scheduleशुक्रवार मंसिर १९ गते, २०७७

भारतको रियल स्टेटमा ट्रम्पको ठूलो लगानी, यी शहरमा छन् भव्य महल

एजेन्सी, ११ फाल्गुन । अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका क्रममा भोलि (सोमबार) भारत आउँदैछन् ।

राष्ट्रपति ट्रम्पको भ्रमण दलमा श्रीमति तथा फस्ट लेडी मेलानिया ट्रम्पसहित उनका ज्वाइँ जरेड कुशनर र छोरी इभान्का पनि सहभागी हुँदैछन् । त्यस्तै अमेरिकाका वित्तमन्त्री स्टेभेन मनुसिन र वाणिज्यमन्त्री विलबर रोस पनि भ्रमण दलमा हुनेछन् ।

फेब्रअरी २४ देखि २५ गतेसम्म हुन लागेको राष्ट्रपति ट्रम्पको भ्रमणका लागि भारत सरकारले भव्य तयारी गरेको छ । गुजरातको अहमदाबादका सडक ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरले सजाइएका छन् ।

सोमबार नै गुजरातकाे अहमदाबादमा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना हुने बताइएको छ । ट्रम्पको भव्य स्वागत गर्न भन्दै उक्त कार्यक्रम आयोजना गरिएकाे हो ।

विशेष गरी गुजरातको अहमदाबादमा ट्रम्पको भ्रमण टोलीलाई भव्य स्वागत गरिने छ । अहमदाबाद विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म झण्डै २२ किलोमिटरसम्म राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी लस्कर हुनेछ ।

सवारी लस्कर हिड्ने सडकमा विभिन्न टाब्लो (इतिहास वा कथा झल्काउने मोडेल वा वस्तु) राखिने छ भने कलाकारहरूले लोक तृत्य प्रस्तुत गर्नेछन् ।

भारतमा ट्रम्पको लगानी कति छ ? 

डोनाल्ड ट्रम्प राजनेता मात्रै होइनन्, सफल व्यवसायी पनि हुन् । ट्रम्प एक सफल व्यवसायी हुन् भन्ने कुरा उनको नामबाट २५० भन्दा बढी कम्पनीको नाम राखिएकोबाट प्रस्ट हुन्छ ।

ट्रम्पको कारोबार भारतमा पनि फैलिएको छ । विशेष गरी मुम्बई, पुणे, गुरुग्राम र कलकत्तामा ट्रम्पको व्यवसाय फैलिएको छ ।

भारतको रियल स्टेटमा ट्रम्प परिवारले ठूलो लगानी गरेको देखिन्छ । लगानी गरिएका सबै प्रोजेक्टमा ट्रम्प जोडिएका छन् । रियल स्टेटको हकमा भन्ने हो भने ट्रम्प परिवारको लगानी उत्तर अमेरिकापछि सबैभन्दा बढी भारतमा छ ।

ट्रम्प पहिलो पटक भारत आउँदै छन् । तर उनका छोरा डोनाल्ड ट्रम्प जुनियरले कारोबारका क्रममा भारतको भ्रमण गरिसकेका छन् । सन् २०१८ मा पुणेस्थित ‘ट्रम्प टावर’ को दोस्रो भवन उद्घाटन गर्न ट्रम्प जुनियर भारत आएका थिए ।

मुम्बई, पुणे, गुरुग्राम र कलकत्तामा आवास क्षेत्रमा भव्य ‘ट्रम्प टावर’ निर्माण गरिएको छ ।

ट्रम्प परिवारले भारतको रियल स्टेटमा मात्रै लगानी गरेको छैन, अन्य क्षेत्रमा पनि लगानी गरेको पाइन्छ ।

भारतमा फस्टाइरहेको ट्रम्पको व्यवसाय ‘द ट्रम्प अर्गनाइजेशन’को एक हिस्सा हो ।  यस संगठनअन्तर्गत ५ सय वटा व्यवसायिक इकाई रहेका छन् जसमध्ये केही भारतमा पनि छन् । ‘द ट्रम्प अर्गनाइजेशन’ को आधार उनकी हजुरआमा एलिजाबेध क्राइस्ट ट्रम्प तथा पिता फ्रेड ट्रम्पले खडा गरेका हुन् ।

‘द ट्रम्प अर्गनाइजेशन’ले वार्षिक ८ हजार करोड रुपैया आम्दानी गर्छ । ट्रम्पको कम्पनीले भारतमा पहिलो कदम सन् २०१३ मा राखेको थियो ।गत ७ सालको अवधिमा उनको कारोबार कैयौं शहरमा फैलिएको छ । ट्रम्पको कम्पनीले भारतीय कम्पनीसँग मिलेर ५ वटा विलासीयुक्त महल निर्माण परियोजना सुरु गरिसकेको छ ।

‘द ट्रम्प अर्गनाइजेशन’ले भारतीय कम्पनी लोधा ग्रुप, पञ्चशील रियल्टी, एम३एम, ट्रिबेका, युनिमार्क तथा आइरियोसँग मिलेर रियल स्टेटको कारोबार बढाइरहेका छन् । महलको नाम ट्रम्पसँग जोड्दा मूल्य र माग बढ्ने भारतीय कम्पनीको भनाइ छ ।

पञ्चशील रियल्टीको सहयोगमा पुणेमा ट्रम्प टावर्स निमार्ण गरिएको छ । उक्त शहरमा ‘ट्रम्प टावर’ नामका २ वटा २३ तले भव्य महल छन् । पञ्चशील रियल्टीमा ऋषि कपूर तथा उनका छोरा रणबीर कपूरले पनि फ्ल्याट किनेको बताइन्छ । ट्रम्प टावरमा रहेका एउटा फ्ल्याटको मूल्य १५ करोड भारुभन्दा बढी छ ।

त्यस्तै मुम्बईको वर्ली इलाकामा पनि ट्रम्प टावर बनिरहेको छ । ७ सय एकडमा फैलिएको उक्त आवासीय महलमा रहेका फ्ल्याटको मूल्य पनि करोडौं पर्छ । वर्लीमा ७८ तले भवन छ । एक फ्ल्याटको सुरुवाती मूल्य ९ करोड भारु तोकिएको छ । उक्त परियोजना लोधा ग्रुपको सहयोगमा लन्च गरिएको हो ।

कलकत्ता पनि भारतीय कम्पनी युनिमार्क ग्रुप, आरडिबी ग्रुप र ट्रिबेका डेभेलोपर्सको सहयोगमा ट्रम्प टावर निर्माण गरिएको छ । उक्त महलमा ३९ तला छन् र भवनमा रहेको एउटा फ्ल्याटको मूल्य सुरुवाती मूल्य ३.७५ करोड तोकिएको छ । त्यस्तै दिल्लीको गुरुग्राममा पनि ट्रम्प टावर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।

समाचार अनुसार गुरुग्राममा ५० तलाका २ वटा महल बन्दैछन् । उक्त महलको एउटा फ्ल्याटको सुरुवाती मूल्य ४ करोड भारू निर्धारण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay