scheduleशनिवार चैत्र २२ गते, २०७६

साझाका नेतालाई आचार्यको प्रश्न- मेरी छोरीलाई किन यति छिटो निराश बनाउनुभो ?


काठमाडौं, ४ फागुन । ओली सरकारले दुई वर्ष पूरा गरेको दिन शनिवार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले देशका लेखक, पत्रकार, बुद्धिजिवीहरुको गोलमेच सम्मेलन आयोजना गर्‍यो । सम्मेलनमा करिब ४० जना प्रतिष्ठित लेखक, पत्रकार, बुद्धिजिवी र नागरिक अभियानकर्मीहरुको उपस्थिति थियो ।

सम्मेलनमा साझा पार्टीका नेताहहरूले देश सामूहिक असफलतामा गएको हुँदा उपचार पनि सामूहिकरुपमा खोज्नुपर्ने धारणा राखे ।

‘निसन्देह नेकपाको सरकार असफल भएको छ तर नेकपा असफल हुँदा के प्रतिपक्षी नेपाली कांग्रेस सफल भयो त भन्ने प्रश्न उठ्छ । सबैले भन्दै छौं– नेपाली कांग्रेस पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न असफल भएको छ,’ साझा पार्टीका नेता मुमाराम खनालले भने, ‘त्यसो भए हामी कम्युनिष्ट–कांग्रेसको विकल्प दिनुपर्छ भन्ने वैकल्पिक भनिनेहरु सफल भयौं त ? हामी पनि सफल भएनौं ।’

Dish_Home

खनालको प्रश्न थियो, ‘हामीले पनि जनतामा पर्याप्त विश्वास सृजना गर्न सकेनौं । को सफल भयो त ? सबै असफल भयौं, एउटा असफलले अर्को असफललाई असफल भएको आरोप लगाएर मात्र के हुन्छ ?’ उनले देश नै सामूहिक असफलतामा गइरहेकोले यसको उपचार पनि सामूहिकरुपमा खोज्नुपर्ने धारणा राखे ।

साझा पार्टीका अर्का नेता तथा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘पार्टीका रुपमा हामी सफल भयौं वा असफल त्यो त्यति महत्वको कुरा हैन, तर देशको भविष्य नै असफल बाटोमा छ भने त्यो निश्चय नै भयावह कुरा हो ।’

पार्टी संगठन विभाग प्रमुख केशव दाहालको तर्क थियो, ‘ल ठीक छ, साझा पार्टी पनि असफल भयो, कि भन्नु पर्‍यो देशलाई विकल्प चहिएको छैन, कि विकल्प निर्माणमा देशको बौद्धिक समुदायको भूमिका र योगदान प्रष्ट हुनुपर्‍यो ।’

पार्टी संयोजक रविन्द्र मिश्रले राजनीतिमा लागेको छोटो अवधिमा धेरै कुरा सिकेको बताए । ‘छोटो अवधिमा हामीले धेरै कुरा सिक्यौं । धेरै कुरा हामीले पनि बुझेका, जानेका रहेनछौं, हाम्रा पर्याप्त कमजोरी रहेछन्,’ मिश्रले भने, ‘तर, विकल्पको औचित्य चाँहि छ भन्ने जुन सबैको बुझाई छ ।’ यसको निम्ति अझ बृहत्त अर्थमा मिलेर काम गर्नुपर्ने आवश्यकता देखिएको उनले तर्क गरे ।

सहभागीहरुले साझा पार्टीका नेतालाई विभिन्न सुझाव दिएका थिए । मानवअधिकारकर्मी चरण प्रसाईले साझा र विवेकशील फुटनु हुँदैनथ्यो भन्ने बुझाई राखे । अर्का सहभागी पुरन्जन आचार्यले भने, ‘मेरो परिवार खान्दानी कांग्रेस हो तर मेरी छोरीले गत चुनावमा विवेकशील साझालाई मरिहत्ते गरेर सहयोग गरी । अहिले ऊ तपाईहरुसँग पनि फ्रष्टेट छे, किन यति छिटो निरास बनाउनु भो, त्यसको कारण खोज्नुस् ।’

विश्लेषक तथा स्तम्भकार गेजा शर्मा वाग्लेले भने साझा पार्टीको नेतृत्वमा रणनीतिक कौशल नभएकोले अवसर गुमेको धारणा राखे । उनले नयाँ शक्ति, साझा र विवेकशील मिल्नुपर्थो, तर त्यो मौका गुमेको धारणा राखे ।

पत्रकार बसन्त बस्नेतले साझाले उठाएका मुद्दा दक्षिणपन्थी भएको धारणा राखे । उनले भने, ‘पैसामा पृथ्वी नारायण शाहको फोटो राख्नुपर्छ जस्ता मुद्दाले साझा पार्टीको औचित्य पुष्टि हुँदैन । त्यस्तो कुरा गर्न त कमल थापाको राप्रपा छँदैछ । राप्रपाकै दोकान बन्द हुन लागेको बेला साझाले त्यस्ता एजेण्डा उठाउन आवश्यक छैन ।’

विश्लेषक तुलानारायण शाहले ‘साझा पार्टी दिल्लीको आप र केजरीवालबाट प्रभावित भएको तर त्यसको गहिरो अध्ययन नगरी बढी सतहमा रमाएको’ टिप्पणी गरे । अधिकांशले साझा पार्टीलाई साँच्चै राजनीति नै गर्ने हो भने कम्फर्ट जोनबाट बाहिर निस्कन, मुद्दाहरुमा प्रष्ट धारणा राख्न, धैर्यता राख्न, क्लब हैन, पार्टीजस्तो गरी चल्न सुझाव दिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय