर हेर्ने कामलाई निरन्तर जारी राख्छन् र धिपधिप बलिरहेको मोर्सी कोडमार्फत एक सन्देश पाउँछन् । उक्त सन्देश बंगरमा बसिरहेका बाबु कि टाइकले पठाएका हुन्छन् । कि वूले आफ्ना बाबुलाई एउटा पत्र लेख्छन् । उनले आफ्नो पत्रमा घर किन्न पुग्ने गरी धेरै पैसा कमाउने, आफ्ना बाबुलाई मुक्त गर्ने र परिवारको पुनर्मिलन गराउने प्रतिज्ञा गर्छन् ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय