scheduleशुक्रवार श्रावण २३ गते, २०७७

नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा, पेसी आजै


काठमाडौँ, २ फागुन । ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका छन् । उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै परेको रिटमा सुनुवाइ केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गरेका थिए ।

अख्तियारले मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा चलाएको छैन । अख्तियारले ४ मन्त्रीसहित १७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय आयोगको क्षेत्राधिकारभित्र नपर्ने अभियोगपत्रमा उल्लेख गरेको थियो।

वरिष्ठ अधिवक्ता न्यौपानले रिटमा मन्त्रिपरिषद्को निर्णय नीतिगत भन्दै सार्वजनिक जग्गा व्यक्तिको बनाउन नमिल्ने तर्क गरेका छन् । रिटमा भट्टराई र नेपालविरुद्ध पनि पुरक अभियोगपत्र दायर गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय