scheduleमगलवार चैत्र २५ गते, २०७६

नेकपाले गठन गरेको कार्यदल विवादमा, सकंटमा वामदेवको प्रधानमन्त्री सपना

फाइल फोटो

काठमाडाैं, १२ फागुन ।  राष्ट्रियसभा सदस्य पनि मुलुकको प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संसोधनको गृहकार्य गर्न नेकपाले गठन गरेको भनिएको कार्यदल विवादमा परेको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनकै अडान सम्वोधनका लागि पार्टीले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अनौपचारिक रूपमा कार्यदल गठन गरेको थियो ।

गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान सचिवालय बैठकमा राखेको जनाइएको छ । पार्टी सचिवालयको गत शनिबार बसेको बैठकले नेता नेपाल संयोजक र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ अनि केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो । गोप्य रूपमै काम गर्ने गरी बनाइएको कार्यदलको बारेमा भने नागरिकस्तरबाट विरोध भएको छ ।

जनताले हराएका व्यक्तिलाई पनि राष्ट्रियसभामा ल्याउने र प्रधानमन्त्रीसमेत बन्नसक्ने गरी संविधान संसोधन गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा कार्यदल बनाइएको बताइएको छ ।

Dish_Home

कार्यदलमा सदस्य भनिएका नेता नेम्बाङले पनि आफू कार्यदलमा नबस्ने भन्दै असन्तुष्टि जनाएका खबर सार्वजनिक भइरहेका छन् । कार्यदल गठन विवादमा परेपछि नेताहरूको विचार विभाजित भएको छ । महासचिव विष्णु पौडेलले कुनै पनि कार्यदल नबनेको दावी गरेका छन् ।

यससँगै नेकपा नेता वामदेव गौतमको प्रधानमन्त्री बन्ने सपना पुनः संकटमा परेको छ । चुनाव हारेपछि पटकपटक पदमा पुग्नका लागि चर्चामा आउने तर निष्कर्ष उनको पक्षमा नआउँदा वामदेव गौतमप्रति जनमानसमा पदलोलुपको बिम्ब बनिरहेको छ ।

आन्तरिक शक्ति सन्तुलन मिलाउन पटक पटक चर्चामा ल्याउने तर अवसर नपाउने समस्याबाट यसपटक पनि गौतम पीडित बन्न लागेका हुन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय