scheduleशुक्रवार श्रावण २३ गते, २०७७

नयाँ भाइरसबाट झण्डै १८ सय स्वास्थ्यकर्मी संक्रमित, ६ जनाको मृत्युः चिनियाँ अधिकारी

एजेन्सी, २ फाल्गुन । चीनमा कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि उच्च रहेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका चिकित्सक, नर्स र अन्य स्वास्थ्य कर्मचारीको संख्या सार्वजनिक भएको हो ।  हालसम्म १७ सय १६ जना स्वास्थ्यकर्मी नयाँ भाइरसबाट संक्रमित भएको एक चिनियाँ अधिकारीले बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख जेङ यिमिङले १७ सय १६ जना स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै यिमिङले ६ जना स्वास्थ्यकर्मीले भाइरसका कारण ज्यान गुमाएको पनि बताए ।

कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढिरहेको यिमिङको भनाइ छ ।  त्यस्तै प्रकोप नियन्त्रण र बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू ठूलो मानसिक दबाबमा रहेको पनि उनले बताए ।

‘यतिबेला उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि निकै ठूलो कार्यबोझ थपिएको छ’, यिमिङले भने, ‘उनीहरूका लागि आराम गर्ने समय सीमित छ, मानसिक दबाब ठूलो छ र संक्रमण हुने खतरा पनि उच्च छ ।’

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ भनेर नामाकरण गरेको कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या हुबेइ प्रान्तमा बढी रहेको पनि यिमिङले जानकारी दिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये कतिजना संक्रमित छन् भनेर थप विश्लेषण गर्नुपर्ने पनि उनको भनाइ थियो ।

चिनियाँ अधिकारी र अस्पतालले मुख छोप्ने मास्कसहित विभिन्न खालका सुरक्षित उपकरण र सामग्रीको अभाव झेलिरहेको बताइरहेका छन् ।

कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिएका डाक्टर लि वेङलियाङले केही दिन अघि भाइरसका कारण ज्यान गुमाएपछि चिनियाँहरूले आफ्नो सरकारप्रति आक्रोश पोखेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय