scheduleशनिवारमाघ ३ गते, २०७७

जलवायु परिवर्तनबाट पृथ्वीलाई रक्षा गर्न भन्दै बेजोसले अर्बौं डलर दिने घोषणा गरे

एजेन्सी, ६ फाल्गुन । अमेजनका मालिक जेफ बेजोसले जलवायु परिवर्तनको असरसँग लड्नका लागि ठूलो रकम दान गर्ने भएका छन् ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत बेजोसले आफ्नो सम्पत्तिको ठूलो हिस्सा जलवायु परिवर्तनको असरसँग लड्नका लागि दिने घोषणा गरेका छन् ।

संसारकै सबैभन्दा धनी व्यक्ति समेत रहेका बेजोसले वातावरण संरक्षणमा लागेका वैज्ञानिक, अभियन्ता, गैर नाफामूलक तथा अन्य संघसंस्थालाई आर्थिक सहयोग गर्ने भएका हुन् ।

सोमबार इन्स्टाग्राममा एक पोष्ट गर्दै बेजोसले १० बिलियन अमेरिकी डलर बराबरको रकम जलवायु परिवर्तनसँग जोडिएको अभियानमा खर्च गर्ने जानकारी दिएका छन् ।

‘जलवायु परिवर्तनले पृथ्वीमा सबैभन्दा ठूलो खतरा उत्पन्न गरेको छ’, बेजोसले आफ्नो पोष्टमा लेखेका छन्, ‘हामी सबै बसिरहेको पृथ्वीमाथि जलवायु परिवर्तनले निम्त्याएको डरलाग्दो असरविरुद्ध जुध्नका लागि नयाँ उपाय खोज्ने र हाल भइरहेका प्रयासलाई तीव्रता दिने कार्यमा म पनि सामेल हुन चाहन्छु ।’

यसै वर्षको वर्षायामदेखि बेजोस अर्थ फन्डले जलवायु परिवर्तनको असरविरुद्ध लड्नका लागि अनुदान प्रदान गर्न सुरु गर्नेछ । ‘साना-ठूला सबै कम्पनी, देश, अन्तर्राष्ट्रिय संघसस्था तथा व्यक्तिद्वारा संयुक्त रुपमा अभियान चल्ने छ’, बजोसले थपे ।

गत वर्ष मात्रै बेजोसले आफ्नो कम्पनीलाई सन् २०२४ सम्ममा कार्बन न्युट्रल (कार्बनमुक्त) बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यस खाले घोषणा गर्ने पहिलो कम्पनी बनेको अमेजनले अमेरिकाबाट १ लाख थान विद्युतीय सवारी साधन किन्ने पनि जानकारी दिएको थियो ।

त्यस्तै गत वर्ष नै बेजोसले जलवायुसम्बन्धी पेरिस सम्झौताका लक्ष्य निर्धारित समयभन्दा १० वर्ष नै हासिल गर्ने र जंगल तथा सिमसार क्षेत्रलाई पहिलाकै अवस्थामा ल्याउनका लागि १०० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका थिए ।

पछिल्लो समय बेजोससहित बिल गेट्स, माइकल ब्लुमबर्ग र टोम स्टेयर जस्ता अमेरिकी अर्बपतिले वातावरण संरक्षणप्रति आफूहरू प्रतिबद्ध रहेको बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay