scheduleबिहिवार चैत्र २० गते, २०७६

कुसुन्डाकी छोरीद्वारा लोक सांस्कृतिक महोत्सव उद्घाटन


दमौली, ७ फागुन । जिल्लास्तरमा आयोजना हुने औपचारिक कार्यक्रमको उद्घाटन विशिष्ट, सार्वजनिक पदमा रहेका र जनप्रतिनिधिले गर्ने प्रचलन कायमै छ । तर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको व्यास नगरस्तरीय लोक सांस्कृतिक महोत्सवको उद्घाटन तनहुँकै एकमात्र कुसुन्डा जातिकी छोरीले गरेकी छिन् ।

व्यास नगरपालिका–१० डिहीगाउँ निवासी ११ वर्षीया सिमान्त कुसुन्डाले पानसमा दीप प्रज्ज्वलन गरी लोक सांस्कृतिक महोत्सवको उद्घाटन गरिन् । सिमान्त लोपोन्मुख र तनहुँकै एकमात्र कुसुण्ड जातिका स्व राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डाका एक्ली सुपुत्री हुन् । कुसुन्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो ।

सिमान्त कुसुन्डा सोही वडाको शतिश बोर्डिङ स्कूलमा कक्षा चारमा अध्ययन गर्छिन् । कुसुन्डा परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेकाले उनको पढाइको जिम्मा साभ नेपाल संस्थाले लिएको छ । संस्थाका अध्यक्ष तुलसी प्रवासले सिमान्तको सहयोगका लागि अभियान सञ्चालन गरेकी थिइन् । साभ नेपालको पहलमा सीमान्तलाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाइएको छ ।

Dish_Home

नगर क्षेत्रभित्र रहेका विभिन्न जातजातिका कला संस्कृतिको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लोक सांस्कृतिक महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सीतामाया गुरुङले जानकारी दिइन् । जातीय एकता र सद्भाव कायम गरी नयाँ पुस्तालाई यसको जानकारी गराउने, विभिन्न जातजातिका लोक संस्कृतिको पहिचान गराउने, जातीय एकता कायम गराउने उद्देश्यसहित लोक सांस्कृतिक महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

नगरक्षेत्रभित्र २५ विभिन्न जातजातिको बसोबास रहेको छ । महोत्सवमा ब्राह्मण, क्षेत्री, नेवार, ठकुरी, दशनामी, मगर, गुरुङ, दरै, कुमाल, चेपाङ, दुरा, बोटे, गन्धर्व र भुजेल जातिका मौलिक संस्कृति प्रस्तुत गरिने महोत्सवका प्रवक्ता एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँका संरक्षक मेघनाथ रिमालले जानकारी दिए ।

बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा १५ समुदायका २६ वटा नृत्य सहभागी छ । ‘अहिलेका कतिपय पुस्तालाई आफ्नै जातजातिको कला, संस्कृतिबारे जानकारी छैन”, रिमालले भने, ‘यस कार्यक्रमले नयाँ पुस्ताले संस्कृति बुझ्ने अवसर प्राप्त गर्नेछन् ।’ पश्चिमी शैलीतर्फ अहिलेका युवा पुस्ता आकर्षित हुँदै जानु चिन्ताको विषय रहेकाले लोक संस्कृतिका बारेमा युवापुस्तालाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ ।

लोक सांस्कृतिक महोत्सवमा नेवार समुदायको कुमारी, मगर समुदायको झ्याउरे, क्षेत्री समुदायको रोइला, परियार समाजको पञ्चेबाजा, गुरुङ समुदायको छ्याटु, ब्राह्मण समुदायको भजन, गन्धर्व समुदायको तरबार, भुजेल समुदायको झ्याउरे, बोटे समुदायको पाउदुरे, मगर समुदायको कौरा, दरै समुदायको घाँटु लगायतका नाच प्रस्तुत गरिनेछ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय