scheduleआइतवार आषाढ़ २१ गते, २०७७

चुनावको मुखमा दिल्लीमा ७ दिन (२)

डम्बर खतिवडा

जस्तो कि यस श्रृंखलाको पहिलो किस्तामा मैले लेखेको थिएँ- आपका सामाजिक सञ्जाल विभाग प्रमुख अंकित लालले कम्तीमा ४५ सीट जित्ने विश्वास व्यक्त गरेका थिए ।

अंकित हामीले भेटेको अन्तिम व्यक्ति थिए । हामीले भनेका थियौं, ‘तपाईहरुलाई अग्रिम बधाई तथा शुभकामना ।’ त्यसपछि सिधै एयरपोर्ट हान्निएका थियौं ।

तर परिणम हेर्दा आपको आशाभन्दा झन धेरै विश्वास मतदाताले गरे । आपले ६२ सीट जितेको छ । भापजा ३ बाट ८ बढेर पुगेको छ । अरु सबै २०१५ को निर्वाचनमा जस्तै शून्य भएका छन् । आपले ५३. ६% लोकप्रिय मत पाएको छ । सामान्यतया संसदीय व्यवस्थामा यस्तो हुँदैन । संसदीय प्रणालीमा सीटको बहुमत ल्याउनु ठूलो कुरा हैन तर भोटको बहुमत ल्याउनु साँच्चै ठूलो कुरा हो ।

तर, यहाँनेर ध्यान दिन योग्य पक्ष के छ भने भाजपाको लोकप्रिय मत कम हैन । भाजपाले ३८.५% मत ल्याएको छ । भाजपाले जनता दल युनाइटेड र लोक शक्ति पार्टीसंग गठबन्धन गरेको थियो । त्यो भोट समेत जोड्दा करिब ४०% हुन्छ । संसदीय लोकतन्त्रमा ४०% लोकप्रिय मत प्राप्त गर्ने पार्टीलाई कमजोर भन्न मिल्दैन । कांग्रेसले ४.२६% मत मात्र पाएको छ । अर्थात् आपको जीतमा कांग्रेस मतदाताको सहयोग छ भन्ने प्रष्ट छ । कांग्रेसले १०% सम्म भोट पाएको भए निर्वाचन नतिजामा ठूलो भिन्नता आउन सक्थ्यो ।

करिब ९ महिना अघि मात्र भएको लोकसभा निर्वाचनमा ७ सीटमा ७ वटै सिट जितेको भाजपाले सायद यस्तो कल्पना गरेको थिएन । दक्षिण एशियाली बहुदलीय लोकतन्त्रमा पार्टी निष्ठा निक्कै बलियो हुन्छ । भारतका अरु प्रदेशमा पनि त्यही देखिन्छ । तर दिल्ली अपवाद जस्तो छ । यहाँका मतदाताले राष्ट्रिय निर्वाचनमा भाजपा र प्रादेशिक निर्वाचनमा आपलाई भोट दिने नयाँ ‘ट्रेन्ड’ बनाएका छन् । यस्तो कसरी सम्भव भयो होला ? यी जिज्ञासाहरु शान्त गर्न हामीले दुई मान्छे रोजेर भेट्न चाहेका थियौं । योगेन्द्र यादव र आँशुतोष ।

योगेन्द्र एकदमै व्यस्त थिए । उनी महाराष्ट्रदेखि उत्तरप्रदेशसम्म सिएए विरुद्धका जनप्रर्दशनमा लागि रहेका थिए । उनको ‘जय किसान अभियान’ ले यतिखेर भारतीय लोकतन्त्रलाई पुनर्जागृत गरिरहेको छ । जुन दिन हामीले उनलाई भेट्नु थियो, त्यही दिन जन्तरमन्तरमा उनी प्रर्दशनमा सामेल हुनु थियो । तसर्थ, हामीले उनलाई डिस्टर्भ गर्नु ठीक ठानेनौं ।

द हिन्दू की वरिष्ठ पत्रकार सुहासिनी हैदर र कान्तिपुरका दिल्ली प्रमुख सुरेशराज न्यौपानेलाई हामीले यादवको अभियान र त्यसको प्रभावबारे सोधेका थियौं । उनीहरुको प्रतिक्रिया समान थियो– ‘यो अभियान तुरुन्तै नयाँ राजनीतिक शक्ति बन्छ भन्न सकिन्नँ । तर एक नयाँ आशाको दियो त्यसले बाल्दैछ ।’

यादवको व्यस्ततालाई विचार्दै हामी नोयडा हान्निएका थियौं । आँशुतोषबाट धेरै कुरा बुझ्ने अवसर प्राप्त भयो । आपका आन्तरिक पक्षलाई बुझ्न आँशुतोष सबैभन्दा उपयुक्त पात्र हुन । उनी दिल्लीको नयाँ बौद्धिक पुस्तामा स्थापित पत्रकार तथा लेखक हुन् । सन् २०१३ को आन्दोलन र आपको गठनबारे उनले किताब नै लेखेका छन् । आपको प्रवक्ता र राष्ट्रिय सचिव रहिसकेका आँशुतोष सन् २०१४ को लोकसभा निर्वाचनमा दिल्लीको मुटु मानिने चाँदनी चोक निर्वाचन क्षेत्रमा आपको उम्मेद्वार थिए र उनले दोस्रो भोट ल्याएका थिए ।

आँशुतोषले भने, ‘राजनीति परसेप्सनको खेल पनि हो । सत्य असत्य आफ्नो ठाउँमा होला । तर मोदी र केजरीवाल दुवैलाई दिल्लीबासी खुबै मन पराउँछन् । राष्ट्रिय चुनाव भयो भने नरेन्द्र मोदीलाई सम्झिन्छन् । विधानसभा निर्वाचन भयो भने अरविन्द केजरीवाललाई सम्झिन्छन् । जनताको हृदयमा दुवैप्रति सम्मानको भावना छ ।’

त्यस्तो मनोविज्ञान मतदातामा कसरी तयार भयो होला ? हाम्रो जिज्ञासामा आँशुतोष भन्छन्, ‘दुवैको व्यक्तिगत छवी जनतामा राम्रो छ । त्यो पार्टीको भोट हैन, मोदीपछिको भापजा के हुन्छ भन्न सकिन्नँ । केजरीवालपछिको आप के हुन्छ, त्यो पनि भन्न सकिन्नँ । दुवै इमान्दार व्यक्ति हुन् । सन्त र सादगी स्वभावका छन् । भ्रष्टाचार गर्दैनन् । नातावाद र परिवारवाद गर्दैनन् भन्ने जनतालाई परेको छ । झट्ट हेर्दा दुवै त्यस्तै देखिन्छन् ।’

आँशुतोषसंग हाम्रो अर्को जिज्ञासा थियो, ‘आप गठन गर्नुको उद्देश्य के थियो ? त्यो कतिको पूरा भो ? दक्षिण एशियामा वैकल्पिक राजनीतिको भविष्य कस्तो देखिन्छ ? आफैंले बनाएको पार्टीले तरक्की गरिरहेको छ, किन आप छोडेर फेरि पत्रकारितामा फर्किनु भो ?’

उनले यी प्रश्नको गम्भीर र सटिक उत्तर दिने प्रयास गरे, ‘आप गठन गर्नुको उद्देश्य कुनै एक प्रदेशमा केन्द्रित भएर सत्ता चलाउनु थिएन । यदी यही मात्र उद्देश्य हुन्थ्यो भने केजरीवालजीले गरेको काम ठीकै हो । दिल्ली प्रदेशले तुलनात्मकरुपमा राम्रो पार्टी र सरकार पायो तर देशले के पायो ? आपको आन्दोलनबाट देशले केही पाउन सकेन । हामी देशकै लागि विकल्प दिन चाहन्थ्यौं, त्यहाँ नेर अरविन्दजीसंग हाम्रो कुरा मिलेन । त्यसपछि मैले आप छोडेँ ।’

तर केजरीवाल निकट आपका नेताहरु भने आँशुतोषको भनाईलाई सत्य ठान्दैनन् । केजरीवाल दिल्लीमा मात्र सीमित नभएको, हरियाणा, पञ्जाव र गोवामा उत्तिकै मेहनत गरेको ठान्दछन् । उनीहरु भन्छन्, ‘राष्ट्रिय पार्टी बनाउन भनेर केजरीवाल मोदीसंग चुनाव लड्न बनारस गए तर परिणाम आएन । आज भारतका जति पनि पार्टीहरु छन्, कांग्रेस र बिजेपीलाई छोडेर सबैले एक/एक वटा प्रदेश कब्जा जमाएर बसेका छन् । तर आप कम्तीमा पञ्जावमा प्रमुख प्रतिपक्षी छ । गोवा विधानसभामा आपको प्रतिनिधित्व छ । अरु प्रदेशका जनता दिल्लीको परीक्षण के हुन्छ भनेर हेर्दै छन् । यो चुनाव पनि हामीले जितेपछि प्रदेशमा जनमुखी सरकार बन्न सक्दछन् भन्ने पुष्टि हुन्छ र आप अरु प्रदेशमा फैलिने आधार बन्न सक्दछ ।’

दक्षिण एशियामा वैकल्पिक राजनीतिको भविष्यबारे आँशुतोषको प्रतिक्रिया निक्कै कटु थियो । उनी भन्दै थिए, ‘राजनीतिको काम कि त मान्छेको मानसपटल बदल्नु हो कित मान्छेको मानसपटलअनुरुप चल्नु हो । राजनीतिमा तेस्रो बाटो हुँदैन । वैकल्पिक राजनीतिले यी दुईमध्ये गर्न खोजेको के हो, त्यो प्रष्ट हुनु पर्दछ । यदि मानसपटल बदल्ने हो भने लामो धैर्यता र त्याग चाहिन्छ । यदि मानसपटलअनुरुप चल्ने हो भने वैकल्पिक राजनीतिका नाममा नयाँ प्रकारको पपुलिज्म मात्र जन्मिन्छ । भारतको उदाहरणमा भन्ने हो भने गान्धी, नेहरु र बाजपेयीले लामो संघर्ष र त्यागबाट जनताको मानसपटल बदले, अरु मानसपटल अनुरुप चले । केजरीवालले लामो संघर्ष, त्याग र समर्पणको बाटो लिनु होला भन्ने विश्वास मलाई छैन ।’

अन्ततः उनले एक रोचक उक्ति भनेका थिए, ‘हामी अरविन्दजीलाई भारतको नयाँ अकबर बनाउन हिडेका थियौं, तर उनी बहादुर शाह जफरको भूमिकामा सीमित हुन राजी भए ।’

हामीले यो यात्रामा केही पत्रकारहरु तथा स्तम्भकारहरु भेटेका थियौं । जस्तै- प्रशान्त झा, भारत भूषण, सुहासिनी हैदर, सुरेशराज न्यौपाने, अतुल कुमार ठाकुर आदि । बौद्धिक जगतको चिन्ता भने बढी आर्थिक मुद्दामा थियो । त्यहाँ ‘मोदी शासनको ६ वर्षमा अर्थतन्त्रको स्थिति’ शीर्षक केन्द्रित बहस हुन थालेको छ । सबैलाई थाहा छ– विमुद्रीकरणदेखि यता भारतको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । आर्थिक बृद्धिदर घटेको छ । बेरोजगारी बढेको छ । निर्यात घटेको छ । यहाँसम्मकी अर्थमन्त्री निर्मला सीतारमणका श्रीमान पराकल प्रभाकर भापजा आर्थिक नीति तथा असफलताका एक कुट आलोचक हुन् ।
अधिकांश विश्लेषकहरु यही ठान्छन् कि भारतीय राजनीतिमा भापजाको अवनति आर्थिक मुद्दाबाट प्रारम्भ भएको छ । मोदी शासनकालको ६ वर्षमा आर्थिक मन्दी निरन्तर बढ्दै जानुको कारण के हो भनेर बुझ्न भाजपा ‘थिङक ट्यांक’हरुलाई समेत हम्मेहम्मे परिरहेको छ । पत्रकार प्रशान्त झा ‘विमुद्रीकरणले व्यापारलाई निरुत्साहित गर्नु र जिएसटीले सानो आकारको ग्रामीण अनौपचारिक अर्थतन्त्र संकुचन गर्नु’ यसको मुख्य कारण हुन सक्ने ठान्दछन् ।

विमुद्रीकरणपछि जिएसटी त्यहाँ ठूलो आर्थिक नीतिगत मुद्दा बनेको छ । भारत विविधताको महासागर हो । सामाजिक, सांस्कृतिक, भाषिक, जातीय तथा धार्मिक हिसाबले मात्र हैन, अर्थतन्त्रको ढाँचा र चरित्र, आर्थिक नीति र कर प्रणालीका हिसाबले पनि त्यहाँ विविधता थियो । वस्तु तथा सेवासम्बन्धि अधिकांश कर अधिकार प्रदेश सरकारहरुसँग थियो । केन्द्रले भन्सार र आयकरमा जोड दिन्थ्यो । जिएसटीले वस्तु तथा सेवा करमा समेत देशव्यापी एकरुपता ल्याउने प्रयास गरेको छ ।

तर, त्यसका प्रभाव अर्थतन्त्रका फरकफरक क्षेत्र र फरकफरक प्रदेशमा फरकफरक तरिकाले परेको छ । कतै सकारात्मक पनि छ । भारतीय विश्लेषकहरुका अनुसार अधिकांशतः नकारात्मक छ । मुख्यतः यसले ग्रामिण क्षेत्रमा अर्थतन्त्रको नियोजन गर्दैछ । कर प्रणाली र प्रशासनबारे पर्याप्त ज्ञान र शिक्षा नभएका साना करदाताहरु जिएसटीलाई झन्झटको रुपमा लिन्छ्न । सरकारले आफ्नो सामान्य आर्थिक जीवनमा अनावश्यक हस्तक्षेप गरेको ठान्दछन् । तर, मोदी सरकार जिएटी लागू गरेरै छोड्ने मनस्थितिमा छ । दिल्ली विधानसभा निर्वाचनलाई यी आर्थिक मुद्दाले पनि केही हदसम्म प्रभाव पारेको ठानिन्छ ।

दिल्ली निर्वाचनको अर्को ठूलो मुद्दा हो– शाहिन बाग प्रोटेस्ट । पत्रकार भारत भूषणले भनेका थिए– शाहिन बाग प्रोटेस्ट समकालीन भारतको एक जबरजस्त अध्याय हो । त्यहाँ जानु होला । जाने इच्छा थियो तर गएनौं । केही स्थानीय मित्रहरुले नजानु राम्रो भने । चुनावको मुखमा भएका गोली काण्ड र सुरक्षाको प्रश्न मात्र हैन, सरकारी गुप्तचरी र मर्यादाका दृष्टिकोणले त्यो उचित नहुने ठानियो । तर, जता गए पनि शाहिन बागको चर्चाबाट जोगिन सम्भव थिएन ।

शाहिन बाग मुस्लिम बहुल क्षेत्र हो । फेब्रुअरी ७ मा त्यहाँ प्रदर्शन हुन थालेको ५४ दिन पुगेको थियो । मूलतः मुस्लिम महिलाले यो प्रदर्शनको नेतृत्व गरेका थिए । उनीहरु सडकमा पाल टाँगेर दिनरात त्यहाँ बस्थे । शाहिन बागको मुख्य माग सिएएमा मुस्लिममाथि गरिएको विभेद अन्त्य होस् भन्ने थियो । शाहिन बागको चर्चा हुँदा एक बरिष्ठ बिजेपी कार्यकर्ताले भनेका थिए, ‘शाहिन बागले भाजपालाई केही पनि घाटा गर्दैन । बरु चुनावको अन्तिम दिनसम्म पुग्दा हिन्दु–मुस्लिम ध्रुविकरण झन बढ्छ र भापजालाई फाइदै फाइदा हुन्छ ।’
तर, चुनावी परिणामले त्यस्तो भएको देखिएन । बरु एन्टी–बिजेपी ध्रुवीकरण बन्यो । अरु सबै पार्टीका मतदाताले पनि आपलाई भोट दिए । शहरमा रिक्सावालहरुसंग कुरा गर्दै हिंड्दा त्यसको प्रष्ट संकेत पाइन्थ्यो । साथै मुस्लिम–गैरमुस्लिम सर्वसाधारणहरु विजेपीको दिग्बिजय दिल्लीमा यसपटक पनि रोकियोस् भन्ने नै चाहन्थे ।

अधिकांश त्यस्ता मान्छे भन्थे, ‘हामी आपका समर्थक वा सदस्य हैनौं । तर भोट आपलाई नै दिन्छौं । नभए भोट काटिन्छ र बिजेपी निस्कन्छन् । यिनीहरुले जिते भने अरु केही काम हुन्न । हिन्दु–मुस्लिम भनेर छिमेकी-छिमेकी बीचमै झगडा मात्र लगाइदिन्छन् ।’

यसले के देखाउँछ भने शाहिन बाग प्रोटेस्ट केवल मुस्लिमको मात्र हैन, त्यसमा धर्मनिरपेक्षतामा विश्वास गर्ने हिन्दूहरुको पनि ठूलो समर्थन छ । दिल्लीमा कांग्रेसलगायत अरु पार्टीहरु आपले जितेकोमा भन्दा भापजा हारेकोमा खुशी होलान् । जस्तो कि छिमेकी उत्तर प्रदेशमा राम्रो प्रभाव भएको समाजवादी पार्टीले दिल्लीमा कतै पनि उम्मेद्वारी दिएको थिएन । उसले आपलाई नैतिक समर्थन गरेको थियो र उत्तरप्रदेशको चुनावमा आफूहरुलाई त्यस्तै समर्थन प्राप्त हुने आशा राखेको छ ।

यसको अर्थ यो हैन कि आपवालाहरु धार्मिक प्रश्नमा बिल्कुलै तटस्थ छन् । चुनाव प्रचारको अवधिमा मोदीले व्रत बस्ने र पुजा गर्ने अनेक प्रकरण गरेजस्तो केजरीवाल पनि बारम्बार हनुमान मन्दिर जान्छन् र हनुमान चालिसा वाचन गर्दछन् । उनी बारम्बार ‘भगवान’ शब्द प्रयोग गर्दछन् । यसरी केजरीवाल हिन्दूहरुको मनोविज्ञानको नजिक बस्ने प्रयास गर्दछन् भने अर्कोतिर भाजपाले उपयोग गर्न खोजेको मुद्दालाई इग्नोर गर्दछन् । यसरी उनले दुवै समुदायको बीचमा आफूलाई सन्तुलन मिलाउने गर्दछन् ।

जहाँसम्म दिल्ली राजनीतिबाट नेपालले सिक्ने र प्रेरणा लिने कुरा छ, त्यसको अन्तर्यमा जान जरुरी छ । सहतमा लोककल्याणवाद र सुशासन अनुमोदन भयो भनेर हुँदैन । दिल्लीमा आपको उदय हुनुको अन्तर्यमा निक्कै रोचक कारण छन्, जो नेपालमा छैनन् ।

जस्तै–
एक– भारत संघीयता व्यवस्थापन भइसकेको मुलुक हो । त्यहाँ प्रदेश सरकारको आय र कार्य क्षेत्र प्रष्ट छ । तर नेपालमा यो बहस बाँकी नै छ । जस्तो कि बिजुली पानी फ्रि गर्न नेपालमा प्रदेश सरकारले सक्दैनन् । त्यो अधिकार नै प्रदेश सरकारसँग छैन । न त नेपालमा वित्तिय संघीयता नै छ । तसर्थ, नेपालमा संघीयताको सही मोडेल र वित्तिय संघीयताको प्रश्न हल नहुन्जेल दिल्ली मोडेल आकर्षित हुँदैन ।

दुई– भारतमा हरेक प्रदेशमा प्रादेशिक पार्टी छन् । जस्तै, बिहारमा आरजेडी र जेडियु, महाराष्ट्रमा शिव सेना, उत्तर प्रदेशमा एसपी र बिएसपी, तामिल नाडुमा डिएमके र अडिएमके, बंगालमा तृणमूल कांग्रेस आदि । जनताले आपलाई दिल्लीको प्रादेशिक पार्टी मात्र स्वीकार गरेका हुन्, राष्ट्रिय पार्टी हैन । नेपालमा प्रादेशिक पार्टीहरुको यस्तो प्रचलन बनिसकेको छैन ।

तीन– भारतमा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको समय फरकफरक र चुनावी मुद्दा पनि फरक-फरक हुन्छन् । नेपालमा यी सबै चुनाव एकैपटक जस्तो एउटै ह्वीममा गराइन्छ । त्यसले मतदातालाई हरेक निर्वाचनमा फरक मुद्दा र पार्टीबारे सोच्ने अवसर दिँदैन । नेपालमा पनि स्थानीय, प्रादेशक र संघीय निर्वाचन फरकफरक समयमा र कम्तीमा एक वर्षको भिन्नतामा गराउने प्रचलन हुन जरुरी छ । अनि मात्र फरक स्थान र प्रदेशका लागि फरक पात्र र पार्टी रोज्ने मतदाता मनोविज्ञान बन्न सक्दछ ।

चार– दिल्लीमा आपको उदय ठूला भौतिक पूर्वाधार निर्माणपछिको प्रवृति हो । नेपालमा अझै विकास, निर्माणका ठूला पूर्वाधार बनिसकेका छैनन् । तसर्थ, ससाना मानवीय विकाससंग जोडिएका मुद्दामा मात्र केन्द्रित हुने गरी ठूला योजना र विकास निर्माणको मोह नेपाली मतदातामा मरिसकेको छैन । मानवीय विकास र सुशासनका मुद्दामा आपमा जुन प्रकारको ‘टु दि पोइन्ट’ कुरा भन्ने क्षमता छ, त्यसको विपरित नेपालका वैकल्पिक भनिने पार्टीहरु अझै ‘अब्सट्र्याक’ मा छन् । शिक्षा, स्वास्थ्य र सुशासन भनेर मात्र हुन्न, त्यो क्षेत्रमा गर्न चाहेको सुधार के कस्तो हो, प्रष्ट भन्न सक्नु पर्दछ ।

पाँच– आप सामाजिक सञ्जालमा मात्र सीमित छैन । उनीहरु असाध्यै तल ग्रास रुटमा गएर काम गर्दछन् । नेपालमा विकल्प दिन चाहने पार्टीका कार्यकर्ताले अझै धेरै मेहनत र दुःख गर्न जरुरी छ । आप ग्लेमर र सेलिब्रटीबाट आएको पार्टी हैन, जो नेपालमा बुझिन्छ । त्यहाँ पनि पार्टी गठन हुँदा केही सेलिब्रेटीहरु थिए, अधिकांशले पार्टी छोडी सके । अहिले आप ग्रासरुट क्याडरहरुको पार्टी हो । केजरीवाल आफै असाध्यै सरल जीवन बाँच्छन, त्यही प्रकारको मेहनत र दुःख गर्दछन् ।

क्रमश …

यो पनि-
चुनावको मुखमा दिल्लीमा ७ दिन (१)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय