scheduleआइतवार आषाढ़ २१ गते, २०७७

धुरीका जोडी ढुकुर

लघु कथा


जाडोको मौसम थियो । सिमसिमे पानी पर्दै रोकिंदै, पर्दै रोकिंदै गर्दै थियो । उता घाम र बादलको लुकामारी पनि चलिरहेकै थियो । एकाबिहानै एक जोरी ढुकुर घरको धुरीमा गएर बसे छन् । सबेरै उठेर धुरीमा जान कति जाँगर आएको हो यिनीहरूलाई । पस्पतेले मनमनै सोच्यो ।

सायद उनीहरु हरेक बिहान त्यसै गर्छन् । उसले नदेखेको मात्र हो । आफ्नै आँखा अगाडि भएका अथवा हरेक दिन हिंड्ने गोरेटोमा पाइने त्यस्ता अरु धेरै कुराहरु पनि वर्षौं पछि देख्ने गरेको छ पस्पतेले ।

कति भाग्यमानी यिनीहरु बिहानै उठेर काममा पनि जान नपर्ने । हाकिमको कचकच पनि सुन्नुनपर्ने । यता पस्पतेलाई भने जाडोमा सिरक ओडेर सुत्न छोडेर दिक्क मान्दै काममा जानु परेको छ ।

अनि कति जान्ने भएका हुन् यी जोडी ढुकुर पनि । घरको सबभन्दा अग्लो र राम्रो ठाउँ छानेछन् । पुरै गाउँ छर्लंग देखिन्छ त्यहाँबाट। स्वच्छ सिरसिरे हावा पाइने ठाउँ र बेला बेलामा लाग्ने घामले ढाड सेकाउन पनि पाइने ठाउँ छानेछन् । धुरीबाट पूरै गाउँ देखिए पनि उनीहरुलाई त्यो गाउँको चियो चर्चो गर्नु भने कुनै रहर छैन, दुईजनाको साथ भए पुग्यो ।

चन्द्र गिरी

हैन यिनीहरुको दोस्ती पनि कस्तो हो ? पस्पतेले टोपी झर्ने गरी टाउको उठाएर हेर्‍यो । उनीहरु कुरा पनि गर्दैनन्, छेउमा बसे पुग्ने रहेछ कि क्या हो ? सँगै छन् तर आफ्नै तालमा छन्, आफैँ रमाई रहेका छन् । यसो छड्के आँखाले पनि एकअर्कालाई हेर्दैनन् । बेलाबेलामा पखेटा फरफर पार्छन्, पानी टकटक्याएका होलान् ।

यी जोडी ढुकुरहरु त बोल्दै नबोली एकअर्काको साथ रमाई रहेका छन् त । पस्पते बरबराउँछ । नबोलेपछि झैँ झगडा वाद विवाद पनि नहुँदो रहेछ । रिसरागको केहि सुइँको छैन । पस्पतेलाई चाहिँ गाउँको एउटै चिया पसलमा जाँदा नबोली बस्न सजाय जस्तै लाग्छ । धेरै बोले । दौतारीहरुसँग कुरा नमिलेर कन्सिरी तातेर आउने सम्म्भावना । बेला बेलामा आफैंले बोलेको कुरा कसरी फिर्ता गर्ने होला भन्ने पिर पर्छ ।

यी जोडी ढुकुरहरु एक्लाएक्लै बस्न पनि त सक्थे । एकजना मुलघरको धुरीमा अर्को गोठको धुरीमा । छेउमा त बस्नै पर्नेरहेछ । फेरी पस्पते सोच्छ, भावनात्मक सम्बन्ध नभएको पनि होइन उनीहरुको बीच । सँगै बसेर आफु आफ्नै पाराले रमाई रहेका छन् । त्यहाँ त झन् गहिरो सम्बन्ध पो छ जस्तो छ । अनि हुन सक्छ चाहिने जति छ । भावनात्मक सम्बन्ध धेरै भएर वा धेरै देखाएर झन् काम बिग्रिने सम्भावना भएकोले अलि दूरी राखेका हुन् कि ?

यिनीहरुका बाउआमा, छोराछोरी, आफन्तहरु कहाँ गए के गर्दैछन् होला । उनीहरुलाई रतिभर चिन्ता छैन जस्तो छ । उड्न जान्ने भएपछि उनीहरु आफ्नो गुँडमा कहिल्यै फर्केनन् । आफ्नो नयाँ गुँड बनाई रहे । सायद जिन्दगीभर उनीहरुको आफ्ना बाउआमासँग भेट हुँदैन होला । बाउआमालाई पनि त उनीहरुका सन्तानलाई भेट्ने आशा छैन होला । त्यस्तो मायालाई कसरी व्याख्या गर्ने ? पस्पतेको दिमाग अलि भारी हुँदै गयो ।

फेरी पनि पस्पतेले सोच्न छोडेन । यी दुईले एकअर्कालाई कहाँ कसरी भेटे होलान् ? लगनगाँठो कसरी बाँधे होलान् ? अनि जिन्दगीभरसंगै बस्ने बाचा कसरी गरे होलान् ? ‘विल यु म्यारी मि ?’ भन्दा ‘आइ डु’ भन्न कसले सिकायो यिनीहरुलाई । बेलाबेलामा घाँटीमा घाँटी मिलाएर लटपटिन्छन् । थुतुनो पनि
जोड्छन् । एक्लाएक्लै बसेका मात्र हैनन् कि क्या हो ?

उनीहरु घन्टौं धुरीमा बसी रहे । एकअर्काको साथ अनि सुन्दर बिहानीको मज्जा लिई रहे । पस्पते चाहिँ उनीहरुलाई हेरी रह्यो, सोची रह्यो ।

-नर्थ क्यारिलोना

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय