scheduleबिहिवार चैत्र २० गते, २०७६

आपका नेतामाथि दिल्लीमा हिंसा भड्काएको आरोप, छतमा भेटियो पेट्रोल बम र गुलेली

एजेन्सी, १५ फागुन । सोमबारदेखि दिल्लीमा ३ दिनसम्म भड्किएको हिंसासँग आम आदमी पार्टीका एक नेता पनि जोडिन पुगेका छन् ।

भारतीय समाचार माध्यम अनुसार आपका पार्षद ताहिर हुसैनमाथि हिंसा भड्काएको आरोप लागेको छ । त्यस्तै साम्प्रदायिक हिंसाका क्रममा ज्यान गुमाएका गुप्तचर अधिकृत अंकित शर्माका परिवारजनले हुसैनमाथि शर्माको हत्या गरेको आरोप पनि लगाएका छन् ।

Dish_Home

दिल्लीको चाँदबागस्थित हुसैनको घरको छतबाट मानिसमाथि पत्थर तथा पेट्रोल बम प्रहार गरिएको पनि समाचारमा उल्लेख छ । उनको घरको छतमा ढुङ्गा, इट्टा, गुलेली र पेट्रोल बम फेला परेको भिडियो समेत सार्वजनिक भएको छ ।

उक्त भिडियो बाहिरिएपछि हुसैनमाथि हिंसा भड्काएको आरोप लागेको हो ।

भिडियोमा इटा तथा ढुङ्गा बोरामा राखिएको र पेट्रोल बम क्यारेटमा राखिएको देख्न सकिन्छ ।  फेब्रुअरी २५ अर्थात् मंगलबार उक्त घरको छतबाट प्रदर्शनकारीले सडकमा रहेका मानिसमाथि ढुङ्गा र पेट्रोल बम प्रहार गरेका थिए ।

तर हुसैनले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । हिंसा भड्किएको बेलामा आफू घरमा नरहेको र बिजेपी नेताहरूले आफूलाई बदनाम गर्न खोजेको उनको भनाइ छ ।

नागरिकता संशोधन कानुनलाई लिएर उत्तरपूर्वी दिल्लीमा सोमबारदेखि ३ दिनसम्म भड्किएको हिंसा बन्द भएको छ । तर साम्प्रदायिक हिंसामा परी ज्यान गुमाउने संख्या ३४ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

बिहीबार बिहानसम्ममा हिंसामा परी ३४ जनाको ज्यान गएको हो । त्यस्तै हिंसामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन् ।

बुधबारदेखि दिल्लीमा कुनै हिंसात्मक गतिविधि भएका छैनन् । हिंसा मत्थर हुँदै गएपछि त्यहाँको अवस्था पनि सामान्य बन्दै गएको समाचारमा बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय