scheduleबिहिवार श्रावण २९ गते, २०७७

अन्तरिक्षलाई रणभूमि बनाउँदै शक्तिराष्ट्रः रुसी सेटलाइटले अमेरिकी सेटलाइटको पिछा गर्‍यो

एजेन्सी, २८ माघ । दोस्रो विश्वयुद्धपछि अमेरिका र रुसले एकअर्कालाई चीर प्रतिद्धन्द्धीको रुपमा लिएका थिए । सैन्य, वैचारिक, आर्थिक तथा वैज्ञानिक क्षेत्रमा शीतयुद्ध भर होडबाजी गरेका यी दुई राष्ट्रबीचको प्रतिस्पर्धा र टकराव सन् १९९० पछि भने केही मत्थर भएको थियो ।

तर विगत केही वर्षयता रुसले आफूलाई पुनः विश्व रंगमञ्चमा शसक्त रुपमा प्रस्तुत गरिरहेको छ । हाल चीन र रुस जस्ता उदयीमान राष्ट्रले हरेक क्षेत्रमा रहेको अमेरिकी प्रभुत्वलाई चुनौती दिन थालेका छन् । शक्तिराष्ट्रले जल, जमिन र आकाशमा मात्रै होइन,अन्तरिक्षमा पनि प्रतिस्पर्धा गर्न थालेका छन् ।

अन्तरिक्षमा रहेको एक रुसी भू-उपग्रह (सेटलाइट) ले अमेरिकी सेटलाइटको पिछा गरेको समाचारबाट यो कुरा प्रस्ट हुन्छ ।

अमेरिकी अन्तरिक्ष फौजका कमाण्डरले आफ्नो सेटलाइटलाई रुसी भू-उपग्रहले पिछा गरेको खुलासाबाट रुस र अमेरिकाबीच अन्तरिक्षमा पनि प्रतिस्पर्धा र टकराव हुन लागेको संकेत गर्छ ।

सोमबार अमेरिकाको स्पेश कमाण्ड तथा फौजका प्रमुख जनरल रोन रेमोण्डले एक विज्ञप्ति जारी गरी रुसी सेटलाइटले आफ्नो एक सेटलाइटको पिछा गरेको बताएका छन् । रुसी सेटलाइटले ‘अस्वभाविक र बाधा पुर्‍याउने’ खालको व्यवहार गरेको रेमण्डको भनाइ छ ।

‘गत नोभेम्बरमा रुसले एउटा सेटलाइट प्रक्षेपण गरेको थियो र लगत्तै उक्त सेटलाइटबाट अर्को सेटलाइट प्रक्षेपण गरियो’, रेमण्डले विज्ञप्तिमा भनेका छन्, ‘दुबै सेटलाइटले अमेरिकी सरकारको एक सेटलाइट नजिकै गतिविधि गरिरहेका छन् ।’ सन् २०१७ मा रुसी सरकारले परिचालन गरेका ‘इन्स्पेक्टर सेटलाइट’ को जस्तै गतिविधि गरेको उनको भनाइ छ ।

अन्तरिक्षमा देखिएका रुसी गतिविधिले रुस पनि अन्तरिक्षलाई ‘रणभूमि बनाइरहेको मुलुकको’ सूचीमा रहेको रेमण्डले बताए । ‘अन्य क्षेत्रमा हुने यस खाले गतिविधिलाई जोखिमपूर्ण गतिविधिको रुपमा हेरिन्छ’, उनले भने, ‘यो गतिविधि अस्वभाविक र बाधा पुर्‍याउने खालको छ जसले अन्तरिक्षमा खतरनाक अवस्था निम्त्याउन सक्छ ।’

‘हालैका गतिविधि चिन्ताजनक छन् र यसले अन्तरिक्षमा जान चाहने/सक्ने कुनै पनि जिम्मेवार राष्ट्रको व्यवहार झल्काउँदैनन्’, रेमण्डले थपे ।

सन् २०१७ मा प्रक्षेपण गरिएको रुसी सेटलाइटबाट तीव्र गतिको अर्को सेटलाइट अन्तरिक्षमा पठाउने कार्यले सैन्य गतिविधिको झल्को दिएको पनि उनले बताए ।

लगत्तै अर्को वर्ष अमेरिकाले निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा यो विषय उठाएको थियो ।

अमेरिकी सेटलाइटलाई पिछा गरेको रुसी सेटलाइटबाट डिसेम्बरमा दोस्रो सेटलाइट प्रक्षेपण गरिएको रुसी समाचार माध्यम टासलाई उदृत गर्दै सिएनएनले लेखेको छ । सेटलाइट प्रक्षेपणपछि रुसी रक्षा मन्त्रालयले भनेको थियो- ‘ यो प्रयोगको उद्देश्य स्वदेशी सेटलाइटको प्राविधिक अवस्थाको मूल्याङ्कन गर्ने कार्यलाई जारी राख्नु हो ।’

अन्तरिक्ष फौजका कमाण्डरले पहिलो पटक यस्तो विवरण दिएपछि अन्तरिक्षमा आफ्ना प्रतिद्धन्द्धीले गरिरहेको व्यवहारबाट अमेरिका चिन्तित छ भन्ने प्रस्ट हुन्छ ।

रुससहितका शक्तिराष्ट्रले अन्तरिक्षमा समेत चुनौती दिन थालेपछि १९४७ पछि गत डिसेम्बरमा अन्तरिक्षलाई केन्द्रमा राखेर अमेरिकाले नयाँ सैन्य विभाग (Space Force) नै गठन गरेको छ ।

ट्रम्प प्रशासनले सोमबार मात्रै स्पेस फोर्स तथा अन्तरिक्षमा हुने अन्य क्रियाकलापका लागि १८ बिलियन अमेरिकी डलर बजेट माग गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय