scheduleआइतवार चैत्र १६ गते, २०७६

तपाईलाई थाहा छ बहादुर कोलम्बसको यो अर्को रुप ? पत्याउनै मुस्किल लुकेका यथार्थ

काठमाडौं । क्रिस्टोफर कोलम्बस एउटा ऐतिहासिक व्यक्ति हुन् र उनी आफ्नो उच्चकोटीको साहस तथा दृढताका लागि प्रख्यात पनि छन् । तर यस प्रकारका गुणले भौतिक सम्पत्ति संकलनका लागि उनले गरेको बर्बर यात्राका कारण एउटा समुदाय नै लोप भएको तथ्यलाई लुकाउन सक्दैनन् । हामीले उनको गुणगान गाउँदा वा कोलम्बस दिवसमा उनलाई सम्झिरहँदा के उनी हाम्रो सम्मानका लागि योग्य छन् त भनेर कहिल्यै विचार गरेका छौ ?

कोलम्बस एउटा कुशल समुन्द्री यात्री थिए जसले एसिया पत्ता लगाउने उद्देश्यले गरिएको यात्राका क्रममा सान्ता मारिया तथा अन्य २ वटा साना पानी जहाजको मद्दतले हिन्द महासागर पार गरेका थिए । एसिया जान हिडेका उनी र उनका साथी सन् १४९२ अक्टोबर १२ मा नयाँ विश्व वा अमेरिकामा संयोगवश उत्रिएका थिए । यति लामो र कठिन यात्राको एउटै मात्रै सपना वा लक्ष थियो । त्यो लक्ष्य भनेको स्पेनका राजा रानीका लागि सम्पत्तिको दीर्घकालीन स्रोत, त्यसमा पनि विशेषगरी सुन, पत्ता लगाउने र त्यसको आधार खडा गर्ने थियो ।

Dish_Home

यस्तो काम गरेबापत कोलम्बसलाई १० प्रतिशत नाफा दिइने, नयाँ विश्वको गभर्नर बनाइने र समुन्द्रको एडमिरल जस्तो सम्मानित पद दिइने भनिएको थियो । अहिले बाहामास भनिने द्वीपमा आउने बित्तिकै उनी र उनका साथीको जम्माभेट आरावक्स भन्ने जातिसँग भएको थियो । मानव इतिहासको यो महत्वपूर्ण क्षणमा त्यहाँ पुगेका कोलम्बसले उक्त आदिवासी समुदायका बारेमा २ वटा मुख्य जानकारी प्राप्त गरे । पहिलो , उनीहरु निकै सरल तथा विश्वासिला थिए । र दोस्रो उनीहरुले सुनका गहना लगाउँथे । आरावक्स समुदायको भविष्य निकै दयनीय हुँदैछ भन्ने भाव कोलम्बसको डायरीमा लेखिएका यी शब्दले व्यक्त गर्दछन्-
उनीहरुसँग हतियार छैन र हतियारबारे उनीहरुलाई केही जानकारी नै छैन । जब मैले उनीहरुलाई तरवार दिए तब उनीहरुले अन्जानमा नै धारमा समाते अनि तरवारले उनीहरुको हात काट्यो । उनीहरुसँग फलाम पनि थिएन । उनीहरुका भाला बाँसले बनेका थिए । उनीहरु असल दास हुन सक्दथे । हामी ५० जनाले उनीहरुलाई सजिलै आफ्नो कब्जामा लिन सक्दथ्यौं र हामीले जे भन्यो त्यही गर्न उनीहरुलाई बाध्य पार्न सक्दथ्यौं ।

क्यारिबियनमा पहिलो पटक उत्रँदैं गर्दा कोलम्बस र उनका साथीहरु

पन्ध्रौं शताब्दीको युरोपमा नीजि सम्पत्तिबारेको धारणा तथा भौतिक सम्पत्ति जम्मा गर्ने कार्य निकै व्यापक र चारैतर्फ फैलिएको थियो । आफू एउटा स्वतन्त्र ठेकेदार भएको कारण पनि आफूले पत्ता लगाएको नयाँ ठाउँमा भएको असिमित आर्थिक सम्भाव्यतालाई कोलम्बसले राम्रोसँग बुझेका थिए ।

इतिहासको ठीक यही विन्दूमा कोलम्बसको अद्वितीय साहस एक्कासी क्रुरतामा बदलिन सुरु गरेको थियो । आफ्नो व्यक्तित्वमा आएको यो परिवर्तनलाई स्पेनिश राजारानीको आकांक्षा जोगाइराख्न उनीहरुलाई लेखेका कयौं नोटमा पनि उल्लेख गरिएको थियो । एउटा नोटमा उनले ‘राजारानीलाई जति सुन आवश्यक पर्दछ त्यति सुन उपलब्ध गराउने र जति दासदासी माग गरेपनि आफूले ल्याउन सक्ने’ प्रतिज्ञा समेत गरेका थिए ।

त्यसपछि लगत्तै उनी र उनका मानिसले केही आरावक्सलाई अपरहण गरेर उक्त क्षेत्रमा रहेका सुनका अन्य खानी वा स्रोतबारे जानकारी दिन बाध्य पारेका थिए ।

अत्याधिक मात्रामा आधुनिक हतियार तथा घोडासहित कोलम्बस तथा उनका साथीहरु पछि क्युवा तथा हिस्पानिओला (अहिलेको डोमिनिकन रिपब्लिक तथा हाइटी) नामाकरण गरिएको द्वीपमा आइपुगे । त्यहाँ आएपछि सुन सजिलै र व्यापकरुपमा उपलब्ध भएका कारण हत्या, बलात्कार, लुट तथा दासत्वको एउटा लामो प्रक्रियालाई शुरु भयो र यो अमानवीय प्रक्रियाले मानव इतिहासको बाटोलाई नै एउटा नयाँ मोड दियो ।

बार्टोलोमे डे ला कासास नामका एकजना क्याथोलिक पादरीले कोलम्बसको डायरीलाई सार्ने क्रममा उनले आफूले देखेको हिंसाबारे लेखेका थिए । भावी पुस्ताले यस्तो अपराधलाई नदेख्ने हुन्कि भन्ने चिन्ताले ती पादरीलाई निकै सताएको थियो । यस कारण पनि ‘इन्डिजको इतिहास’ नामक पुस्तक श्रृंखलामा कोलम्बसले मच्चाएको आतंकको राजबारे विस्तार गरेका थिए । एक ठाउँमा उनले यस्तो लेखेका छन्-

इण्डियनसहित यो द्वीपमा ६० हजार मानिस मात्रै बाँकी थिए । यसको कारण के थियो भन्दा सन् १४९४ देखि १५०८सम्मको अवधिमा ३० लाख भन्दा बढी मानिस युद्ध, दास व्यापार तथा विस्फोटक पदार्थका कारण ज्यान गुमाएका थिए । अब आउने पुस्ताले यसलाई विश्वास गर्न सक्दछन् त ? आफैंले देखेको यो कुरालाई लेखिरहँदा मलाई पनि विश्वास गर्न गाह्रो भइरहेको छ ।

यी शब्दलाई पढ्दा कोलम्बसको सहयोगमा स्पेनिश साम्राज्यले गरेको नरसंहारलाई पाठकले सजिलै बुझ्न सक्दछन् । त्यस्तै आदिवासी मानिसको बसोबास भएका द्वीपलाई दासत्व तथा हिंसामार्फत् ध्वस्त पार्ने उद्देश्य स्पेनिश साम्राज्यको थियो भन्ने पनि प्रष्ट हुन्छ । यस्तो क्रियाकलाप गरेर स्पेनले युरोपमा भएको आफ्नो राजनीतिक तथा आर्थिक वर्चश्वलाई अझ व्यापक बनाएका थिए । केही वर्षमा नै कोलम्बस तथा उनको डफ्फाले क्यारिवियन द्धीपमा बस्ने आदिवासी समुदायलाई नाश गरेका थिए ।

प्रत्येक वर्षको १२ अक्टोबरमा मनाइने कोलम्बस दिवस हाम्रो प्राज्ञिक वर्ग, शिक्षक तथा राजनीतिज्ञमा रहेको बौद्धिक बेइमानीको एउटा प्रमाण हो । यो दिन अहिले इतिहासलाई चोख्याउने र झूटलाई सत्य भनेर प्रचार गर्ने एउटा वार्षिक कार्य नै बनेको छ । सन् १९३७ बाट नै अमेरिकामा कोलम्बस दिवसलाई औपचारिक रुपमा नै राष्ट्रिय दिवसका मनाउन थालिएको थियो । तर हवाई, नेभाडा, ओरेगन तथा साउथ डाकोटाजस्ता राज्यमा भने यसलाई मनाइदैन ।

कोलम्बसको चिहानलाई बोकेर सेभिल चर्चमा लगिदैं

कोलम्बस दिवस मनाउने अन्य राज्यले उनलाई युरोपबाट हिडेपछि अन्जानमा क्यारिबियन सागरमा आएका एउटा उच्चकोटीका समुन्द्रीयात्री भनेर मुक्तकण्ठले प्रशंसा गरेको देखिन्छ । तर माथि उल्लेखित तथ्यका आधारमा कोलम्बसलाई हिन्द महासागर हुँदै गरिएको दास व्यापारका एकजना संस्थापकको बिल्ला भिराइ दिंदा ठीक हुन्छ जस्तो लाग्दछ । तर यो अप्रिय सत्यलाई अहिले इतिहासको पृष्ठभूमिमा धकेलिएको छ ।

कैयौं दशकदेखि हामीले आफैंलाई विज्ञ भनेर घोषणा गरेका मानिसबाट कोलम्बसको देन (मुख्यगरी नयाँ संसार पत्ता लगाएको उनको उपलब्धी) लाई स्विकारेको सुनेका छौं । तर यसो गरिरहँदा त्यस्ता मानिसले कोलम्बसले गरेको चरम हिंसाको मात्रालाई पूर्णरुपमा बेवास्ता गरेका छन् । यो सबै कुरामा रहेको अर्को लाज लाग्दो कुरा भनेको संयुक्त राज्य अमेरिकासहित पश्चिमी गोलार्द्धमा रहेका मानिसलाई यस प्रकारका झूटलाई विश्वास गर्न विभिन्न कुरा सिकाइएको वा जानीजानी गलत शिक्षा दिइएको छ ।

छोटकरीमा भन्नुपर्दा इतिहासलाई पुर्नलेखन गर्न सकिँदैन । तर हामीसँग भएको तथ्यका आधारमा हाम्रा शिक्षक, राजनीतिज्ञ तथा अन्यलाई हाम्रो साझा इतिहाससँग सम्बन्धित कुरामा भने अझैपनि अध्यारोमा नै रमाएकोमा भने उनीहरुलाई आलोचना गर्न भने मिल्दैन । वास्तवमा जब मानिसले कोलम्बसकाबारेमा सही कुरा थाहा पाउन थाल्दछन् तब उनीहरुले इतिहासको त्यो तथ्यलाई बाहिर ल्याउन गरिएका अन्य प्रयासलाई समर्थन गर्न शुरु गर्ने छन् भन्ने मान्यता राख्दा उचित हुन्छ ।

यस प्रकारका इमान्दार चिन्तनलाई डेनभर तथा मिनियापोलिस जस्ता राज्यमा प्रष्ट देखिन्छ । यी राज्यले कोलम्बस दिवसको सट्टा उनले गरेको अपराधका पीडितको सम्मानमा अक्टोबर १२ मा ‘आदिवासी जनता दिवस’ मनाउने कार्यमा अग्रणी भूमिका खेलिरहेका छन् ।

पक्कैपनि ग्यालिलियो ग्यालिली, सेन्ट फ्रान्सिस, दाँते वा लियोनार्डो दा भिन्सीको योगदानको पक्षमा सबैले बहस गर्न सक्दछन् । प्रायः अमेरिकीले आफ्नो साझा इतिहासमा गौरव गर्दछन् तर अबको कर्तव्य भनेको शिक्षा मार्फत् विगतका गल्ती सच्याउने र समृद्ध तर झूटले भरिएको इतिहासबारे मानिसलाई छर्लङ्ग पार्ने हो । वास्तविक कोलम्बसबारे एकछिन चिन्तन गर्नु भनेको अमेरिका नमुना राष्ट्रका रुपमा कति विकास भएको छ भनेर सहीरुपले बुझ्ने पहिलो पाइला हो ।
(ओयन म्याकरम्याकद्वारा लिखित यो आलेखलाई आइरिस सेन्टरबाट साभार गरिएको हो । म्याकरम्याकले हाल न्युयोर्क सिटी डिपार्टमेन्ट अफ एजुकेशनमा अध्यापन गराउँछन् । वर्तमानमा देखिएका सामाजिक तथा राजनीतिक मुद्दालाई धार्मिक तथा ऐतिहासिक कोणबाट विश्लेषण गर्न मन पराउने म्याकरम्याकको लेख पहिलो पटक २०१४ मा प्रकाशित भएको थियो ।)

भावानुवाद : सुनिल बराल

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय