scheduleशुक्रवार चैत्र २८ गते, २०७६

भगवान शिवका लागि रेलभित्रै विशेष सिटको व्यवस्था

एजेन्सी, ५ फाल्गुन । भारतीय रेल सेवाको एक ‘स्लिपर ट्रेन’ मा भगवान शिवका लागि विशेष सिट छुट्ट्याइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको काशी महाकाल एक्सप्रेसमा हिन्दू धर्मावलम्बीका आराध्य देव भगवान शिवका लागि विशेष सिट ‘रिजर्भ’ गरेर राखिएको छ ।
धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सञ्चालन गरिएको काशी महाकाल एक्सप्रेसले भारतका ३ वटा पवित्र तीर्थस्थललाई जोड्ने छ । नयाँ रेल बनारसको काशी विश्वनाथबाट इन्दोरको ओमकारेश्वर र उज्जैनको महाकालेश्वर हुँदै गुड्ने छ ।
भगवान शिवका लागि रेलको कोच B5  मा रहेको सिट नं ६४ छुट्ट्याइएको भारतीय समाचार माध्यमले जनाएका छन् । खाली राखिएको उक्त सिट विभिन्न माला र भगवान शिवका तस्बिरले सजाइएको छ ।
वास्तवमा उक्त सिट एउटा सानो हिन्दू मन्दिर जस्तै देखिन्छ । रेलभित्र नै भगवान रहेको आभाश दिनका लागि उक्त सिट शिवका लागि ‘रिजर्भ’ गरिएको भारतीय रेल अधिकारीहरूले बताएका छन् ।
‘भगवान शिवका लागि सिट सुरक्षित राखिएको यो पहिलो घटना हो’, नर्दन रेलवेजका प्रवक्ता दीपक कुमारले पिटिआईलाई बताए । उक्त सिट सधैँ खाली राख्ने वा नराख्ने भनेर पछि निर्णय हुने पनि कुमारले बताए ।
काशी महाकाल एक्सप्रेस निजी स्वामित्वमा सञ्चालित भारतको पहिलो रेल सेवा हो । उत्तर प्रदेशको बनारस र लखनऊ हुँदै मध्यप्रदेशको इन्दोर र उज्जैनसम्म पुग्ने उक्त रेलले १९ घण्टामा ११ सय ३१ किलोमिटर दूरी पूरा गर्ने छ ।
काशी महाकाल एक्सप्रेसका यात्रुहरूलाई शाकाहारी भोजनको व्यवस्था गरिने छ । त्यस्तै रेलमा निरन्तर भक्ति संगीत पनि बजिरहने छ । नयाँ रेलले हप्ताको ३ पटक बनारसदेखि इन्दोरसम्मको यात्रा गर्नेछ ।
तर रेलमा नै भगवानप्रति सिट समर्पित गर्दै ‘मिनी टेम्पल’ बनाएपछि केही मुस्लिम नेताहरूले भने विरोध गर्न थालेका छन् ।  लोकसभाका सांसद तथा अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीनका अध्यक्ष असदुद्दीन ओवेसीले रेलभित्रै मन्दिर बनाउने कार्यप्रति प्रश्न गरेका छन् । 
ओवेसीले भारतीय संविधानको प्रस्तावनाको एक क्लिप राख्दै ट्विटरमार्फत् विरोध जनाएका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय