scheduleआइतवार चैत्र २३ गते, २०७६

चुनावको मुखमा दिल्लीमा ७ दिन (३)

डम्बर खतिवडा

दिल्ली चुनावबाहेक मेरो मनमा थप दुई प्रश्न बाँकी थिए । पहिलो– भारतीय राजनीतिका समकालीन प्रवृत्ति कसरी विकसित भइरहेका छन् ? नेतृत्व र पुस्ता हस्तान्तरणको प्रक्रिया कस्तो होला ? दोस्रो– समकालीन विश्व परिस्थितिमा भारतीय बौद्धिकहरू नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे कस्तो धारणा राख्दछन् ? यी दुई प्रश्नहरू पनि हामीले बारम्बार सोधेको थियौं ।

अधिकांशले भारतीय राजनीतिको चल्तेचलाते प्रवृत्तिमा तुरुन्तै कुनै नयाँ परिवर्तन वा मोड आउने सम्भावना नरहेको बताएका थिए । बरु यस मानेमा नेपाल निक्कै प्रगतिशील देश हो, त्यहाँ जे पनि हुन सक्दछ, भारतमा त्यस्तो कुनै तरंग छैन भन्ने धारणा धेरैको पाइन्थ्यो । भारतीयहरू एकातिर संसदीय प्रणालीका सीमा र विकृतिहरूबाट आक्रान्त छन्, अर्कोतिर त्यहाँ शासकीय स्वरुप परिवर्तन र निर्वाचन प्रणाली परिवर्तनको कुनै सार्थक बहस छैन । कुनै पनि पार्टीले त्यसलाई मुद्दा बनाएका छैनन् ।

विद्यार्थी नेतृ साहिला रसिदले भनेकी थिइन्, ‘भारतभन्दा नेपाल धेरै प्रगतिशील देश हो । त्यहाँ समानुपातिक निर्वाचन प्रणाली छ भन्दा आश्चर्य लाग्दछ । सायद दक्षिण एसियाका अरु कुनै पनि देशमा छैन । भारतमा त मान्छेहरू फष्ट पाष्ट द पोष्ट प्रणालीको विकल्प कल्पना पनि गर्दैनन् । भारतमा करिब २५ करोड मुस्लिम जनसंख्या छ । तर संघीय संसदमा ५–१० जना भन्दा बढी मुस्लिम सांदस कहिल्यै हुँदैनन् । भएका पनि जुन पार्टीको टिकटबाट आएका हुन्छन्, त्यसैको धारणा बोल्छन, अल्पसंख्यकको अधिकारबारे बोल्ने आँट कमैमा हुन्छ ।’

Dish_Home

भारतीय स्वतन्त्रता यता राष्ट्रिय कांग्रेसले त्यहाँ ५४ बर्ष शासन गर्‍यो । आज कांग्रेस निक्कै कमजोर छ । के कांग्रेसले देश साँच्चै बिगारेको हो ? कांग्रेस प्रवक्ता राजिव त्यागी यो मान्न तयार थिएनन् । उनले भने, ‘भारत आज संसारको ७ औं ठूलो अर्थतन्त्र हो, त्यो कस्ले गर्दा भएको हो ? मोदी शासनको ६ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको छ, जुन देशमा भोकमारी लाग्थ्यो, त्यो संसारकै ठूलो कृषि उत्पदाक र निर्यातक देश कसको शासनकालमा बन्यो ?’

भारतीय राजनीतिमा कांग्रेस एक दल मात्र हैन, एक राजनीतिक धार हो । महाराष्ट्रको प्रभावशाली शरद पावर नेतृत्वको राष्ट्रवादी कांग्रेस, बंगालको तृणमूल कांग्रेस, आन्ध्र प्रदेशको जगमोहन रेड्डी नेतृत्वको युवा श्रमिक कांग्रेस आदि कांग्रेस धारबाटै फुटेका शक्तिशाली दल हुन । अधिकांश विश्लेषक ठान्छन् कि भारतीय राजनीतिमा कांग्रेस धार हैन, राष्ट्रिय कांग्रेस समूह मात्र संकटमा परेको हो ।

यसको कारण के होला ? के गान्धी परिवारको कमजोर नेतृत्व हो ? राजिव त्यागीले भनेका थिए, ‘निश्चय नै आज गान्धी परिवार संकटमा छ तर, कांग्रेसहरूको धर्म यो हैन कि नेतृत्व संकटमा हुँदा यसको साथ छोडोस् । गान्धी परिवारले कांग्रेसको नेतृत्व खोजेको हैनन, हिजो पिभी नरसिंह रावको समयमा गान्धी परिवार थिएन । सोनिया लामो समय कांग्रेस नेतृत्वमा आइनन् । कांग्रेसहरूले नै गान्धी परिवारलाई खोजेर ल्याउने हुन् । गान्धी परिवार कांग्रेसलाई जोड्ने रसायन हो । उनीहरू नहुने हो भने कांग्रेस अहिलेको जतिको पनि रहँदैन ।’

कम्युनिष्ट धारको भविष्यबारे भने मानिस आश्वस्त थिएनन् । भारतमा अहिले २७ वटा कम्युनिष्ट समूह छन् । ती एकअर्कालाई गाली गर्न पोख्त छन् । झनझन फुटिरहेका छन् । यदि २७ वटै समूह एक हुने हो भने चुनावी परिणाम जेजस्तो भए पनि एउटा राष्ट्रिय शक्ति बन्दछ । तर, त्यो सम्भावना विलकुल छैन । कन्हैया कुमार अहिले कम्युनिष्ट धारका युवा स्टार हुन् । उनको पार्टी कुन हो, उनको पार्टीको नेता को हुन्, त्यो पनि कमै लाई थाहा छ । कम्युनिष्ट धारमा तुलनात्मकरुपमा सिपिएम बलियो छ तर, कन्हैया कुमार सिपिआईका हुन् । उनका पार्टी महासचिव डि. राजाबारे मानिस खासै जानकार र रुचि राखेको देखिन्नँ । सीताराम यचुरी अझै प्रतिष्ठित राजनीतिज्ञ हुन् । तर उनको नेतृत्वमा सिपिएमले खासै विकास गर्न सकेको छैन ।

भारतीय राजनीतिमा डा. राममनोहर लोहियाका अनुयायी र जेपी आन्दोलनका उत्पादनलाई समाजवादी धार वा जनता परिवारका दलहरू भन्ने गरिन्छ । यो धारमा पनि थुप्रै दलहरू छन् । प्रादेशिक स्तरमा बलिया पनि छन् । जस्तो कि विहारमा आरजेडी र जेडियु, उत्तरप्रदेशमा एसपी, उडिसामा बिजेडी, कर्नाटकाको जेडिएस आदि । यिनीहरूको एकता हुने हो भने पनि बलियो राष्ट्रिय शक्ति हुन सक्दछ । तर सम्भावना छैन । एसपीका प्रवक्ता घनश्याम तिवारीले भनेका थिए, ‘राजनीति भनेको केवल विचार र एजेण्डा मात्र हैन रहेछ, त्यहाँ महत्वाकांक्षा र व्यक्तित्वको टसल पनि जोडिन्छ । समाजवादी धारका दलहरूको एकता हुन सक्ने कुनै सम्भावना देखिन्नँ ।’

वास्तवमा भारतमा भाजपाको उदय कांग्रेस, कम्युनिष्ट र समाजवादी धारका दलहरूको टुटफुट र असफलताको जगमा भएको हो । उपरोक्त तीन धारभन्दा फरक बिजेपी एकदमै एकिकृत छ । अधिकांश विश्लेषक ठान्छन् कि भाजपाको इतिहासलाई विगत ४० वर्षमा सीमित गर्न मिल्दैन । आरएसएस र जन संघको समय समेत जोडेर हेर्दा भापजाको इतिहास झण्डै १०० वर्षको हुन्छ । आरएसएसको गठन सन् १९२५ मा भएको थियो ।

भाजपा कार्यालयमा फोटोहरू त्यसरी नै मिलाएर राखिएका छन् । पहिलो पुस्ताको नेताको प्रतिनिधित्व हेगडे र गोल्वाल्करको फोटोले गरेको देखिन्छ । दोस्रो पुस्ताको श्यामप्रसाद मुखर्जी र दिनदयाल उपाध्यायको फोटोले । तेस्रो पुस्तामा अटल विहारी बाजपेयी र लालकृष्ण आडवानीका फोटो प्रयोग हुन्छन् । नरेन्द्र मोदी र अमित शाह चौथो पुस्ताका भाजपा नेता हुन् ।

यी ४ धार बाहेक क्षेत्रीय दलहरूको भिन्नाभिन्नै इतिहास छ भने दिल्लीबाट उदय भएको आम आदमी पार्टी विस्तारै राष्ट्रिय दल बन्छ कि दिल्लीकै प्रादेशिक दलमा सीमित हुन्छ ? यो प्रश्न अझै अनुत्तरित छ । तर आप विलकुलै विचारधाराहीन पार्टी हो भन्ने धारणा भने अधिकांशले स्वीकार गर्दैनन् । उनीहरू स्वराजको कुरा गर्दछन् । स्वाभिमान र सादगीको कुरा गर्दछन् । विश्लेषकहरू ठान्दछन् कि आप आधुनिक गान्धीवादीहरू हुन् । कांग्रेसले गान्धीवादी धार छोडेर नेहरू–इन्दिरा धार पक्रेको सन्दर्भमा गान्धीवादी चिन्तनका मौलिकताहरूलाई केजरीवालहरूले नयाँ तरिकाले पुनर्जागृत गरिरहेका छन् ।’

यो भ्रमणको अन्तिम विषय मेरा लागि नेपालबारे भारतीयहरूको धारणा बुझ्ने प्रयत्न गर्नु थियो । जुन स्तरमा नेपालमा भारतबारे चासो र चर्चा हुन्छ, भारतमा नेपालप्रति त्यो स्तरको रुचि, ज्ञान, चासो र चर्चा भने नहुँदो रहेछ । अधिकांशले नेपालको कुरा गर्दा पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र मानसरोवरको कुरा गर्दछन् । राजनीति, कुटनीति र अर्थतन्त्रको कुरा गर्दैनन् । उनीहरू भन्छन्, ‘नेपाल पवित्र भूमि हो । हाम्रा लागि आस्थाको देवस्थल हो, अरु के हुँदैछ, थाहा छैन, राम्रै हुँदै होला ।’ यो जनस्तरको बुझाई हो ।

तर यहाँका पत्रकार बुद्धिजीवीहरूले नेपालबारे जानकारी नै नराख्ने चाहिँ हैन । हामीले भेटेका अधिकांशले भनेका थिए, ‘मोदीको नेपाल रणनीति गलत थियो । नेपालको संविधान कस्तो बनाउँने, त्यो नेपालीहरूले जान्ने कुरा हो । संशोधन गर्नु परे त्यहीको आन्दोलनले होला । मोदीले अन्तिम बखत जयशंकरलाई नेपाल पठाउन हुँदैनथ्यो । त्यो त तय भइसकेको बिहे रोक भने जस्तो हुन्थ्यो ।’

नेपालले बिआरआईमा हस्ताक्षर गरेको सन्दर्भमा अधिकांशले भने, ‘त्यो नेपालको स्वतन्त्रता हो, नेपाललाई त्यसो गर्दा फाइदा छ भने गरोस् तर हामी बिआरआईमा जाँदैनौं । हामी जाने आइपिएस तिरै हो । नेपाल–भारत–चीन त्रिदेशीय साझेदारी हुन सक्थ्यो होला । तर त्यसका लागि श्रीलंका, माल्दिभ्स, म्यानमार र पाकिस्तानमा लगानी गर्नु अघि चीनले भारतसँग पनि कुरा गर्नु पर्दथ्यो । चीन, पाकिस्तान र अफगानिस्तानलाई लक्षित गरी भारतसंग कुनै चासो नराखी काराकोलम हाइवे बनाउँदैछ, त्यस्तो बेला भारतले कसरी बिआरआईलाई कसरी समर्थन गर्न सक्दछ ? कसरी त्रिदेशीय साझेदारी हुन सक्दछ ?’

यसको अर्थ भारतीयहरू चीनसंगको सम्बन्ध बिगार्ने पक्षमा छन् भन्ने हैन । उनीहरू चीनसंगको सम्बन्ध द्विपक्षीय राख्न चाहन्छन् भन्ने बुझिन्छ । पत्रकार भारत भूषण भन्छन्, ‘यतिखेर भारत र चीनको सम्बन्ध नराम्रो छैन । तर यो कुनै अन्तर्राष्ट्रिय प्याक्टको स्तरमा पनि छैन ।’

भारतीय बुद्धिजिवीहरूको भनाईको निष्कर्षलाई यसरी खिच्न सकिएला- ‘ट्रान्स हिमालयन कनेक्टिीभिटी सफल हुन भारत र चीनबीच बलियो विश्वासको सम्बन्ध चाहिन्छ । नेपालमा चीन लगानी गर्न चाहन्छ, गरोस् । भारत आफैं ठूला आयोजनाहरू ऋण काँढेर निर्माण गर्दैछ । चाहेर पनि भारत नेपालमा धेरै लगानी गर्ने ल्याकत राख्दैन । तसर्थ, नेपाल चीनको पोल्टामा गयो भनेर भारत रोएर हुँदैन ।’

के त्यसो भए आइपिएसमा भारतको कमिटमेन्ट भइसकेको हो ? यसबारेमा भारतीय सर्वसाधारणमा खासै जानकारी भएको पाइएन ।

यो पनि-

चुनावको मुखमा दिल्लीमा ७ दिन (१)
चुनावको मुखमा दिल्लीमा ७ दिन (२)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय