scheduleआइतवार चैत्र २३ गते, २०७६

‘सजाय खुकुरीलाई होइन, काट्ने अपराधीलाई दिनुपर्छ’

घाइते पोलहरूसँग साक्षात्कार
निद्राले बेलैमा छाड्यो । तैपनि निंदभने पुगेको थिएन । आँखा बिझाइरहेको थियो । हिजो मंगलसेनको बारेमा कुरा मात्रै सुनियो । हेर्न, घुम्न पाइएन । बिहान एकछिन घुम्ने योजना बनायौं । खासै त घुम्न पाइएन । २०५८ सालको भीषण फौजी हमलाको बारेमा धेरै जान्ने इच्छा थियो । तर फौजी हमलाको बारेमा बताउने आधिकारिक ब्यक्ति हामीसँग कोही थिएन । बिहान सखारै भएकाले स्थानीयहरू सँग बुझ्न पनि संभव भएन ।

हिजो कार्यक्रम भएको टुँडिखेल नजिकैको बजारमा लिएर गए साथीहरूले । जहाँ युद्धको आलो घाउ बोकेर ठिङ्ग उभिरहेका बिजुलीका पोलहरू रहेछन् । एउटा पोलमा त दर्जनौं गोली लागेको रहेछ । राइफलको गोलीले दर्जनौं ठाउँमा वारपार प्वाल पारेको । घरका भित्ताहरूमा पनि गोलीका डोबहरू ताजै देखिन्थे । यी पोलहरूले आफैँले लडेका कयौं भीषण फौजी कार्बाहीहरूको याद स्मृतिमा ताजा भएर आयो । लडाईका मैदानमा चुँइक्क..चुँइक्क आवाजसहित कन्चट नजिकबाट गोली चिप्लिएको याद आयो । मुटुको चाल बढ्यो केहिक्षण त !

२०५८ मा भएको भयानक भिडन्तमा घाइते पोलहरू युद्धको डोब बोकेर इतिहास बाँचिरहेका रहेछन् । जनयुद्धका साक्षी हुन् यी घाइते पोल र घरहरू । युद्धमा ध्वस्त दरबार हेर्ने अवसर जुरेन । स्थानीयहरूका अनुसार अहिलेसम्म दरबार पुनर्निर्माण भइसकेको छैन रे ! कछुवा गतिमा हुँदै छ रे ! शीघ्र पुःनर्निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यान जाओस् । साथै, राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाका लागि लडिएका यस्ता भीषण युद्धहरूको इतिहास मेटिन नदिन सरकारले विशेष योजना पनि बनाओस् । यस्ता ऐतिहासिक स्थानहरूको राम्रो संरक्षण गर्न सकेको खण्डमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पनि सकिन्छ ।

Dish_Home

बयलपाटाको नमूना अस्पताल
बयलपाटा हुँदै साँफे बगर जानुथियो हामीलाई । मंगलसेनबाट उत्तर पश्चिम लाग्यौं । सिधै तल खोला झरेपछि उकालो चढ्यौं । सबै कालोपत्रे गरेको सजिलो सडक । एकघण्टामै पुग्यौं बयलपाटा हस्पिटल । खड्क साउदजीलाई भेट्यौं । अबस्था सामान्य रहेछ । खुसी लाग्यो । हस्पिटलको भौतिक पूर्वाधार र सेवा सुविधा गज्जबको लाग्यो ।

नाफा कमाउने उद्देश्यले ठुलठुला सहरमा खोलिएको निजी अस्पतालजस्तो अस्पताल होइन रहेछ यो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा नेपालकै निजीक्षेत्र र सरकारी अनुदानमा सञ्चालित अस्पताल रहेछ । यस अस्पतालले वर्षेनी एक लाख बिरामीको उपचार गर्ने, पूर्ण डिजिटल प्रविधि, सामुदायिक र दिगो स्वास्थ्य र पूर्ण निःशुल्क सेवा दिइरहेको कुरा हस्पिटल सञ्चालक समिति र डाक्टरहरू बताउँदै थिए । साथै, हस्पिटल चलाउँदा भोग्न परेका कठिनाई र समस्याहरू पनि सुनाउँदै थिए ।

कठिनाई र समस्याहरूसँग संघर्ष गर्दै सञ्चालनमा रहेको यो अस्पताललाई देशकै नमूना अस्पताल भन्दा हुन्छ । अठोट, इमान्दारिता र लगनशील भएमा असंभव भन्ने केही छैन भन्ने प्रमाण हो यो अस्पताल ।


साँफेको सानो सभा
बयलपाटाबाट हामी साँफेबगर पुग्यौं । बजार ठिकैको रहेछ । बजार नजिकै सानो विमानस्थल देखियो । “हप्तामा कति उडान हुन्छ ?” एकजना स्थानीयलाई सोधेँ । उनको कुरा सुनेर अचम्म लाग्यो । उनी भन्दै थिए– “जम्माजम्मी धनगढीबाट हप्तामा एक उडान हुन्छ ।” तैपनि उनको जवाफमा गौरव घोलिएको थियो ।

कार्यक्रम स्थलबारेमा साथीहरूको विवाद भएछ । कोही बजार बीचमा गरौं भनेर तर्क गर्दै थिए, कोही अलग्गै एउटा कुनाको होटेलमा गरौं भन्दै थिए । मैले बजार बीचमा गरौं भने । तर स्थानीय साथीहरू मान्नुभएन । कार्यक्रम बजारछेउको होटलमा नै गर्ने निधो गरे साथीहरूले । नगरपालिकाको मेयर एमालेले जितेको रहेछ । साथीहरू अरू ठाउँमा जस्तै यहाँ पनि मेयरमाथि अलि बढी भर परेछन् । अन्तमा आउँदा मेयर सम्पर्कमा आएनछन् । अनि साथीहरू जिल्लिएका रहेछन् ।

कार्यक्रम स–सानो भयो । विनायक र मंगलसेनको कार्यक्रमले उत्साहित भएका साथीहरू अलिकति खुम्चिए । खिस्रिक्क भए । कार्यक्रम सकिएपछि चियानास्ता गर्‍यौं ।

रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र जाजरकोटको केही भागमा मध्यपहाडीको ट्रयाक ठाउँठाउँमा नखुलेको हुँदा जसरी वैकल्पिक बाटो प्रयोग गरेका थियौं, यहाँ पनि सेती नदीमा पुल नभएको र ठाउँठाउँमा ट्रयाक बनिनसकेको कारण बाजुरा लाग्नुपर्ने हामी डोटीतिर लाग्यौं । बाटो निक्कै रमाइलो थियो । अलि ढिला भए पनि बिहानको खाना खान डोटी सदरमुकाम सिलगढी पुग्यौं ।

सदरमुकामवरिपरि ३०० छाउगोठ
डोटी जिल्ला हाम्रो पार्टीका सचिवालय सदस्य दुर्गा सोबको गृहजिल्ला हो । सदरमुकाम सिलगढी भिरालो पाखामा भए पनि सुन्दर लाग्यो । रमाइलो लाग्यो । तर सबैभन्दा बढी खुसीचाहिँ दुर्गाजी देखिनुहुन्थ्यो । स्वाभाविकै हो । किनकि, आफ्नो गृहजिल्ला सिन्धुली पुग्दा यति हो कि कसैले व्यक्त गर्छन् कसैले गर्दैनन् । खाना खाएको घरबाट चोरिऔंलाले पश्चिमतिर देखाउँदै– “ऊ तलको त्यही हो म जन्मेको गाउँ” भन्दै हुनुहुन्थ्यो दुर्गाजी ।

बजारबीचमा सिडिओ कार्यालय अगाडिको चोकमा कार्यक्रम सुरु गर्‍यौं । दुर्गाजीले सञ्चालन गर्नुभयो कार्यक्रम । डोटीभरी सबै ठाउँको कार्यक्रम उहाँलेनै सञ्चालन गर्ने सल्लाह भएको थियो । कार्यक्रम चल्दाचल्दै हल्का पानी पर्‍यो । झुरूप्प जम्मा भएको मास तितरवितर भयो । साथीहरूले दुर्गाजीलाई जिस्क्याउन भ्याइहाले– ‘आयो डोटी खायो रोटी, जाने बेला धोती न टोपी । यो पानीको पारा हेर्दा त यस्तै होलाजस्तो छ है दिदी ।’  ‘उहिलेका कुरा खुइलिए अब त्यस्तो हुँदैन ।’ दिदीले पनि ठट्यौलो जवाफ दिनुभयो ।

चोकको कार्यक्रम सकिएपछि नगरपालिका भवनमा जनप्रतिनिधिसँग अन्तक्रिया थियो । तर प्रशान्तजी र हामी त्यस कार्यक्रममा गएनौं । व्यवस्थापनको लागि हामी अलि अघि जानुपर्ने भएकाले कार्यक्रममा नबसी दिपायलतिर हिँड्यौं । सो कार्यक्रममा नगरपालिकाकी मेयर माला मलासेले गम्भीर कुरा उठाउनुएछ । मेयरका अनुसार– ‘सदरमुकाम वरिपरिमात्र करिब ३०० छाउगोठहरू छन् । सदरमुकाम बाहिरको के कुरा गर्नु ?’

साथीहरूको कुरा सुनेपछि सितांग भएँ म । यहाँका दिदीबहिनीहरूको कष्टकर जीवन सम्झेर शरीरभरी काँडा उम्रियो । २१ औं शताब्दीमा पनि महिलाहरूले संस्कृतिको नाममा यस्तो विकृति भोग्नु सबैभन्दा लज्जाको विषय हो ।

यहाँका यस्ता अन्धविश्वासले दिदीबहिनीहरूको ज्यान लिएकोलिएकै छ । एनजीओ, आइएनजिओले पैसाको खोलो बगाएको बगाएकै छ । सरकारले पनि सधैं विज्ञापन बजाएको बजाएकै छ । तर खोइ रोकिएको ? अब सबैले बुझ्नुपर्‍यो कि, पैसा खर्च गरेर मात्रै यस्ता अन्धविश्वास हट्दैन । यसका लागि आवश्यक कडा कानुन बनाएर अभियानात्मक रूपमा यस्ता अन्धविश्वास विरूद्ध संघर्ष गर्नुपर्छ ।

दीप निभ्दै गएको दिपायल

गंगानारायण श्रेष्ठ

सेती नदीको बायाँ काखतिर चिटिक्क मिलेको फाँटिलो ठाउँमा रहेछ, दिपायल । सुदूरपश्चिमको निक्कै नाम चलेको ठाउँ हो, दिपायल । राज्य पुनर्संरचना हुनुअघि सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो दिपायल । एउटा ठूलो व्यापारिक केन्द्र । प्रशासनिक केन्द्र । तर अहिले पूरै ओझेलमा परेको छ । खसहरूको सिञ्जा र डोट्याल गरी दुई सभ्यता मानिन्छ । अहिलेको राज्य पुनर्संरचनाले डोट्याल सभ्यता पुरै छायामा परेकोछ । दिपायल आइपुगेपछि थाहा भयो, यहाँका मान्छेहरू सङ्घीयतासँग खुसी छैनन् । संघीयताले आफ्नो व्यापारिक र प्रशासनिक केन्द्र खोसेर आफूहरूलाई शक्तिहीन र कमजोर बनाएको बुझाई छ दिपायलबासीको ।

काँग्रेसका शेरबहादुर देउवादेखि बीरबहादुर बलायरसम्म अनि कम्युनिस्टका भीम रावलदेखि लेखराज भट्टसम्मको प्रत्यक्ष परोक्ष नेतृत्वमा प्रदेश सीमाङ्कनको बेला “अखण्ड सुदूरपश्चिम” आन्दोलन चल्यो । थरूहट प्रदेश माँग गर्ने थारूहरूमाथि भएनभएको आरोप लगाइयो । मधेसी भनेका बिहारी हुन् यिनीहरूलाई अलग्गै प्रदेश दियोभने मधेश भारतमा लगेर गाभ्छ भनेर पूर्वी मधेसमा हल्ला गरेझैं पश्चिममा पनि थारूहरूलाई अलग्गै प्रदेश दियोभने भारततिर गाभ्छ भनेर अखण्डवालाले हल्ला चलाए । कैलाली, कञ्चनपुरका थारूहरूले पहाडतिर आउने नुनतेल रोक्छ भनेर भ्रम फिजाए । दुःख गरेर कैलाली, कञ्चनपुरमा जोडेको घर जग्गाजमिन थारूहरूले खाइदिन्छ भनेर हल्ला पिटाए । ठुला पार्टीका ठुला नेताहरूले भनेको कुरा पक्कै साँचो होला भनेर सर्वसाधारणले पत्याए । पहाडका जनताहरू अखण्ड आन्दोलनलाई साथ दिए । थारूमाथि दमन भयो । थारूहरू बिचरा र निम्छरो भए । अखण्ड आन्दोलन बुलन्द भयो ।

सिलगढीमा परेको सिमसिम पानी दिपायलमा बेजोडले दर्किरहेको थियो । छिनमा पर्ने र छिनमा थामिने क्रम जारी थियो पानीको । दिपायलमा पनि महोत्सव चलिरहेको रहेछ । महोत्सवमा गएर कार्यक्रम गर्ने योजना बनाएका थिए साथीहरूले । तर पानीको कारण सम्भव भएन । २–३ पटक जमर्को गर्दा पनि कार्यक्रम गर्न संभव नभएपछि भोलिपल्ट बिहान गर्ने भन्ने सल्लाह भयो । रात पनि पर्न लागिसकेको थियो । पानीले जाडोको मात्रा ह्वात्तै बढाएको थियो । डा. भट्टराईलाई कार्यक्रम बिहान मात्रै हुने जानकारी गराएँ मैले । त्यही बीचमा दिपायल उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र प्रतिष्ठित ब्यापारीहरू डा. भट्टराईलाई भेट्न आए ।

व्यापारीहरूको टिम फर्कने बित्तिकै सयौं जनताले हामी पानीमै भिजेर बाबुराम भट्टराईको कुरा सुन्छौं । हामी सडकमा उभिन्छौं । बिहान होइन अहिलेनै कार्यक्रम गर्न पर्‍यो भनेर दवाब गर्न थाले । पानी परिरहेको थियो, मान्छेको भीड पनि बढिरहेको थियो । सम्बोधनका लागि सडकको पेटीमा उभिनुभयो डा. भट्टराई । भीडले उत्साहपूर्वक ताली बजाएर डा. भट्टराईको स्वागत गर्‍यो ।

यहाँका जनताको मनोविज्ञान कस्तो छ ? मैले पहिलेनै डा. भट्टराईलाई व्याख्या गरिसकेको थिएँ । उहाँले निक्कै गम्भीर तर आवेगात्मक शैलीमा कुरा राख्नुभयो ।

“प्रशासनिक र व्यापारिक मात्रै नभएर खस सभ्यताको पनि एउटा केन्द्र हो, तपाइँहरूको दिपायल । सङ्घीयतालाई ठीक ढंगले बुझ्न नचाहने वा सङ्घीयता नै नरुचाउने ठुला पार्टीका केही ठुला नेताका कारण आज तपाइँहरूको दिपायल कमजोर बन्दै गएको छ । सङ्घीयता पहाड र नदीलाई चाहिएको होइन, जनतालाई चाहिएको हो । देशको आकार र जनसंख्या हेरेर सङ्घीयता बनाइँदैन । नेपालभन्दा धेरै साना देश र थोरै जनसंख्या भएको देशमा पनि सङ्घीयता छ, धेरै ठूलो भूगोल र जनसंख्या भएको देशमा पनि सङ्घीयता छ । बिशेष गरेर सांस्कृतिक, भाषिक, जातीय विविधता भएको देशमा सम्पूर्ण नागारिकहरूको सत्ताका हरेक अङ्गमा समान सहभागिता, पहुँच र अवसर कायम गर्न सङ्घीय प्रणाली अपनाउने गरिन्छ ।

सङ्घीयतामा सबै जनता शक्तिशाली हुन्छन् । सङ्घीयतामा आ-आफ्नै अलगअलग केन्द्र हुन्छ । भूगोल र दूरीको आधारमा प्रदेशको नामाकरण गरिँदैन । काठमाण्डौंबाट सबैभन्दा टाढा भएकोले हिजो पञ्चायतले तपाईंहरूलाई सुदूरपश्चिम भनेर नामाकरण गर्‍यो । आज काँग्रेस र कम्युनिस्टले पनि पञ्चायती नामलाई नै निरन्तरता दिएको छ । के काँग्रेस र कम्युनिस्टले पनि हिजो पञ्चायतले जस्तै तपाईंहरूलाई सिंहदरबारबाट सुदूर बनाउन खोजेको हो ? यदी होइन भने तपाईंहरूको आफ्नै समृद्ध डोट्याल सभ्यता छ, आफ्नो छुट्टै पहिचान छ । यही सभ्यता र पहिचानको आधारमा प्रदेशको नामाकरण गरेको भए के बिग्रन्थ्यो ? हिजो पञ्चायतलेसम्म क्षेत्रीय सदरमुकाम बनाएको यस दिपायललाई आज प्रदेश राजधानी बनाएको भए के हुन्थ्यो ?” जनताले जोडले ताली बजाए ।

“सङ्घीयता गलत होइन । नेताहरूको आफ्नो स्वार्थको कारण सङ्घीयताको बारेमा तपाईंहरूलाई गलत कुरा बुझाइएको छ । तपाईहरूमाथि अन्याय गरिँदै छ । गलतका विरूद्ध संघर्ष गर्ने हो । सम्झौता गर्ने होइन । दाउरा काट्ने खुकुरीले कसैले मान्छे काट्यो भने खुकुरीलाई दोष दिन मिल्दैन । सजाय खुकुरीलाई होइन, मान्छे काट्ने अपराधीलाई दिनुपर्छ ।”

डा. भट्टराईको कुराले सबै खुसी भए । बल्ल पो कुरा बुझियो । कांग्रेस, कम्युनिस्टले त हामीलाई मुर्गा बनाएको रहेछ भन्दै घर फर्किए । यता डा. भट्टराई पनि अलि अगाडि रहेको कृषि केन्द्रमा जानुभयो । किनकि, दिउँसैदेखि मदन राई अगाडि गएर डा. भट्टराईको लागि अलग्गै व्यवस्थापन मिलाउनु भएको थियो । हामीभने सबै दिपायल बजारमै बस्यौं ।

(आउँदो विहीबार सार्वजनिक हुन लागेको गंगा श्रेष्ठद्वारा लिखित यात्रा संस्मरण मध्यपहाड यात्राको अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय