scheduleआइतवार चैत्र १६ गते, २०७६

मेरो पूर्वप्रेमिकाले के सिकून् ?

माधव प्याकुरेल

श्रीमान् अभिभावकज्यू नमस्कार,
हजुरको छोरी (मेरो पूर्वप्रेमिका)ले पाउनु मात्रै माया नभएर गुमाउनु पनि माया हो भन्ने कुरा सिकून् । समाजमा निस्वार्थी प्रेमी छन् भने स्वार्थीप्रेमी पनि छन् । असल अनि सफल प्रेमी छन् भने खराब अनि धोकेबाज प्रेमी पनि छन् । पागल प्रेमी छन् । अनि प्रेमी/प्रेमिकाको नामको पछाडि भक्त जोडेर हिंड्नेहरु पनि प्रशस्तै छन् । त्यस्तै धनी पनि छन् । अनि गरिब पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै ।

तैपनि उसलाई जिन्दगीमा सबै माया बिहेमा परिणत नहुन पनि सक्छ भन्ने कुरा इतिहासको कालखण्डमा धेरैजसो प्रेमी-प्रेमिकाहरुबीच हुन नसकेको बिहेको उदाहरणबाट सहजै आंकलन गर्न सकिने कुरा बताइदिनुहोस् । उसलाई कसैलाई पाउने अधिकार खोसिएपनि कसैको यादमा जिन्दगी बिताउने अधिकार आफुसँग सुरक्षित नै रहने कुरा बताइदिनुहोस् । उसलाई सधैँ मनमा भएको मान्छे भाग्यमा नहुन पनि सक्न्ने कुरा बताइदिनुहोस् ।

उसलाई कसैसँग खाएको वाचा कसम र कसैलाई देखाएको आशा कसैको लागि जीवन जिउने आधार, सबथोक हुनसक्ने बताउँदै आशाको सानो त्यान्द्रो पनि भयंकर शक्तिशाली हुने कुरा बताइदिनुहोस् । उसलाई जिन्दगीभर दोषको भारी आफू एक्लै बोक्न तयार हुने व्यक्ति वास्तवमा महान् हुने कुरा बताइदिनुहोस् । उसलाई आफूप्रतिको उसको फिलिङ्सलाई सधैं आफुले सम्मान गरिरहने बताईदिनुहोस् ।

Dish_Home

उसलाई सुखी हुन खोज्नु र खुसी हुनुको भिन्नता बताइदिनुहोस् । आगामी दिनमा आफूले भाग्यमा नलेखिएका चिजहरु बस् आँखालाई मन नपरोस् भन्ने चाहेको कुरा बताईदिनुहोस् । उसलाई भेटेर आफू धेरै नै पछुताएको कुरा सुनाइदिनुहोस् । उसले दृढ इच्छाशक्तिले लाग्ने हो भने संसारमा केही कुरा पनि असम्भव छैन भन्ने कुरा सिकोस् । उसलाई चाहना कहिलै नसकिने बताउँदै जिन्दगीमा सन्तुष्ट हुन सिकाइदिनुहोस् । आफ्नो मनलाई ढाँट्न सक्ने उसको अचुक क्षमताको खुलेरै तारिफ गर्न भने नबिर्सनुहोला ।

माधव प्याकुरेल

उसलाई आफ्नो जिन्दगी नै छोराछोरीको खुशीका लागि समर्पण गर्न समेतपछि नपर्ने आमा र बाबा भगवान् सरह हुन् भन्ने कुरा बताउँदै आमाबुबाको खुशी नै आफ्नो खुशी हो भन्ने कुरा बताइदिनुहोस् । उसको परिवारको पछिल्लो निर्णयबाट आफू पूर्णरूपमा खुशी रहेको प्रष्ट पार्दै सो निर्णयको विरुद्धमा आफूले कुनै कदम चाल्न नचाहेको बरु उसलाई उक्त निर्णयबाट खुशी/सन्तुष्टि मिलोस् भनेर आफुले हमेसा प्राथना गरिरहेको कुरा सुनाईदिनुहोस् ।

उसलाई निर्णयको मामलामा भने परिवार धेरैथोक भएपनि सबथोक नभएको बताउँदै जिन्दगीमा कुनै कुनै निर्णय रहरले नभई बाध्यताले पनि हुनसक्ने तर्फ आफू पूर्णरुपमा जानकार/सचेत भएको कुरा बताईदिनुहोस् । तर उसलाई ‘प्रेम के हो ?’ भनेर कहिलै नसोध्नुहोस् किनकी मलाई लाग्छ, त्यसको जवाफ उसैले दिएर गइसकेको छ । तथापि प्रेमको परिभाषा आफूले कहिल्यै नजानेको तर उसलाई भेटेपछि कसैलाई भेट्ने इच्छा नभएकोले उक्त अनुभव नै आफ्नो प्रेमको परिभाषा भएको कुरा बताईदिनुहोस् ।

मेरो पूर्वप्रेमिकालाई आफुले बिताएको बालापन, अध्ययन गरेको पाठशाला र सो स्थानमा म पुगेर पठाएका तस्बिरहरु, परीक्षा समयमको कुराई, हाम्रा पुराना दिनका ती प्रेमिल सम्झनाहरु, जुगौं जुग जिइरहन प्रेरित गर्ने ती हाम्रा अथाह सपनाहरु, रमाईलो दिनमा गगनचुम्बी महलको छेउमा अवस्थित गरिबीको झुपडीमा रमाईरहेका जोडी ढुकुर, धर्तीलाई घर र आकाशलाई छानो सम्झेर बस्ने मानिसहरु र ढुंगाको चट्टानलाई फोडेर उम्रने पिपलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो पूर्वप्रेमिकालाई आफ्नो खुसीको लागि जे गर्न पनि तयार रहने व्यक्तिलाई जिन्दगीमा कहिलै रुवाउन नहुने कुरा बताइदिनुहोस् । उसलाई कसैको खुसीको लागि कसैलाई सहजै छाड्न सक्ने व्यक्ति साँच्चिकै असल प्रेमी भएको कुरा बताइदिनुहोस् । उसलाई हरेकको सामाजिक, सांस्कृतिक तथा धार्मिक परम्परा र रीतिरिवाजमा आ-आफ्नो बिशिस्ट गुण हुने बताउँदै तालपरे सबैको परिवेशमा अन्तरघुलित हुनसक्ने साहस राख्न तयार हुनपर्ने बताइदिनुहोस् ।


उसलाई प्रेम बिहेमा गएर टुंगिने कुरा आउनुभन्दा अगाडि बल्ल करियर, जात, धर्म, भविष्य, संस्कार, संस्कृति, घर-परिवार, अष्ट्रेलिया, अमेरिका आदिको चर्चा परिचर्चा हुनु स्वभाविक भए पनि अन्त्यमा यिनै कुराभित्र गएर प्रेम तुहिएर प्रेमिल जोडीहरु आ-आफ्नो बाटो लाग्न बाध्य हुनु अत्यन्तै दु:खद भएको बताइदिनुहोस् ।

उसलाई आफुले प्रेम गरेको व्यक्तिको खुसी चाहनु नै साँचो अर्थमा प्रेम भएको कुरा बताइदिनुहोस् । उसलाई वृक्ष जति नै धेरै फल्यो उतिनै धेरै जमिनतिर झुक्ने भन्दै सोही कुरा मानिसले पनि आफ्नो जिवनमा अवलम्बन गर्नुपर्ने कुरा बताईदिनुहोस् ।

उसलाई असल हुनु र सफल हुनुको भिन्नता बताइदिनुहोस् । उसलाई एक्लो (Alone) हुँदैमा एक्लोपन (Loneliness) महसुस हुन अनिवार्य नहुने बताउँदै कयौ मान्छे रातदिन भिडबीच बसेपनि, मित्रहरुबाट सधैं घेरिएपनि एक्लो महसुस गर्न सक्ने बताईदिनुहोस् । उसलाई हार पछि खेल्न छाड्ने व्यक्ति वास्तवमा हरुवा भएको बताउँदै सफल नभएसम्म हारी रहने व्यक्ति मात्र साँचो अर्थमा विजेता भएको कुरा बताईदिनुहोस् ।

उसलाई एउटा मान्छेको मायाले जिन्दगीमा कति फरक पार्ने रहेछ भनेर दुवैले बुझ्ने यो एक अवसर पनि भएको कुरा बताईदिनुहोस् । मेरो पूर्वप्रेमिकालाई सुखमा नमातिन अनि दुःखमा नआतिन सुझाव दिनुहोस् । उसलाई जिन्दगीमा कहिले पनि हरेस नखान सुझाव दिनुहोस् । उसलाई कहिल्यै भिड नहुने सत्यता र इमानदारिताको बाटोमा हिड्न सुझाव दिनुहोस् । उसको रिसमा पनि लुकेको अथाह माया सधैंभरि बचाइराख्न सुझाव दिनुहोस् ।

उसको साधा जीवन उच्च विचारलाई सधैं निरन्तरता दिईरहन सुझाव दिनुहोस् । मेरो पूर्वप्रेमिका सानोतिनो खुसीमा पनि रमाउन सक्ने खालको होस् । ऊ हरेक दुःखलाई सुखमा परिणत गर्ने चेष्टा राख्ने खालको होस् । उसलाई सफलता र असफलता भनेको के हो, राम्ररी बुझाउँदै असफलता नै सफलताको प्रतिक भएको सिकाईदिनुहोस् ।

उसलाई सधैं शान्त, सुशील, शालीन र नम्र बन्न उत्प्रेरित गर्नुहोस् । मेरो पूर्वप्रेमिकालाई परिवर्तनको सुरुवात आफैंबाट र आजैबाट गर्नुपर्ने कुरा सिकाउँदै परिवर्तन सहजै स्विकार्ने तथा त्यसप्रति प्रतिबद्ध हुनसक्ने शक्ति दिनुहोस् । तर उसलाई सधैं खेल खेलिरहने खेलाडी एक खेलमा पराजित हुँदा त्यति हतोत्साहित नहुने भएपनि भर्खरै खेल्न सिकेको सिकारु खेलाडी पहिलो खेलमै पराजित हुनुपरे ऊ पक्कैपनि मर्माहत हुनेकुरा बताउँदै आगामी दिनमा खेलिने खेलमा आफूसरह प्रतिस्पर्धी टोलीका साथ मैदानमा उत्रिन पनि सुझाव दिन भने नबिर्सनुहोस् ।

अन्त्यमा, उसलाई हाम्रो प्रेमिल यात्राको दौरानमा ऊबाट प्राप्त अविस्मरणीय साथ, समर्थन र हौसलाका लागि विशेष आभार प्रकट गर्दै आफुले धेरै नयाँ कुरा सिक्ने अवसर पाप्त गरेकोमा आफुलाई खुसी लागेको कुरा बताईदिनुहोस् । उसको आगामी दिनहरु सुख, शान्ति, समृद्धि र अमनचयनमय बितोस् भन्ने चाहना आफ्नो भएको कुरा बताउँदै परेको खण्डमा आफू सुखदुःखमा हमेसा उसलाई सहयोग गर्न तयार रहेको कुरा बताईदिनुहोस् । उसलाई आफ्नो साथै भुन्टे, आफ्नो बुढो बाबा आमाको पनि धेरैभन्दा धेरै हेरविचार गर्न सुझाव दिनुहोस् । उसलाई धेरै मनमा कुरा खेलाएर आफैलाई दुःखी नबनाउन सुझाव दिँदै, समयमा खाना खान तथा मौसमअनुसार आफ्नो शरीरको केयर/हेरविचार गर्न सुझाव दिनुहोस् । धन्यवाद ।

माधव प्याकुरेल
काठमाडौं, नेपाल ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय