scheduleसोमवार चैत्र २४ गते, २०७६

शुन्य शक्ति शित भण्डारण प्रविधि

ताजा फलफूल तथा तरकारी भण्डारणको घरेलु तरिका

फलफूल तथा तरकारीबालीहरु भिटामीन, प्रोटीन, खनिज पदार्थ तथा शक्तिको महत्वपूर्ण स्रोत हुन् । फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि पनि निरन्तर जीवन प्रक्रिया पूरा गरिरहने हुनाले यसबाट हुने वाष्पिकरण तथा श्वास प्रश्वास का कारणले गुणस्तरमा ह्रास गराउँदछ । यस्ता नियमित प्रक्रियाहरु को मात्रा र दर मुख्य रुपमा नजिकको वातावरणको तापक्रम र सापेक्षिक आद्रतामा निर्भर गर्दछ । यस अर्थमा तापक्रम र सापेक्षिक आद्रताको नियमनबाट गुणस्तरको ह्रास हुनबाट बचाउन सकिन्छ ।

उदाहरणका लागि फलफूलको वाष्पीकरण हुनु भनेको यसको तौलमा कमी आउनु हो । यस अर्थमा वाष्पीकरणबाट उडेको पानीको मूल्य र वस्तुको मूल्य उही हो । तसर्थ फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि जतिसक्दो छिटो चिस्याउन सकियो भने यसको समग्र गुणस्तरलाई बढी भन्दा बढी कायम राख्न सकिन्छ । नेपालको परिवेशमा किराना तथा खुद्रा पसलमा बेच्नका लागि राखिने फलफूल तथा तरकारीहरुमा खुल्ला हुनेहुँदा र कुनैपनि प्रकारको भण्डारणको प्रयोग नगरिने हुँदा गुणस्तरमा द्रूततर ह्रास आउँछ । यसरी ह्रास आउनु भनेको समग्र पौष्टिक तत्वको नाश हुनु हो भने अर्कोतिर बिक्रेतालाई वजनमा पनि घाटा हुनु हो ।

सुरेन्द्र वस्ती/वेदप्रसाद खतिवडा

नेपालमा सामान्यतया फलफूल तथा तरकारी बिक्रेताहरुले ताजा फलफूल तथा तरकारी किनिसकेपछि दिनभरी बेच्ने तथा साँझ परेपछि छोपछाप गर्ने वा भण्डारण गर्ने गर्छन । यसको सट्टा उपलब्ध तरकारी तथा फलफुलको बारेमा जानकारी दिई फलफूल तथा तरकारीलाई भने तल भनिए अनुसारको भण्डारणमा राखेर बेच्न सके केहि हदसम्म भने पनि गुणस्तरमा आउने क्षतिलाई कम गर्न सकिन्छ । यस लेखमा आज हामी नेपालको सन्दर्भमा साना किसान वा किराना पसल वा फलफूल तथा तरकारी बिक्रेताहरुलाई सुहाउँदो तथा बिजुली तथा अन्य बाह्य शक्तिको प्रयोग विना नै फलफुल तथा तरकारीबालीलाई चिस्याई यसको गुणस्तरमा हुन सक्ने क्षति न्यूनिकरणका लागि बनाउन सकिने शुन्य शक्ति शित भण्डार बारेमा चर्चा गर्नेछौं ।

Dish_Home

शुन्य शक्ति शित भण्डार बनाउने तरिका
यो प्रविधि पानीको वाष्पीकरणको सामान्य सिद्दान्तमा आधारित छ जसअनुसार जुन वस्तु वा सतहबाट वाष्पीकरण भएर पानी बाहिर निस्कन्छ । त्यसले उक्त वस्तुलाई चिसो बनाउँछ । यसका लागि इंट्टा, बालुवा, तथा छानो बनाउनका लागि केही खर तथा काठको खम्बाहरु आवश्यक छ । यसको आकार आफ्नो आवश्यकतामा निर्भर रहन्छ । सामान्यतया १ मिटरको चौडाई तथा पौने १ मिटरको उचाई रहने गरी आवश्यकतानुसारको लम्बाईमा यसको निर्माण गर्न सकिन्छ । पानीको श्रोत नजिकै भएको, रुखको मुनी अलिक अग्लो स्थान वा हावा खेल्ने ठाउँ यो भण्डार निर्माणका लागि उपयुक्त मानिन्छ । यसको निर्माणका लागि निम्न चरण हरु अपनाउनुपर्छ ।
क. इट्टालाई करिब आधा दिन चिसो पानीले भिजाएर राख्ने ।
ख. आफ्नो आवश्यकताअनुसारको वा सामान्यतया १ मिटर चौडाई इंट्टा बिच्छ्याउने र मसिनो शुद्ध बालुवाले सबै खाली प्वालहरु भर्ने ।
ग . करिब पौने १ मिटर अग्लाई रहने गरी तथा चित्रमा देखाए झैं बीचमा ७ देखि १० सेन्टिमिटर खुल्ला रहने गरी इंट्टाको गारो लगाउने ।
घ. दुईवटा गारोको बीचमा रहेको खाली स्थानमा अब सफा तथा शुद्ध बालुवाले भर्ने ।
ङ. बालुवामाथि अब बिस्तारै चिसो पानीले भिजाउने र सम्पूर्ण बालुवा नभिजेसम्म पानी राख्ने ।
च. माथिको खूल्ला भागलाई राम्ररी ढाक्ने गरी पराल वा खरबाट बनाइएको फरिको तयार पार्ने ।
छ. प्लाष्टिकको क्रेटमा फलफुल तथा तरकारी राखी यसरी तयार गरिएको भण्डारमा राख्ने ।
ज. उक्त भण्डारलाई घाम तथा पानीबाट बचाउनका लागि सानो टहरो बनाउने ।
झ. बालुवाबाट निरन्तर पानीको वाष्पिकरण हुन दिने र हरेक दिन साँझ र बिहान चिसो पानीले बालुवा भिजाउने ।
ञ. यसरी बनाइएको भण्डारमा फलफुल तथा तरकारीबाट निस्कने इथाइलिन नामको ग्याँसलाई पूर्ण रुपमा बाहिर निकाल्नका लागि सफा

हावा खेल्न सक्ने वातावरण दिने र गुम्म हुनबाट बचाउने । साधारणतः अग्लो स्थानमा यो भण्डार बनाएमा प्राकृतिक रुपमा नै हावा खेल्न पाउँछ । यसरी भित्री भाग जहाँ फलफूल तथा तरकारी राखिएको हुन्छ, त्यहाँको तापक्रम मौसम र स्थान अनुसार करिब ५ डिग्रीसम्म कम हुन जान्छ भने सापेक्षिक आद्रता करिब ८० प्रतिशतभन्दा माथि हुन जान्छ जसले गर्दा यसरी राखिएको तरकारी सागसब्जी र फलफूल एक हप्ताको समयसम्म नओइलाइकन ताजा राख्न सकिन्छ । तर निमार्णको स्थान, बालुवाको गुणस्तर, पानीको उपलब्धता र प्रयोग आदिमा यसको प्रभावकारीता फरक पर्दछ ।

सामान्यतया यस्ता फ्रिजमा सागसब्जी, काउली बन्दा, धनियाँ, हरियो लसुनप्याज, गाँजर मुला, सिमीबोडी, तथा सबै प्रकारका फलफुल राख्न सकिन्छ । यसको बनावटमा सरलता, न्युन प्राविधिक ज्ञानको आवश्यकता र कम खर्चमा बनाउन सकिने भएकाले १ दिनको समयमा निर्माण गर्न सकिन्छ ।
साना किसानले उत्पादन गरेको फलफूल तरकारीहरुको मुल्य कमी भएमा यस भण्डारमा केही दिन राखी उपयुक्त समयमा बेच्न सकिन्छ भने तरकारी तथा फलफुल व्यापारीहरुको हकमा भने हरेक दिन बेच्नका लागि नै यही प्रयोग गर्न सकिन्छ भने बाँकी रहेको तरकारी तथा फलफूल अर्को दिन बेच्न सकिन्छ ।

Photo credit: https://play.google.com/store/apps/details?id=com.mixorg.krishidarshan.activities&hl=en
Photo credit: https://play.google.com/store/apps/details?id=com.mixorg.krishidarshan.activities&hl=en

Sources: These images are generated from an animated video produced by Indian society of Agribusiness Professionals (www.e-krishaksahyogi.org)

 

यो पनि –

बिजुली नचाहिने गमला फ्रिज : कसरी बनाउने ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय