कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानमा यात्रामाथिको प्रतिबन्ध खुकुलो हुँदै
एजेन्सी, १२ फाल्गुन । सुरुमा कोरोना भाइरस देखा परेको चीनको वुहान शहरमा हिँडडुल र आवतजावतमाथि लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ ।
सोमबार वुहानको स्थानीय सरकारले यात्रामाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउने घोषणा गरेको छ । उक्त घोषणासँगै यात्रा र हिँडडुलमाथि लगाइएका केही प्रतिबन्ध हट्ने भएका छन् ।
तर विश्वभर कोरोना भाइरसको त्रास अझै कम हुन सकेको छ । पछिल्लो एक रिपोर्ट अनुसार कोरोना भाइरसका कारण विश्वभर २४७१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७९ हजार नाघेको छ । त्यस्तै झण्डै २३ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
चीनले संक्रमितहरुको उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ भने हस्पिटल निर्माण कार्यलाई पनि उत्तिकै तिब्रता दिएको छ । तर, कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न कठिन भएको बताइएको छ । कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा अझै पनि पुष्टि नभएको यसमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।