scheduleबिहिवार चैत्र २७ गते, २०७६

‘आईएसआईले नेपाल- भारत सीमामा आतंकवादी समूहको बेस बनाउने योजना बुनेको छ’

एजेन्सी, ८ फाल्गुन । म्यानम्यारबाट भारत प्रवेश गरेका रोहिंग्या मुसलमान नेपाल प्रवेश गरेको र नेपालका जिहादी समूहले उनीहरूलाई आर्थिक सहयोग गरेको दाबी गर्दै भारतीय समाचार माध्यम जी न्युजले समाचार प्रकाशित गरेको छ ।

जी न्युजले आफ्नो अनलाइन संस्करणमा लेखेको छ- ‘रोहिंग्या मुसलमान भारतबाट नेपालतर्फ लागिरहेका छन् । साथै उनीहरूलाई नेपालका जिहादी समूहले फंडिङ गरिरहेका छन् भन्ने कुरा बाहिर आएको छ ।’

Dish_Home

भारतीय खुफिया संस्थाले त्यहाँको गृहमन्त्रालयसमक्ष पेश गरेको एक रिपोर्टको आधारमा जी न्युजले उक्त समाचार प्रकाशित गरेको हो ।

‘खुफिया एजेन्सीले गृह मन्त्रालयलाई पठाएको एक रिपोर्टमा भारतमा रहेका रोहिंग्या नेपालतर्फ पलायन भइरहेका छन् । उक्त रिपोर्ट अनुसार करीब ३७८ रोहिंग्या मुसलमानबारेमा यस्तो जानकारी बाहिर आएको हो’, समाचारमा उल्लेख छ, ‘उनीहरू केही दिन यता भारत-नेपाल सीमानामा नेपालको इलाकामा बसिरहेका छन् । उनीहरू नेपालका केही बिचौलियाको सम्पर्कमा रहेको र बिचौलियाको सहयोगमा रोहिंग्याहरू नेपालको सीमानामा जमीन पनि खरिद गरिरहेको रिपोर्टमा उल्लेख छ ।’

‘खुफिया एजेन्सीका एक अधिकारीले जी न्युजलाई बताएका छन् कि नेपालतर्फ गइरहेका रोहिंग्या भारत-नेपाल सीमामा सक्रिय केही रोहिंग्या मुसलमानको सम्पर्कमा छन् । उनीहरूले नेपालमा जमीनदेखि नागरिकतासम्म लिनका लागि हजारौं रुपैया घुस दिइरहेका छन्’, समाचारमा भनिएको छ ।

नेपालमा बस्नका लागि रोहिंग्यालाई ४० देखि ५० हजार रुपैयासम्म प्रदान गरिएको पनि समाचारमा बताइएको छ । नेपालको धादिङ जिल्लामा रोहिंग्या मुललमानका करिब ३५ वटा अस्थायी घर रहेको पनि जी न्युजको दाबी छ । त्यस्तै नेपालका इस्लामिक संगठनले रोहिंग्या मुसलमानलाई नेपालमा बसाउनका लागि आर्थिक सहयोग गरिरहेको पनि समाचारमा उल्लेख छ ।

‘नेपालका इस्लामिक संगठन यी रोहिंग्या मुसलमानलाई नेपालमा बसाउनका लागि आर्थिक सहयोग गरिरहेका छन् । यसमध्ये इस्लामिक संघ नेपाल (आईएसएन) का गतिविधि निकै संदिग्न देखिन्छन्’, भारतीय खुफिया संस्थाको रिपोर्टलाई उदृत गर्दै जी न्युजले लेखेको छ ।

त्यस्तै भारत-नेपाल सीमामा पाकिस्तानको गुप्तचर संस्था आईएसआईले लामो समयदेखि लश्कर ए तोइबा र जैश ए मोहम्मद जस्ता आतंकवादी समूहको आधार शिविर बनाउने योजना बुनिरहेको पनि समाचारमा बताइएको छ ।

जी न्युजले अघि लेख्छ- ‘गृह मन्त्रालयका एक अधिकारीका अनुसार रोहिंग्या मुसलमानका गतिविधिमाथि कडा निगरानी राख्न जरुरी छ । पाकिस्तानको आईएसआईले लामो समयदेखि भारत-नेपाल सीमामा लश्कर जैश जस्ता आतंकवादी समूहको बेस बनाउने षडयन्त्रमा छ । यसै क्रममा रोहिंग्या मुसलमानलाई आर्थिक सहयोग गरेर भारत-नेपाल सीमामा बसाउनुका पछाडि निकै ठूलो षडयन्त्र हुन सक्छ । तर यसबारेमा थप भन्दा हतार हुन्छ ।’

 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय