scheduleशुक्रवार चैत्र २१ गते, २०७६

कोरोनाको आशंका भएकालाई पाहुनाको व्यवहार, ५ स्टार होटेलमा राखेर क्वारेन्टाइन

एजेन्सी, २० फागुन । कोरोना जस्तो घातक भाइरसको आशंकामा क्वारेन्टाइन (परीक्षण) मा बस्नु आफैंमा कष्टकर कुरा हो ।

कतिपय मुलुकमा विदेशबाट फर्किएका कोरोना भाइरसका बिरामीलाई निकै हेला गरिएको अवस्था छ । कतिपय अवस्थामा त्यस्ता बिरामीमाथि ढुङ्गामुढा हुने र धम्की आउने पनि गरेको छ ।

Dish_Home

तर आर्मेनियामा भने भाइरसबाट संक्रमित भएको आशंका लागेका व्यक्तिलाई अति सुविधासम्पन्न र विलासीयुक्त स्थानमा राखेर क्वारेन्टाइन गरिएको छ ।

आर्मेनियामा क्वारेन्टाइनमा राखिने व्यक्तिप्रति विशिष्ट पाहुनाको जस्तो व्यवहार भएको रसिया टुडेले जनाएको छ । समाचार अनुसार त्यहाँको सरकारले निकै भिन्न तरिका अपनाएर संक्रमणको आशंका लागेकाहरूको परीक्षण गरिरहेको छ ।

हालसम्म आर्मेनियामा ३२ जना व्यक्तिलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन गरिएको छ । गत हप्ता इरानबाट फर्केका एक व्यक्तिमा कोरोना देखिएको थियो । ती व्यक्तिको सम्पर्कमा आएका ३२ जनालाई एउटा फाइभ स्टार होटेलमा लगेर परीक्षण गरिएको छ ।

‘कोरोना भाइरसबाट पृथक राखिएका हाम्रा नागरिकलाई खानासहित सबै कुरा ५ स्टार होटेलमा उपलब्ध गराइएको छ’, आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले फेसबुकमा लेखेका छन्, ‘उनीहरूलाई अन्य व्यक्तिसँग सम्पर्कमा आउन दिइएको छैन ।’

पाशिन्यानले स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा रहेका मानिसहरूलाई खाना बाँडिरहेको फुटेज पनि पोष्ट गरेका छन् । उक्त ५ स्टार होटेलमा अन्य गेस्टहरू भने छैनन् । ‘क्वारेन्टाइनमा राखिएकामध्ये कसैमा लक्षण देखिएको छैन’, पाशिन्यानले भने, ‘सबै जनाले आनन्द मानिरहेका छन् ।’

हाल कोरोना भाइरसको क्वारेन्टाइन भइरहेको उक्त होटेल स्कीका लागि चर्चित पहाडी इलाकामा रहेको छ । राजधानी येरेभानबाट ५० किलोमिटर टाढा रहेको होटेलमा सबै सुविधाहरू छन् ।

होटेलमा ठूलो स्विमिङ पुलसहितको स्पा, सिगार रुम र क्यासिनो जस्ता सुविधाहरू उपलब्ध छन् । तर क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई आफ्नो कोठाबाट बाहिर आउन भने दिइएको छैन ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय