scheduleबिहिवार चैत्र २० गते, २०७६

अख्तरको गुनासो- ‘भारत र पाकिस्तानमा फलेको आलु-प्याज खान हुने, तर क्रिकेट खेल्न नहुने ?’

एजेन्सी, ६ फाल्गुन । पाकिस्तानका पूर्व क्रिकेटर शोएव अख्तरले भारत र पाकिस्तानबीच थप सिरिजहरू आयोजना हुनुपर्ने बताएका छन् ।

अख्तरले एकअर्काको देशमा गएर खेल्न नसकिने भए तेस्रो मुलुकमा भारत र पाकिस्तानबीच क्रिकेट खेल्न सकिने पनि बताएका छन् । क्रिकेट इतिहासकै सबैभन्दा तीव्रगतिका बलर समेत मानिने अख्तरले आफ्नो युटुव च्यानलमार्फत् दुबै मुलुकले द्विपक्षीय क्रिकेट प्रतियोगिता सुचारु गर्नुपर्ने पनि बताएका छन् ।

Dish_Home

त्यस्तै अख्तरले एसियाका २ प्रमुख क्रिकेट टोलीबीच द्विपक्षीय प्रतियोगिता आयोजना नगरेको भन्दै भारत र पाकिस्तानका सरोकारवालाको आलोचना पनि गरेका छन् ।

‘हामी डेभिस कप खेल्न सक्छौं, हामी कबड्डी खेल्न सक्छौं तर क्रिकेट खेल्न किन सक्दैनौं ?’, अख्तरले प्रश्न गर्दै भने, ‘यदि सम्बन्ध तोड्न चाहनुहुन्छ भने व्यापार पनि बन्द गर्नुस्, कबड्डी खेल्न पनि बन्द गर्नुस् । किन क्रिकेट मात्रै बन्द गर्नुहुन्छ ?’

‘जब क्रिकेटको कुरा आउँछ तब हामी राजनीति गर्छौं र यो निकै नराम्रो कुरा हो’, अख्तरले थपे, ‘एकअर्काले फलाएका आलु र प्याज खान्छौं, कृषिजन्य कुरा आदानप्रदान गर्छौं तर क्रिकेट खेल्न किन सक्दैनौं ?’

एकअर्काको मुलुकमा गएर क्रिकेट खेल्न नसके तेस्रो मुलुकमा द्विपक्षीय खेल आयोजना गर्न सकिने अख्तरको सुझाव थियो । ‘भारत पाकिस्तान आउन नचाहने र पाकिस्तान भारत जान नचाहने अवस्था छ । तेस्रो मुलुकमा हामी एसिया कप र च्याम्पियन ट्रफी खेल्छौं भने द्विपक्षीय क्रिकेट किन खेल्न सक्दैनौं । आतिथ्यका लागि हामी विश्वकै राम्रो मुलुकमा पर्छौं’, उनले भने ।

‘यात्राका लागि पाकिस्तान निकै सुरक्षित स्थान हो । भारतको कबड्डी टिम आयो, सबैलाई हामीले माया गर्यौं । बंगलादेश पनि टेस्ट खेल्न आएको थियो । तर यदि अझै पनि कुनै शंका छ भने तटस्थ स्थानमा खेल्न सकिन्छ’, अख्तरले भने ।

‘विरेन्द्र सेहवाग, सौरभ गंगुली र सचिन तेन्दुलकर जस्ता खेलाडीलाई सोध्नुस् हामीहरूले उनीहरूलाई मन पराउँछौं । हामीबीच रहेको भिन्नताले क्रिकेट प्रभावित हुनु हुँदैन’, अख्तरले थपे, ‘चाँडै नै भारत र पाकिस्तानबीच द्विपक्षीय खेल हुने आशा गरेको छु । दुबै मुलुकबीच कडा प्रतिस्पर्धा हुन आवश्यक छ ।’

केही समयअघि भारतीय क्रिकेटर युवराज सिंह र पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीले पनि दुबै मुलुकबीच प्रतियोगिता हुँदा क्रिकेटका लागि राम्रो हुने बताएका थिए ।

भारत र पाकिस्तानले वहुदेशीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका छन् । तर सन् २०१३ यता दुबै मुलुकबीच द्विपक्षीय खेल भने हुन सकेको छैन । त्यतिबेला  एक दिवसीयअन्तर्गत ३ खेल खेल्न पाकिस्तानी टोली भारत आएको थियो । त्यस्तै दुबै मुलुकबीच पछिल्लो पटक टेस्ट सिरिज २००८ मा भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय