scheduleआइतवार चैत्र २३ गते, २०७६

दिल्लीमा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मोदीद्वारा शान्ति र भाइचाराको अपिल

एजेन्सी, १४ फागुन । नागरिकता संशोधन कानुनलाई लिएर भारतको नयाँ दिल्लीमा भड्किएको हिंसामा परी हालसम्म २२ जनाको ज्यान गएको छ ।

उत्तरपूर्वी दिल्लीमा ४ दिनदेखि फैलिएको हिंसामा परी २२ जनाले ज्यान गुमाएका हुन् । हाल उक्त स्थानमा भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत् शान्ति तथा भाइचारा लागि अपिल गरेका छन् ।

Dish_Home

बुधबार मोदीले दिल्लीबासीलाई शान्ति तथा भाइचारा लागि अपिल गरेका हुन् । सरकारले शान्ति बहाल गर्नका लागि प्रयास गरिरहेको पनि उनको भनाइ छ ।

‘म दिल्लीका दाजुभाइ, दिदीबहिनीलाई शान्ति र भाइचारा कायम गर्नका लागि अपिल गर्छु । अवस्था शान्तिपूर्ण हुन  र अवस्था सामान्य बन्न आवश्यक छ’, मोदीले भने ।

त्यस्तै दिल्लीका विभिन्न स्थानमा भएको हिंसाको समीक्षा भएको पनि मोदीले बताएका छन् ।

‘दिल्लीका विभिन्न स्थानमा व्याप्त स्थितिमाथि व्यापक समीक्षा भएको छ’, मोदीले भने,  ‘प्रहरी तथा अन्य निकायले शान्ति र सामान्य अवस्था सुनिश्चित गर्नका लागि घटनास्थलमा काम गरिरहेका छन् । शान्ति र सदभावको प्रयास जारी छ ।’

यता दिल्लीको उत्तरपूर्वी इलाकामा फैलिएको हिंसा नियन्त्रण गर्ने जिम्मेवारी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाएका छन् ।

डोभालले राजधानी दिल्लीको कानुन एवं व्यवस्था भंग गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् । उनका अनुसार हिंसाग्रस्त क्षेत्रमा पर्याप्त मात्रामा पुलिस तथा अर्ध सैनिक बल तैनाथ गरिएको छ । साथै हिंसालाई नियन्त्रण लिनका लागि प्रहरीलाई सबै अधिकार पनि दिइएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रहरीमाथि भरोसा गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । ‘म आश्वस्त पार्न चाहन्छु कि कानुन पालना गर्ने सबै नागरिकमाथि कुनै हानि हुने छैन’, डोभालले भने, ‘पर्याप्त बल तैनाथ गरिएको छ र  त्रसित हुनुपर्ने आवश्यकता छैन । सबैले वर्दी लगाएकामाथि भरोसा गर्नुपर्छ ।’

त्यस्तै दिल्लीको अवस्था तनावपूर्ण बनेपछि डोभालले उत्तरपूर्वी दिल्लीको डिसिपी कार्यालयमा गएर हिंसाको अवस्थाबारे जानकारी लिएका छन् । साथै उनले हिंसाग्रस्त क्षेत्रको भ्रमण पनि गरेका छन् ।

हिंसाग्रस्त क्षेत्रको भ्रमण गर्नुपूर्व डोभालले केन्द्रीय गृहमन्त्री अमित शाहसँग बैठक गरेका थिए । उक्त बैठकमा दिल्लीका नवनियुक्त स्पेशल कमिशनर एसएन श्रीवास्तव पनि उपस्थित रहेको समाचारमा उल्लेख गरिएको छ । बैठकमा दिल्लीको अवस्था सामान्य बनाउनका लागि महत्वपूर्ण कदम उठाउनेबारे कुराकानी भएको थियो ।

पछिल्लो समय भारतको राजधानी दिल्लीमा भड्किएको हिंसा योजनाबद्ध षडयन्त्र भएको  कांग्रेस नेता सोनिया गान्धीले बताएकी छन् ।

कांग्रेस नेतृ सोनिया गान्धीले बिजेपी नेताहरूले भडकाउपूर्ण अभिव्यक्ति दिएको समेत बताएकी छन् । बिजेपी नेताहरूले घृणा र डरको वातावरण सिर्जना गरेको उनको भनाइ थियो ।

सरकारले हिंसा भड्किएको ३ दिनसम्म पनि केही नगरेको पनि सोनिया गान्धीको आरोप छ । अवस्था तनावपूर्ण बन्दै जाँदा सेना परिचालन नगरिएको र हिंसाको लागि गृहमन्त्रालय जिम्मेवार रहेको उनको भनाइ थियो । त्यस्तै उनले गृहमन्त्री अमित शाहले राजीनामा दिनुपर्ने पनि बताइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय