scheduleशुक्रवार चैत्र २८ गते, २०७६

गोकुलले राजीनामा दिँदा मलाई धेरै खुसी लागेको छैनः गगन थापा

फागुन ७ गते नेपालगञ्जको कार्यक्रममा सहभागी हुन आएको थिएँ । ६ गते आउँदै गर्दा काठमाडौंकै विमानस्थलमा तत्कालीन सञ्चारमन्त्रीजीसँग भेट भयो । भलाकुसारी पनि भयो । त्यो भन्दा केही समयअगाडि मैले संसदमा बोलेर आएको थिएँ । उहाँले मलाई जिस्काउँदै भन्नुभयो- संसदमा मलाई भर्खरै दिएर आउनुभएछ । भोलि कोहलपुरमा गएर तपाईंलाई दिन्छु । हिसाबकिताब गरौंला । उहाँले भनेको कुरा म अहिले पनि सम्झन्छु ।

फागुन ७ गते कोहलपुरको कार्यक्रमपछाडि उहाँले मलाई फोन पनि गर्नुभयो । तपाईंले संसदमा स्वस्थानी पढ्नुभएछ । मैले भर्खर कोहलपुरमा पढेको छु । पछि सुन्नुहोला भन्नुभएको म सम्झन्छु । काठमाडौं गएर भेटौंला भन्नुभएको थियो । तर, काठमाडौं आइपुग्दा नआइपुग्दै उहाँ पूर्वसञ्चारमन्त्री भइसक्नु भएछ । मलाई धेरै खुसी लागेको छैन । म खुच्चिङ भन्ने पक्षमा पनि छैन ।

Dish_Home

म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । तर त्यो कार्यकर्ताभन्दा पहिला म नेपालको नागरिक हुँ । त्यहाँ बसेर तलतिर हेर्दा यहाँ बसेका थुप्रै मेरो उमेरका आमाहरु देखिरहेको छु । मेरी आमा सोलुखुम्बुमा जन्मनुभयो । पढ्न पाउनु भएन । अवसरको खोजीमा बाआमा काठमाडौं आउनुभयो । बाले पढ्ने मौका पाउनु भयो । आमाले पढ्ने मौका पाउनु भएन । हाम्रो आमाले केटाकेटीमा पढाउँदै गर्दा सुनाउनुहुन्थ्यो- पानी लिन यति घण्टा हिंड्नुपर्थ्यो भनेर पहाडको कथा सुनाउनु हुन्थ्यो । मामाले पढ्न पाउनु भएको, आमाले पढ्न नपाउनुभएको कथाहरु सुनाउनुहुन्थ्यो । हुर्कंदै गर्दा एउटै कुरा थियो- मेरो आमाले जस्तो पीडा कसैले पनि व्यहोर्नु नपरोस् भन्ने लाग्थ्यो ।

तर पछि नेपाल विद्यार्थी संघको कार्यकर्ता भएर देशभरी घुम्दै गर्दा हाम्री आमाले त धेरै खुसी पाएकी रैछिन् भन्ने लाग्यो । सुख पाएकी रहेछिन् भन्ने लाग्यो । २०६२ सालको आन्दोलनताका आन्दोलन पनि भयो, प्रेम पनि भयो । विवाह पनि भयो । सानी छोरी पनि भईन् ।

म त्यतिबेला संविधानसभामा छिरेपछि एउटै कुरा पटकपटक भन्थेँ- १० वर्ष, १५ वर्ष, २० वर्ष, २५ वर्ष, ३० वर्ष कांग्रेसको कार्यकर्ता भएर क्रियाशील भइएला । पछाडि फर्किएर आफ्नै यात्राको बारेमा लेखाजोखा गर्दैगर्दा कति सफल भइयो भन्ने कुरालाई नाप्ने केले हो ? कति पटक सांसद भइयो भनेर नाप्ने कि ? कतिपटक मन्त्री भइयो भनेर नाप्ने कि ? के को आधारमा हो ? हामीले सांसद अथवा मन्त्री हुने कुराको अर्थ के हो ? हाम्रो आफ्नो पेट र परिवार हो भने यसका निम्ति अरु पनि काम गर्न सकिएला । अर्थ के हो त ? त्यसको लागि मैले नाप्ने केही कुराहरु छन् ।

मेरो बाले सोलुखुम्बुबाट एसएलसीको परीक्षा दिँदै गर्दा कस्तो देशको नागरिक हो भनेर सोधिएको प्रश्नमा जे कुरा लेख्नुभयो, नेपालको बारेमा राम्रा कुराहरु लेख्नुभयो । त्यसपछि लेख्नुभयो- नेपाल संसारको सबैभन्दा गरिब देशमध्येको एक हो । धेरैपछि मैले एसएलसी दिनेबेलामा पनि मैले त्यही लेखेँ । बाले पनि राम्रो अंक ल्याएर एसएलसी पास गर्नुभयो र मैले पनि राम्रो अंक ल्याएर पास गरेँ ।

मेरो भर्खर जन्मिएको छोरीलाई देखाएर मैले मेरा साथीहरुलाई भन्थेँ- हाम्रो पुस्ताको राजनीतिको सफलता त्यतिबेला भएको ठहर्छ, यी छोरीहरुले एसएलसीको परीक्षा दिने बेलामा मेरो बा र मैले लेखेको, तिम्रो बा र तिम्रो आमाले लेखेको भन्दा यिनीहरुले परीक्षा दिने बेलामा तिमी कस्तो देशको नागरिक हो भनेर सोधिएको प्रश्नमा नेपालका राम्रा विषयहरु लेखेसँगै हामीले लेखेको संसारको सबैभन्दा गरिब देशको नागरिकमध्येको म एक हुँ, नेपाल संसारको गरिबमध्येको एक देश हो भनेर लेखे भने यिनीहरु फेल हुन् । योभन्दा फरक उत्तर लेख्न सके भने यिनीहरु पास हुने अवस्था आयो भने मात्रै हामी राजनीतिमा रहेको कुराको अर्थ रहन्छ ।

आज गोकुल बास्कोटाको यो प्रकरण आउँदै गर्दा त्यसकारणले भन्दै छु । मलाई मात्रै होइन, वास्तवमा तपाईंहरु सबैलाई एउटा कुरा लागेको छ, हामी खुच्चिङ भन्न चाहँदैनौं । मलाई पुनः नेपालले एकपटक अवसर गुमाउने हो कि भन्ने डर लागिरहेको छ ।

हामीले इतिहासमा पृथ्वीनारायण शाहको बारेमा पढ्यौं । पृथ्वीनारायण शाहदेखि श्री ३ मोहन शमशेरसम्म आइपुग्दा करिब करिब १८०-९० वर्ष भयो । त्यस दौरानमा पृथ्वीनारायणको पालामा साना साना राज्य मिलाएर नेपाल एकीकरण भयो । नेपालको भौगोलिक अखण्डताको एउटा ठूलो श्रेय राजा पृथ्वीनारायण शाहलाई दिने कुरामा हिच्किचाउनै हुँदैन । त्यसपछि मोहन शमशेरसम्मको अवधि स्मरण गर्दा हामीलाई त्यतिबेलाका राजाहरुको नाम याद आउँछ । राजाहरुले कतिवटा विवाह गरे भन्ने र रानीहरुको नाम हामीलाई याद आउँछ । तर त्यतिबेलाको जनताको हालत के थियो ? नागरिकहरुको अवस्था के थियो भन्ने कुरा हामी नेपालको इतिहासमा कहिले पनि पढ्दैनौं ।

किनकी बिपी कोइरालाको पुस्ताले नेपालमा प्रजातन्त्रको बिजारोपण गर्नुभन्दा पहिला नेपालको इतिहास भनेकै शासकको इतिहास थियो । तर, त्यत्रो वर्ष राजा र राणाले शासन गरेको बेलामा तपाईंको र मेरो पिता र पुर्खाको नागरिक अधिकार, जनताको हक र अधिकार खोसियो तर जनताको हक र अधिकार खोसिएको बेलामा पनि नेपालमा हामी जसलाई विकास भनेर भन्छौं- बाटो, घाटो, पुल, पुलेसा, बिजुली, पानी यी सबै कुरा राजा राणाले बनाइदिएका थिए भने नेपाल आज अर्कै ठाउँमा पुग्थ्यो होला ।

उनीहरुले राजनीतिक अधिकार मात्रै लिएर गएनन्, विकासको एउटा सिंढी पनि उनीहरुले हालेनन् ।

(नेपाली कांग्रेस ठाकुरबाबा नगर सम्मेलनमा थापाले व्यक्त गरेको विचारको सम्पादित अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय