scheduleबिहिवार चैत्र २० गते, २०७६

मन्त्री र नेकपा नेताको नजरमा ओली सरकारको दुई वर्ष

काठमाडौं, ३ फागुन । केपी शर्मा ओलीले दोस्रोपटक सत्ताको बागडोर सम्हालेको आज दुई वर्ष पुगेको छ । यो दुई वर्षको आफ्नो अवधि पूर्णरुपमा सफल भएको प्रधानमन्त्री ओलीको दावी छ । मुलुक तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाई छ । तर, जनता र आफ्नै कार्यकर्ताले भने यसलाई पत्याएका छैनन् ।

गत माघमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि प्रधानमन्त्री ओलीले सरकारले यो दुई वर्षमा गरेका कार्यको फेरिस्त प्रस्तुत गरेर जनता र कार्यकर्तालाई मथ्थर बनाउने कोशिस गरेका थिए । तर, केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री ओलीको तथ्याङलाई मिथ्याङ्क भन्दै विरोध जनाएका थिए ।

Dish_Home

बैठकमा केन्द्रीय सदस्यहरुले ‘जनताले महसुस हुने गरी काम हुनुपर्‍यो तथ्याङ्कमा होइन’ भनेका थिए । चौतर्फी विरोध भइरहँदा सरकार पूर्ण रुपमा सफल भएको प्रधानमन्त्री ओलीको दावी गर्न छोडेनन् । सरकार सम्हालेको दुई वर्षे अवधीमा भए गरेका काम कारबाही सार्वजनकि गर्न आज संसदमा प्रधानमन्त्री ओलीले बोल्ने कार्यसूची त छँदैछ ।

तर, स्वयं सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपाका नेता र मन्त्रीले ओली नेतृत्वको सरकारलाई कसरी बुझेका छन् त ? प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकाल कति सफल भयो कति असफल भयो ? हामीले केन्द्र र प्रदेश सरकारका मन्त्रीसँगसँगै केही नेकपाका नेतासँग बुझ्ने कोशिस गरेका छौं ।

देवेन्द्र पौडेल, नेता- नेकपा
सरकारले ठूला-ठूला भौतिक पूर्वाधारका कामहरु त गरेकै छ । एयरपोर्ट निर्माण, सुरुङमार्गको सुरुवात, दुई देशबीचको पाइपलाइन, चीनसँगको सम्बन्ध, अन्तराष्ट्रिय लगानी सम्मेलन, २०२० को सुरुवात, भष्ट्राचार नियन्त्रण आदि सरकारका राम्रा कामहरु हुन् ।

सुशासनलगायत एक दुई वटा कामहरु भने अपूर्ण रहेको देखिन्छ । सम्रगमा सरकारको दुई वर्षलाई सफल मान्नुपर्छ ।

राम कार्की, नेता- नेकपा

पहिला पहिलाको सरकारहरुभन्दा राम्रो छ । तर, कम्युनिष्टहरुको शासन आयो भने मजदुर किसानहरुको ठूलो परिवर्तन आउँछ भन्ने ७० वर्षदेखिको जनताको आकाक्षा थियो । त्यसमा चाँही सरकार खरो उत्रिन सकेको छैन ।

कतिपय प्रणालीभन्दा पनि नेताहरुको विवेकमा कामहरु भएका छन् । त्यसले जनता र समर्थकलाई चिढाएको छ । स्टिममा, मापदण्डमा, प्रणालीमा भन्दा नेताहरुको इच्छाले काम गरिरहेको छ ।

त्यसै हिसाबले राजनीतिक नियुक्ति पनि भइरहेका छन् । यस्ता किसिमको नेतृत्वको व्यवहारले कार्यकर्तालाई पनि निराश बनाएको छ । यो सरकारलाई आंशिक सफल मान्नुपर्छ ।

जगन्नाथ खतिवडा, सांसद तथा नेता- नेकपा
सरकारको दुई वर्षे कार्यकाललाई मुल्याङकन हामीले मात्र गरेर अपूर्ण हुन्छ । जनताले पनि मुल्याङकन गर्नुपर्छ । सरकारले यो बीचमा कतिपय राम्रा कामहरु गरेका छन् । तर, जनता माझ हामीले पुर्‍याउन सकेनौं ।

यसमा नेताहरुको आचारण र व्यवहारले पनि काम गरेको देखिन्छ । प्रधानमन्त्री ओलीको पार्टीभित्र चर्को आलोचना भएकै कारण बाहिर पनि उत्तिकै आलोचना भयो । सोसल मिडिया पनि त्यसैको पछि लाग्यो । पार्टीभित्र प्रधानमन्त्रीको आलोचना कम भइदिएको भए नेता कार्यकर्ता नै सरकारको अन्धो भक्त भएर प्रचार प्रसारमा लाग्थे । तर, प्रसंशाभन्दा आलोचना धेरै भयो ।

नेतृत्वले आफ्नो आचरण र व्यवहार सुधार्नुपर्छ । अहिलेसम्म सरकार ठीकै दिशामा गइरहेको छ । आगामी दिनमा जनताको अपेक्षा र चाहना पूरा गर्न दृणताका साथ लाग्नुपर्छ ।

मणी थापा, नेता- नेकपा

सरकारको कामबाट जनता एक जना पनि खुशी छैनन् । हामी इमान्दार नेता कार्यकर्ताले बाहिर धेरै भन्न पनि भएन । सरकारको गर्छु भन्ने सोच नै रहेनछ । ठूलो मान्छे हुने, राजा हुने महाराजा हुने बस्ने, आफ्ना मान्छेलाई पावरमा पठाउने, सम्पत्ति जोडदिने काम मात्र भयो ।

पद्माकुमारी अर्याल,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

सरकारको दुई वर्ष पूर्ण रुपमा सफल भयो भन्नुपर्छ । किनकी हामीलाई संघीयता कार्यान्वयनको चुनौति थियो । हामीले सफल रुपमा संघीयता कार्यान्वयन गर्न सफल भयौं । सरकारमाथि जनताको चाहना इच्छा धेरै छन् । त्यो हामीले बुझेका छौं । तर, एकैचोटी पूरा हुँदैनन् नि !

कैलाश ढुङ्गेल, आर्थिक मामिला तथा योजना मन्त्री, वागमती प्रदेश

सरकारले यो दुई वर्षे अवधिमा जति गर्नुपर्थ्यो त्यति गरेन । गत माघमा पार्टीको केन्द्री कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्नुभएको सरकारको काम कारबाहीको बारेमा पनि अलि पुगेन कि भन्ने मलाई लागेको छ ।

हिक्मतबहादुर कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री, प्रदेश नं. १

दुई तिहाई जनमत प्राप्त सरकारमाथि जनताको चाहना धेरै छन् । यो सरकारले सबै गरिदिहोस् भन्ने जनताको चाहना छ । कता कता केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा कामकारबाही प्रभावकारी हुन नसकेको हो कि भन्ने हामीलाई महसुश भएको छ । सरकारले जति गर्नुपर्थ्यो त्यति गरेन कि भन्ने हामीलाई नि लागेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय