scheduleबुधवार फाल्गुन ७ गते, २०७६

क्रिप्टो एजीमार्फत् सिआईएले दशकौंदेखि विश्वभर जासुसी र निगरानी गरेको खुलासा

एजेन्सी, २९ माघ । अमेरिकाको गुप्तचर संस्था सिआईए र जर्मन गुप्तचर संस्था बिएनडी मिलेर दशकौंदेखि अन्य मुलुकमाथि जासुसी र निगरानी गरेको खुलासा भएको छ ।

एक स्विस इनक्रिप्सन कम्पनीमार्फत् सिआईए र जर्मनीको गुप्तचर संस्था बिएनडीले विश्वका अन्य सरकारको गोप्य कुराकानीमाथि निगरानी र जासुसी गरेको द रसिया टुडेले जनाएको छ ।

निगरानी र जासुसी गर्ने उद्देश्यले दुवै गुप्तचर संस्थाले स्विटजरल्याण्डको इनक्रिप्सन कम्पनी क्रिप्टो एजीलाई किनेको र कम्पनीका उत्पादनमा जोखिमपूर्ण कुरा (backdoor vulnerabilities) राखेको समाचारमा उल्लेख छ ।

दोस्रो विश्वयुद्धताका स्थापना गरिएको क्रिप्टो एजीले विश्वका झण्डै १२० मुलुकमा सञ्चार/विद्युतीय सन्देश इनकोड (बुझ्न सहयोग गर्ने) गर्ने उपकरणहरू उपलब्ध गराउँदै आएको छ । तर सन् १९७० मा सिआईए र तत्कालीन पश्चिम जर्मनीको विदेशी गुप्तचर संस्था बिएनडीले गोप्य रुपमा उक्त कम्पनी किनेका थिए ।

तर वाशिङ्टन पोष्ट र जर्मनीको पब्लिक ब्रोडकास्टिङ कम्पनी जेडिएफलले गरेको संयुक्त अनुसन्धानबाट आफ्नो नियन्त्रणमा कम्पनी आएपछि क्रिप्टो एजीका उपकरण प्रयोग गरी सिआईए र बिएनडीले आफ्ना दुश्मन र सहयोगी राष्ट्र दुवैमाथि जासुसी र निगरानी गरेको खुल्न आएको छ । सिआईएको गोप्य दस्तावेजका आधारमा वाशिङ्टन पोष्ट  र जेडिएफले उक्त अनुसन्धान गरेका थिए ।

सिआईएले आफ्ना गोप्य दस्तावेज र विवरणमा दशकौंसम्म गरिएको जासुसी र निगरानीलाई ‘इन्टेलिजेन्ट कू अफ द सेन्चुरी’ (शताब्दीकै जासुसी कू) भनेर प्रशंसा गरेको छ । उक्त जासुसी कारबाहीलाई सुरुमा ‘थेसारस’ र पछि ‘रुबिकन’ नामाकरण गरिएको थियो ।

दोस्रो विश्वयुद्धलगत्तै क्रिप्टो एजीले सिआईए र बिएनडीसँग सम्बन्ध स्थापित गरेको थियो । तर सन् १९७० मा दुवै गुप्तचर संस्थाले ५ मिलियन अमेरिकी डलरमा क्रिप्टो एजी किनेका थिए । त्यसपछि दुवै मिलेर क्रिप्टो एजीका सबै क्रियाकलाप (हाइरिङ डिसिजन, सेल्स टार्गेट, डिजाइनिङसहित) माथि नियन्त्रण गरेका थिए । साथै गुप्तचर संस्थाको मात्रै पहुँच हुने गरी गोप्य ब्याकडोर डिजाइन गरेका थिए ।

क्रिप्टो एजीका उपकरण प्रयोग गरिरहेका इरान, भारत, पाकिस्तान, भ्याटिकन तथा विभिन्न ल्याटिन अमेरिकी मुलुकलाई गुप्तचर संस्थाको संलग्नताबारे केही थाहा थिएन ।  ८० को दशकमा अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले विश्लेषण गरेका ४० प्रतिशत कुटनीतिक केबल तथा सरकारी ट्रान्समिशनहरू क्रिप्टो एजीका उपकरणमार्फत् प्रवाह गरिएको थियो । यसबाट जासुसी कार्यबाट सिआईए र बिएनडीले निकै ठूलो परिणामको जानकारी हात पारेको प्रस्ट हुन्छ ।

सिआईएले आफ्नो ९६ पृष्ठ लामो गोप्य विवरणमा रुबिकनको सफलतालाई प्रशंसा गरेको छ ।

चीन सोभियत महासंघले क्रिप्टो एजीमाथि आशंका गर्दै शीतयुद्धभर उक्त फर्मले उत्पादन गरेका उपकरण प्रयोग गरेका थिएनन् । तर अन्य मुलुकमा प्रयोग भइरहेका उपकरणबाट विश्वका महत्वपूर्ण घटनाबारे गोप्यरुपमा सिआईए र बिएनडीले जानकारी प्राप्त गरिरहेका थिए । सन् १९७९ मा भएको बन्दी संकटभर इरानी नेतामाथि जासुसी गरिएको थियो भने फकल्याण्ड युद्धताका बेलायतलाई अर्जेन्टिनी सेनाबारे सूचना उपलब्ध गराइएको थियो ।

५० वर्षको अवधिमा क्रिप्टो  एजीले करोडौं डलर कमाएको थियो । फर्मले कमाएको नाफा सिआईए र बिएनडीले बाँडेका थिए ।

सन् १९९३ मा क्रिप्टोका एक कर्मचारी इरानमा पक्राउ परेपछि उनको रिहाइका लागि जर्मन गुप्तचर संस्थाले धरौटीस्वरुप ठूलो रकम दिनुपरेपछि बिएनडीले जासुसी कार्यबाट हात झिकेको थियो । त्यसपछि सिआईएले बिएनडीको  शेयर समेत किनेर सन् २०१८ सम्म निगरानी र जासुसी कार्य जारी राखेको थियो । दुई वर्षअघि सिआईएले कम्पनीको सम्पत्ति बेचेको समाचार पनि बाहिरिएको थियो ।

सिआईएले सम्पत्ति बेच्ने बेलासम्म सस्तो इन्टरनेट इनक्रिप्टसन प्रविधिको उदय भएसँगै क्रिप्टो एजीको दबदबा कमजोर हुँदै थियो । तर सिआईएले उक्त कम्पनीसँगको सम्बन्ध पूर्णरुपमा अन्त्य गरेको वा नगरेको भनेर प्रस्ट भइसकेको छैन ।

यता हाल क्रिप्टो इन्टरनेशनल नामाकरण गरिएको उक्त कम्पनीका वर्तमान अध्यक्षले चाहिँ गुप्तचर संस्थासँगको संलग्नता अस्वीकार गरेका छन् ।

‘क्रिप्टो इन्टरनेशनलले कहिल्यै पनि सिआईए वा बिएनडीसँग सम्बन्ध गाँसेको थिएन’, अध्यक्ष एन्ड्रियास लिन्डेले वाशिङ्टन पोष्टसँग भने, ‘यदि तपाईंले भनेको कुरा सही हो भने म, मेरो परिवार, कम्पनीका कर्मचारी तथा ग्राहकले आफूहरूमाथि धोका भएको महसुस गर्नेछन् ।’

सिआईए र बिएनडीले दशकौंसम्म कम्पनीको सहारा लिएर विश्वभर जासुसी र निगरानी लिएको समाचार आएपछि स्विस सरकारले मंगलबार नै यसबारे छानबिन सुरु गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय