scheduleबिहिवार चैत्र २७ गते, २०७६

जुलियन असान्जलाई अमेरिकाले माफी दिने, ट्रम्पले सर्त राखेको खुलासा

 

एजेन्सी, ८ फाल्गुन । विकिलिक्सका संस्थापक जुलियन असान्जका एक वकिलले अमेरिकाले उनलाई ससर्त माफी दिने कुरा राखेको बताएका छन् ।

Dish_Home

असान्जका वकिल एडवार्ड फिजगेराल्डले बुधबार लण्डनस्थित अदालतसमक्ष यस्तो खुलासा गरेका हुन् । एकजना पूर्व अमेरिकी सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट ससर्त माफी दिने कुरा राखेको फिजगेराल्डले बताएका छन् ।

फिजगेराल्डका अनुसार यदि असान्जले डेमोक्रेटिक नेशनल कमिटिको इमेल सार्वजनिक गर्ने कार्यमा रुसको हात नभएको भनेर बताएमा  अमेरिकी पूर्व सांसद डाना रोहराबासरले अमेरिकाले उनलाई माफी दिने बताएकी थिइन् ।

एकजना साक्षीले पेश गरेको बयानमा राष्ट्रपति ट्रम्पको निर्देशनमा डानाले लण्डनस्थित इक्वेडरको दूताबासमा पुगेर असान्जलाई भेटेको खुल्न आएको फिजगेराल्डको भनाइ थियो ।

लण्डनस्थित वेस्टमिनिस्टर म्याजिस्ट्रेट्स कोर्टमा बोल्दै उक्त बयानमा डानाले असान्जलाई भेटेको र इमेल चुहाउने कार्यमा रुसको संलग्नता नभएको भनेमा त्यसबापत उनलाई माफी दिने कुरा उल्लेख गरिएको फिजगेराल्डले बताएका थिए ।

यसअघि असान्जले इमेल चुहाउने कार्यमा रुसको हात रहेको बताएका थिए । हाल जासुसी गरेको आरोपमा उनलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भनेर  लण्डनको अदालतमा बहस भइरहेको छ ।

तर बुधबार डानाले ट्रम्पको बारेमा असान्जलाई केही नभनेको र प्रमाण संकलन गर्नका लागि उनलाई भेटेको बताएकी छन् ।

विकिलिक्सका संस्थापक समेत रहेका असान्जलाई गत अप्रिलमा इक्वेडरको दूताबासबाटै पक्राउ गरिएको थियो । अमेरिकाले उनीविरुद्ध सुपुर्दगी पूर्जी जारी गरेपछि उक्त दुताबासमा शरण लिन पुगेका उनलाई पक्राउ गरिएको हो ।

आठ वर्षअघि असान्जले यौन दुराचारको आरोप लागेपछि स्विडेनमा सुपुर्दगी हुने डरले इक्वेडरको राजदूतावासमा शरण लिएका थिए ।

तर पछि स्विडिस सरकारले उनीमाथि लगाइएको उक्त आरोप फिर्ता लिएको थियो । विकिलिक्सले सार्वजनिक गरेका गोप्य सूचनाका कारण गिरफ्तार गरी आफूलाई अमेरिका पठाइने भयले असान्ज दूतावासभित्र नै बस्दै आएका थिए ।

असान्जले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय