scheduleबुधवार आश्विन १४ गते, २०७७

जापानका वातानाबे विश्वकै पाका व्यक्ति बने, बुहारीले लामो समयसम्म बाँच्नुको रहस्य खोलिन्

एजेन्सी, १ फाल्गुन । जापानका चितेत्सु वातानाबे यही मार्च महिनामा ११३ वर्षका हुँदैछन् । उनले गिनिज बुकमा जिवित व्यक्तिमध्ये सबैभन्दा बढी उमेरको व्यक्तिमा आफ्नो नाम दर्ता गर्न समेत सफल भएका छन् ।

जापानको नीगातामा बस्दै आएका वातानाबेलाई हिजो (बुधबार) सबैभन्दा पाका जिवित व्यक्तिको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ । ११३ औं जन्मजयन्ती नजिकिँदै गर्दा उनलाई उक्त प्रमाणपत्रले सम्मान गरिएको हो ।

गिनिज बुकका अनुसार हाल एक नर्सिङ होममा जीवन बिताइरहेका वातानाबे बुधबार ११२ वर्ष ३४४ दिनका भएका छन् । उनले सो अवसरमा आफैंले ‘विश्व नं १’ लेखिएको एक ब्यानर पनि बनाएका छन् ।

सन् १९०७ को मार्च ५ मा जन्मेका वातानाबे कृषि विद्यालयबाट ग्र्याजुएट गरेपछि दाई मेजी सुगरको कर्मचारी भएका थिए । लगत्तै उनलाई एक ऊखु खेतीसम्बन्धी सम्झौता गर्ने कार्यमा सहयोग गर्न भन्दै ताइवान पठाइएको थियो ।

ताइबानमा १८ बिताएका वातानाबेले त्यहीँ मित्सुइसँग विवाह गरेका थिए । दुबै जनाले जन्माएका ५ जना सन्तानमध्ये ४ जना ताइवानमा नै जन्मिएका थिए । उनले दोस्रो विश्वयुद्धको अन्त्यतिर सैन्य सेवा पनि गरेका थिए ।

दोस्रो विश्वयुद्ध सकिएपछि उनी आफ्नै जन्मभूमि नीगाता फर्किएका थिए । नीगातामा फर्केपछि उनको परिवार निकै कठिन समयबाट गुज्रेको थियो । सुरुमा उनको परिवारलाई जीवन धान्न निकै समस्या परेको थियो ।

घर फर्केपछि वातानाबे कृषि अधिकृत भए । कृषि अधिकृतकै रुपमा अवकास पाएपछि पनि उनी सक्रिय नै रहे । सन् १९७४ मा उनी र उनका जेठा छोरा तेत्सुओ मिलेर नयाँ घर बनाए ।

नयाँ घर नजिकै झण्डै १ हेक्टर जमिन थियो । वातानाबेले आफ्ना छोरासँग मिलेर उक्त जमिनमा गोलभेडा, आलु, स्ट्रबेरी, आरुबखडा लगायतका तरकारी र फलफूल खेती गरे । उनले १०४ वर्षको उमेरसम्म आफ्नो खेतमा फलफूल र तरकारी फलाउने काम जारी राखेका थिए ।

लामो समय चिनी कम्पनीमा काम गरेका वातानाबेले गुलिया कुरा मन पराउँछन् । उनलाई खैरो चिनी निकै पर्छ । तर उनका दाँत झरिसकेका छन् । त्यसैले उनले धेरै चपाउन नपर्ने मिठाइ र क्रिम अझै पनि खान्छन् ।

ऊखुबारीमा वातानाबे (केन्द्रमा)

गत वर्ष एक स्थानीय पत्रिकासँग कुरा गर्दै वातानाबेले आफू लामो समयसम्म बाँच्नुको रहस्य बताएका थिए । ‘कसैसँग पनि नरिसाउने र सधैँ हसिँलो अनुहार बनाउने’ हो भने लामो समय बाँच्न सकिने उनको भनाइ थियो ।

वातानाबेलाई आफूले कहिल्यै चर्को बोलेको वा रिसाएको नदेखेको उनकी जेठी बुहारी योको वातानाबेले बताइन् । ‘हामीहरू उहाँसँगै ५० वर्षभन्दा बढी बस्यौं तर उहाँले कहिल्यै चर्को बोलेको वा रिसाएको देखिनँ’, उनले भनिन्, ‘उहाँले सबैको ख्याल पनि गर्नुहुन्छ ।’

‘मैले आफ्नो चाहना अनुसार कपडामा बुट्टा भर्ने काम सुरु गरेकी थिएँ । मेरो कामलाई उहाँले नै बढी प्रशंसा गर्नु हुन्थ्यो’, योको वातानाबेले थपिन्, ‘एउटै घरमा नाति-नातिनी र पनाति-पनातिनीसहित सबैसँग बस्न पाउँदा उहाँको अनुहार सधैं हसिँलो देखिन्थ्यो ।’

विश्व युद्धमा जानुपूर्व परिवारसँग वातानाबे

अहिले नर्सिङ होममा बसिरहेका वातानाबे पहिलाको जस्तो सक्रिय भने देखिँदैनन् । तर गत गर्षको वर्षायामसम्म उनलाई व्यायाम गरेको, कागजबाट सुन्दर कुरा बनाएको, कलात्मक लेखन गरेको र गणितीय अभ्यास गरेको देख्न सकिन्थ्यो ।

अझै ४ वर्ष बाँचे भने वातानाबेले नयाँ किर्तिमान राख्नेछन् । ४ वर्ष बाँचे भने उनी विश्वमै हालसम्मकै पाका पुरुष बन्नेछन् ।

विश्वमा हालसम्म सबैभन्दा बढी समय बाँच्ने पुरुषको किर्तिमान जापानकै जिरोइमोन किमुराको नाममा छ । सन् १८९७ को अप्रिल १९ जन्मेका किमुराको निधन २०१३ जुन १२ गते भएको थियो । त्यतिबेला उनी ११६ वर्षका थिए ।

विश्वमा सबैभन्दा बढी उमेरसम्म बाँच्ने जिवित महिला पनि जापानी नै हुन् । सबैभन्दा पाकी जिवित महिला केन तानाकाले जनवरीमा ११७ औं जन्मजयन्ती मनाइसकेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय