scheduleशुक्रवार चैत्र २८ गते, २०७६

जन्मदिनमा आफैंले जारी गरेको आचारसंहितालाई चुनौति दिँदै अध्यक्ष ओली

काठमाडौं, ११ फागुन । माघको पहिलो साता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गर्‍यो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहिताको दोस्रो बुँदाको अन्त्यतिर लेखिएको छ-

छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।

उक्त आचारसंहिता जारी भएको झण्डै एक महिना आसपास नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफैंले हस्ताक्षर गरेर जारी गरेको आचारसंहिताविपरित गतिविधि गरेका छन् ।

Dish_Home

केही साताअगाडि नेकपाकै नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा रक्सी सेवन गरेको तस्बिर सार्वजनिक भएको थियो । आचारसंहिता जारी हुँदा ‘खोलामा पानी सङ्लो आउन मुहान नै सङ्लो हुनुपर्छ’ भन्दै आचारसंहिता कार्यान्वयनमा आशंका व्यक्त गरिएको थियो । भयो पनि त्यस्तै ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिनको उपलक्ष्यमा तेह्रथुमको एक गाउँपालिकाले सार्वजनिक बिदा नै दिइएको छ । शनिबार दिउँसो प्रधानमन्त्री ओलीले जन्मदिनको उपलक्ष्यमा आफूद्वारा लिखित पुस्तकै नै सार्वजनिक गरे ।

आइतबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली निकटस्थहरुले ओलीको जन्मदिन मनाए । जन्मोत्सव मनाइरहँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि पूर्वसभामुख सुवास नेम्वाङसम्म सहभागी थिए ।

जन्मोत्सवमा ओलीले महंगा माला लगाएको देखिन्छन् । स्मरणीय छ, आचारसंहिताको ९ नं. बुँदामा भनिएको छ-

– प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

जन्मदिनको अवसरमा ओलीको जन्मघरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ भने बालुवाटारमा जस्तै तेह्रथुममा पनि जन्मदिनको केक काट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले त्यहाँ २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि प्रहरी र सेना गरी २०० सुरक्षाकर्मी खटेका  र त्यसबाहेक २०० स्वयंसेवी भाइबहिनी पनि परिचालित भएको आयोजकले जनाएको छ ।

त्यहाँ प्रधानमन्त्री ओलीले विभिन्न औपचारिक कार्यक्रम सकेर घरमा आफ्ना बाल्यकालका साथीसहित बसेर केक काट्ने र  साथीभाइसँग एकछिन भेटघाट र कुराकानी गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको पनि स्थानीय आयोजकले जनाएको छ ।

ओलीको यस्तो गतिविधिले ‘जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ’ भन्ने पार्टीकै आचारसंहितालाई चुनौती दिइरहेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय