scheduleसोमवार चैत्र २४ गते, २०७६

कोरोनाको त्रासः ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भन्यो

एजेन्सी, २० फागुन । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।

कोरोना भाइरस फैलिनबाट रोक्न भन्दै ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको बिबिसीले जनाएको छ । ट्विटरले एक ब्लग पोष्टमार्फत् हङकङ, जापान र कोरियाका कार्यरत कर्मचारीले छुट्टै बसेर काम गर्नुपर्ने बताएको छ ।

Dish_Home

त्यस्तै, ट्विटरले विश्वभर रहेका ५ हजार कर्मचारीलाई कार्यस्थलमा नआउन पनि भनेको छ । ब्लग पोष्टमा केही समयका लागि घरमै बसेर काम गर्ने तरिका विकास भइरहेको पनि उल्लेख गरिएको छ ।

‘हाम्रा लागि यो नौलो कुरा हो, हामीले टाढा बसेर काम गर्न सकिने वातावरण यसअघि नै सिर्जना गरिसकेका छौं’, ब्लगमा भनिएको छ, ‘हामीले विश्वभर सेवा प्रदान गर्छौं र ट्विटरमा जहाँबाट पनि र जसले पनि काम गर्न सक्ने कुराप्रति प्रतिबद्ध छौं ।’

ट्विटरले टेक्सासमा हुने एक मिडिया सम्मेलनमा सहभागी नहुने बताइसकेको छ । ‘हामीमाझ र विश्वभर कोभिड-१९ फैलिने संभावनालाई कम गर्नु नै हाम्रो उद्देश्य हो’, ट्विटरकी मानव संसाधन प्रमुख जेनिफर क्रिस्टीले भनिन् ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले टाढा बसेर काम गर्ने कुराको समर्थन गर्दै आएका छन् । उनले केही महिनाअघि यस वर्ष अफ्रिकामा ६ महिनासम्म कर्मचारी बस्न सक्ने योजना ल्याएका थिए ।

सोमबार मात्रै ट्विटरले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र कार्यक्रममा सहभागी नहुन आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको एकदिनपछि कर्मचारीलाई घरमा नै बसेर काम गर्न भनिएको छ ।

डोर्सीले अघि सारेको योजना कोरोना भाइरस फैलिएपछि एसियाका विभिन्न कम्पनीले लागू गरेको योजनासँग मिल्छ ।  ट्विटरले अन्य ठूला अमेरिकी कम्पनीभन्दा अगाडि बढेर नयाँ योजना अघि सारेको हो ।

फेसबुक र गुगल जस्ता प्रमुख अमेरिकी प्रविधि कम्पनीले पनि विभिन्न कार्यक्रम स्थगित वा रद्द गरिसकेका छन् । ट्विटरले जस्तै फेसबुकले पनि टेक्सासमा हुने मिडिया सम्मेलनमा सहभागी नहुने बताइसकेको छ ।

डब्लिनस्थित गुगलको युरोपेली मुख्यालयमा कार्यरत कर्मचारीले मंगलबार घरबाट काम गर्न गइरहेका छन् । कम्पनीले आयरल्याण्डमा कोरोना भाइरस फैलिन सक्ने भन्दै पूर्वतयारी स्वरुप एकदिने उक्त अभ्यास गर्ने भएको हो । बुधबारबाट भने कर्मचारीहरु कार्यालयमा नै आएर काम गर्नेछन् ।

यता टेलिकम अपरेटर ए एण्ड टि र वित्तीय कम्पनी सिटीग्रुप जस्ता कम्पनीले अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएका छन् । मुख्यगरी एसियातर्फको यात्रामा प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस एसियाबाट मध्यपूर्व, युरोप र अमेरिकामा पनि फैलिएपछि विश्वभरका कम्पनीहरूले सतर्कता स्वरुप ती कदम चालेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय