scheduleशनिवार चैत्र २२ गते, २०७६

महराले वक्तव्यमा जोड दिएको ‘देशभक्त’ र ‘राष्ट्रिय स्वाधिनता’को संकेत

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार जेलमुक्त भएपछि एक विज्ञप्ति जारी गरे । ‘सम्माननीय’ सभामुख पदबाट राजीनामा दिएका महराले ‘माननीय’ प्रतिनिधिसभा सदस्यको रुपमा वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यमा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको उल्लेख गर्दै यसबीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथसाथै उनको वक्त्वयमा अटाएको दुई वाक्य यस्तो छ- ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।’

Dish_Home

वक्तव्यमा उनले आफूलाई एक देशभक्त नेपालीको रुपमा प्रस्तुत गरेका छन् । उनले मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहिरहने उल्लेख गरेका छन् ।

उनी डिल्लीबजार कारागारबाट जेलमुक्त हुनेक्रममा उनका समर्थकहरुले ‘एमसीसी मुर्दावाद’को नारा लगाएका थिए । महरा हिरासतमा रहेको बेला प्रधानमन्त्री केपी ओलीले महराले एमसीसीमा आफूलाई असहयोग गरेर गल्ती गरेको आशयको अन्तर्वार्ता दिएका थिए ।

देशमा जब एमसीसीको बहस र विवाद चर्को बन्दै गयो, तब महराप्रति सहानुभूति व्यक्त गर्नेहरुको संख्या र घनत्व बढ्न थाल्यो ।

महराले वक्तव्यमा आफूलाई एमसीसीप्रति सकरात्मक नभएकै कारण फसाइएको भनेर स्पष्टरुपमा नभने पनि उनले प्रयोग गरेका शब्दहरुले यसैलाई संकेत गरेको छ ।

यता महराआवद्ध नेकपाभित्र प्रधानमन्त्री ओली र उनका समर्थकहरु एमसीसी पारित गर्न प्रतिवद्ध रहे पनि एमसीसीविरुद्ध मत बलियो बन्दै गइरहेको छ । यहाँनेर ओलीका लागि एउटा उखान चरितार्थ भइरहेको छ, ‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो ।’

के छ महराको वक्तव्यमा ?

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,
अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने
कानुन व्यवसायीहरु र राजनैतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभुति दिनुहुने मेरा
समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको स्वतन्त्रता इतिहासदेखिनै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।

कृष्णबहादुर महरा
प्रतिनिधिसभा सदस्य, दाङ–२
मिति २०७६ फागुन ५ गते

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय