scheduleबुधवार फाल्गुन ७ गते, २०७६

बिजुली नचाहिने गमला फ्रिज : कसरी बनाउने ?

सुरेन्द्र वस्ती/वेदप्रसाद खतिवडा

फलफूल तथा तरकारी बालीहरु भिटामिन, प्रोटिन, खनिज पदार्थ तथा शक्तिको महत्वपूर्ण स्रोत हुन् । सामान्यतया ताजा फलफुल तथा तरकारीहरुमा पानीको मात्रा अधिक हुन्छ र ताजा र रहरलाग्दो देखिन्छ । फलफुल तथा तरकारीहरु टिपिसकेपछि पनि निरन्तर जीवन प्रक्रिया पूरा गरिरहन्छन् । जस्तै यिनीहरु श्वासप्रश्वास गर्दछन भने यसबाट वाष्पिकरण निरन्तर भईरहन्छ । यस्ता प्रक्रियाहरु भइरहनु भनेको फलफूल तथा तरकारीहरुको ताजापन, पौष्टिक तत्वको मात्रा र समग्रमा गुणस्तरमा ह्रास आउनु हो । तर ति नियमित प्रक्रियाहरुको मात्रा र दर मुख्य रुपमा नजिकको वातावरणको तापक्रम र सापेक्षिक आद्रतामा निर्भर गर्दछ ।

सुरेन्द्र वस्ती/वेदप्रसाद खतिवडा

यसअर्थमा तापक्रम र सापेक्षिक आद्रताको नियमनबाट गुणस्तरको ह्रास हुनबाट बचाउन सकिन्छ । उदाहरणका लागि फलफूलको वाष्पिकरण हुनु भनेको यसको तौलमा कमी आउनु हो । यस अर्थमा वाष्पिकरणबाट उडेको पानीको मुल्य र बस्तुको मूल्य उही हो । तसर्थ फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि जतिसक्दो छिटो चिस्याउन सकियो भने यसको समग्र गुणस्तरलाई बढी भन्दा बढी कायम राख्न सकिन्छ ।

सामान्यतया एउटै सापेक्षिक आद्रता भएको अवस्थामा तापक्रममा १० डिग्रीको वृद्धि भयो भने श्वासप्रस्वाश प्रक्रिया करीब दोब्बर हुन जान्छ भने गुणस्तरमा ह्रास तिव्र हुन्छ । भुईंकाफलको सन्दर्भमा कुरा गर्ने हो भने हरेक फल टिपेर चिस्याउने समय हरेक १ घण्टा ढिलो हुन पुगेमा करिब १० प्रतिशतले कुहिने दरमा वृद्धि हुन्छ ।

यस लेखमा आज हामी नेपालको सन्दर्भमा सुहाउँदो एवं बिजुली तथा अन्य बाह्य शक्तिको प्रयोगबिना नै फलफूल तथा तरकारीबालीलाई चिस्याई यसको गुणस्तरमा हुन सक्ने क्षति न्यूनिकरणका बारेमा चर्चा गर्नेछौं । यसका लागि भान्सामा दैनिक प्रयोगका लागि गमला फ्रिज तथा किसान वा साना खुद्रा तरकारी व्यापारीका लागि केही ठूलो क्षमताको शून्य शक्ति शीत भण्डार निर्माणका बारेमा चर्चा गर्नेछौं ।

आजको अंकमा भने हामी गमला फ्रिजको बारेमा चर्चा गर्नेछौ भने आगामी हप्ताको लेखमा केही ठूलो क्षमताको शुन्य शक्ति शीत भण्डार निर्माणका बारेमा चर्चा गर्नेछौं ।

गमला फ्रिज बनाउने तरिका
यो फ्रिज पानीको वाष्पिकरणको सामान्य सिद्धान्तमा आधारित छ जसअनुसार जुन वस्तु वा सतहबाट वाष्पिकरण भएर पानी बाहिर निस्कन्छ त्यसले उक्त वस्तुलाई चिसो बनाउँछ । नेपालमा बिजुलीको अभाव तथा चर्को विद्युत कटौतीको सन्दर्भमा यो प्रविधि लाभदायक हुने र भान्छामा दैनिक रुपमा किनेका सागसब्जी र फलफूल नओइलाइकन राख्न सकिन्छ । यसको निर्माणमा खासै ठूलो प्राविधिक ज्ञान पनि आवश्यक पर्दैन । यसका लागि आफ्नो आवश्यकताअनुसारको साइजको गमला (एउटा सानो र एउटा ठूलो), बालुवा र पानी आवश्यक पर्दछ । यसको निर्माणका लागि निम्न चरणहरु अपनाउनुपर्छ :

क. आफ्नो आवश्यकताअनुसारको साइजको गमला (एउटा सानो र एउटा ठूलो) व्यवस्था गर्ने । ठूलो गमलाको पिँधको प्वाल बन्द गरिसकेपछि करिब ३ अम्मल जति माटो नमिसिएको शुद्ध बालुवा राख्ने । त्यसपछि सानो गमला ठूलो गमलाभित्र राख्ने । (यसमा सानो गमला ठूलो गमलाभित्र राख्न सकिने हुनुपर्छ र यि दुई गमलाको बीचमा करिब १ देखि ३ अम्मलसम्मको ग्याप हुनुपर्छ । गमलाको पिँधमा भएको सबै प्वाल पानी बाहिर जान नसक्ने गरी बन्द गर्नुपर्छ । यसका लागि गमला बनाउनेलाई कुनै पनि प्वाल नभएको बनाउन लगाउन पनि सकिन्छ) ।

ख. अब यी दुई गमलाको बिचको खाली रहेको भागमा पनि शुद्ध बालुवा राख्ने । दुईवटा गमलाको माथिल्लो भाग एउटै सतहमा आउनुपर्छ । यसरी राखेको बालुवा सानो गमलाको घाँटीघाँटीसम्म आउनुपर्छ ।

ग. दुईवटा गमलाबीचको भागमा राखिएको बालुवापूर्णरुपमा नभिजेसम्म चिसो पानी राख्ने । यसरी पानी राख्दा बालुवाले पानी सोस्न सक्ने दरमा राख्ने ।
घ. त्यसपछि रुमाल वा कपडा चिसो पानीमा भिजाएर भित्रि गमलाको मुख ढाक्ने गरी करिब एक घण्टा सम्म राख्ने । यसले गर्दा भित्री गमलाको तापक्रम घट्न जान्छ ।

ङ. भित्री गमला चिसो भइसकेपछि कपडा निकाल्ने र भित्री गमलामा तरकारी फलफूल र सागसब्जी राख्ने र भित्री गमलालाई माटोबाट नै बनाएको ढकन वा बिर्कोले बन्द गर्ने ।

च. बालुवामा चिस्यान कायम गरिरहन हरेक बिहान र बेलुकी चिसो पानी राखीदिने ।

छ. गमला फ्रिजलाई सुक्खा तथा खुला हावा खेल्ने ठाउँमा राखीदिने र बालुवामा भएको पानीलाई वाष्पीकरणका माध्यमबाट उडाउनका लागि सहज वातावरण बनाइदिने र कसै गरी पनि उक्त प्रक्रियालाई नरोकीदिने ।

यसरी भित्री गमलाको तापक्रम करिब मौसम र स्थान अनुसार करिब ५ देखि १० डिग्रीसम्म कम हुन जान्छ भने सापेक्षिक आद्रता करिब ८० प्रतिशत भन्दामाथि हुन जान्छ र यस गमला फ्रिजमा राखिएको तरकारी सागसब्जी र फलफूल लामो समयसम्म नओइलाइकन ताजा राख्न सकिन्छ ।

सामान्यतया यस्ता फ्रिजमा सागसब्जी, काउली, बन्दा, धनियाँ, हरियो लसुनप्याज, गाँजर, मुला, सिमीबोडी, तथा सबै प्रकारका फलफूल राख्न सकिन्छ । यसको बनावटमा सरलता, न्युन प्राविधिक ज्ञानको आवश्यकता र कम खर्चमा बनाउन सकिने भएकाले ३ घण्टाको समयमा निर्माण गर्न सकिन्छ ।

चित्रः गमला फ्रिज निर्माणका चरणहरु (चित्र साभारः http://www.wikihow.com/Make-a-Pot-in-a-Pot-Refrigerator)
थप जानकारीका लागि http://www.appropedia.org/Zeer_pot_refrigeration_(design) वा https://en.wikipedia.org/wiki/Pot-in-pot_refrigerator का साथै  http://www.wikihow.com/Make-a-Pot-in-a-Pot-Refrigerator मा हेर्न सक्नुहुनेछ ।
क्रमशः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय